कास्कीमा ७९ हजार ४३७ मेट्रिक टन धान उत्पादन «

कास्कीमा ७९ हजार ४३७ मेट्रिक टन धान उत्पादन


पोखरा-कास्कीमा यस वर्ष ७९ हजार ४ सय ३७ मेट्रिक टन धान उत्पादन भएको छ । यस वर्ष समयमै वर्षा भएपनि २५ हजार ६ सय २५ हेक्टर क्षेत्रफलमा मात्र धान खेती गरिएको कृषि विकास निर्देशनालयका निमित्त निर्देशक निलकण्ठ पोखेलले बताए ।
उनका अनुसार यस वर्ष कास्कीमा प्रति हेक्टर ३.१ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष कास्कीमा २६ हजार ५० हेक्टरमा धान खेती गर्दा ८० हजार ५ सय ७१ मेट्रिकटन धान उत्पादन भएको निर्देशनालयले जनाएको छ ।
२०७५ सालमा कास्कीमा २३ हजार २ सय ८६ हेक्टर क्षेत्रफलमा धान खेती गर्दा ८२ हजार ४ सय ४५ मेट्रिकटन धान उत्पादन भएको थियो । लामो समयसम्म वर्षा भएपनि कास्कीमा भने यो वर्ष धान उत्पादन घटेको उनले बताए । गत वर्षको तुलनामा यस वर्ष १ हजार १ सय ३३ हेक्टर कम क्षेत्रफलमा धान लगाउँदा गत वर्षको तुलनामा ४ सय २५ मेट्रिक टन कम धान उत्पादन भएको निर्देशनालयले जनाएको छ ।
पानी नियमित जसो हुने स्थानहरुमा यस वर्ष धान उत्पादन कम भएको निमित्त निर्देशक पोखरेलले बताए । नियमित पानी कम हुने, आकाशको पानीमा पर पर्ने टारी खेतमा भने थोरै मात्रमा धान उत्पादन वृद्धि भएको उनले बताए । उनले भने, “धान पाक्ने समयमा दिन भरीजसो घाम लाग्नु पर्छ, जसले धान पुष्टिन पाउछ, यस वर्ष धान पाक्ने अन्तिम समयसम्म पानी परेकाले बोट सप्रिए पनि धान उत्पादन भने कम भयो ।” प्रत्येक जिल्लाको करिब ३० ठाउँमा परिएको स्याम्पल परीक्षणबाट यस वर्ष धान उत्पादन कास्कीमा घटेको उनले बताए ।
कास्कीसहित गण्डकी प्रदेशमा यस वर्ष ३ लाख ८० हजार २ सय ५९ मेट्रिकटन धान उत्पादन भएको छ । प्रदेशमा १ लाख २३ हजार ५ सय ३१ हेक्टर क्षेत्रफलमा यस वर्ष धान खेती भएको थियो । प्रदेशको धानको उत्पादकत्व भने प्रतिहेक्टर ३.५ मेट्रिकटन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्