अर्घाखाँची सिमेण्टले स्वास्थ्य केन्द्र बनाउने «

अर्घाखाँची सिमेण्टले स्वास्थ्य केन्द्र बनाउने

नेपालकै सबैभन्दा ठूलोमध्येको एक सिमेण्ट उत्पादक अर्घाखाँची सिमेण्ट कम्पनीले रुपन्देहीको सियारी गाउँपालिका वार्ड नं.२ मा स्वास्थ्य केन्द्र निर्माण गर्ने भएको छ ।
कम्पनीले करिब एक करोड रुपैयाँको लागतमा मैनहियामा बनाउन लागेको सो स्वास्थ्य केन्द्र भवनको कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले शिलान्यास गरेका छन् ।
निर्माणपश्चात् उक्त भवनमा सियारी गाउँपालिकाले ५ शैय्याको अस्पताल सञ्चालन गर्नेछ । कम्पनीले आºनो ब्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय क्षेत्रमा स्वास्थ्य केन्द्र स्थापना गर्न लागेको उद्योगका निर्देशक राजेशकुमार अग्रवालले जानकारी दिए । “यस क्षेत्रमा उद्योग सञ्चालन गरिरहँदा रोजगारीसँगै स्थानीयको समस्या तथा दुःखमा पनि साथ र सहयोग गर्ने हाम्रो उद्देश्य रहेको छ,” अग्रवालले भने, “यस क्षेत्रमा स्वास्थ्य सेवाको अभाव खड्किएकाले सोलाई परिपूर्ति गर्न स्वास्थ्य केन्द्र स्थापना गर्न लागेका हौं ।”
एक वर्षभित्र भवन निर्माण सम्पन्न गरेर गाउँपालिकालाई हस्तान्तरण गर्ने कम्पनीले जनाएको छ । सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले अर्घखाँची सिमेन्टले स्थानीयस्तरमा विभिन्न सहयोग गर्दै आएको बताउँदै स्वास्थ्य केन्द्रको अवधारणा नमुना भएको जानकारी दिए । उनले भने, “यस स्वास्थ्य केन्द्रलाई ५ शैय्याको अस्पताल बनाउँदै यसै क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने छौं ।”
सियारी गाउँपालिकामा सिमेन्ट उत्पादन केन्द्र रहेको यस कम्पनीले बिगतमा पनि यस गाउँपालिका तथा आसपासका क्षेत्रहरुको शिक्षा, सरसफाइ, खाद्यान्न तथा बाटोघाटो विविध किसिमका पूर्वाधारको विकासमा सघाउ पु-याउँदै आइरहेको छ ।
गत वैशाखमा पनि कम्पनीले प्रदेश ५ सरकारद्वारा स्थापित कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषका लागि ५१ लाख रुपैयाँ तथा सियारी गाउँपालिकाका लागि दुई लाख रुपैयाँ बराबरको नगद सहयोग प्रदान गरेको छ ।
त्यसैगरी तिनाउ गाउँपालिका र मचागढी गाउँपालिकामा रहेका विपन्न वर्गका घरपरिवारलाई करिब २० लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्