सडकको ट्र्याक परिवर्तन गरिएको भन्दै स्थानीयद्वारा काम अवरोध «

सडकको ट्र्याक परिवर्तन गरिएको भन्दै स्थानीयद्वारा काम अवरोध

इलाम-सडकको ट्र्याक परिवर्तन भएपछि स्थानीय आन्दोलित भएका छन् । सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राईले विस्तृत परियोजना प्रतिवेदनलाई उल्लंघन गर्दै आफ्नो निजी स्थार्थ पूरा गर्न सडक खन्न लगाएपछि स्थानीय आक्रोशित भएका हुन् । बिब्ल्याँटेदेखि सन्दकपुरसम्मको नमुना सातखाल्डे सडकमा गाउँपालिका अध्यक्षले रुट परिवर्तन गरी सडक खन्न लगाएको भन्दै स्थानीय आक्रोशित भएका हुन् ।
उनीहरूले सोमबार बिहान खन्दै गरेको सडकमा अवरुद्धसमेत गरेका छन् । सन्दकपुर गाउँपालिका–१ नमुनाबाट दारीभन्ज्याङ हुँदै सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) भएको स्थानीयको दाबी छ । २०७० सालमा नै डिभिजन सडक कार्यालयमार्फत डीपीआर भएपछि ठेक्का लागेको सडकमा गाउँपालिका अध्यक्षले आफ्नो स्वार्थ पूरा गर्न सडक अन्य स्थानबाट खन्न लगाएको स्थानीय प्रदिप राईले बताए । उनका अनुसार गाउँको शिरबाट सडक लैजाँदा धेरै स्थानीयलाई समस्या हुने गरेको छ । पहिला सर्भे भएको स्थानबाट सडक खन्दा धेरै स्थानीयको घरघरमा समेत सडक जाने भएकाले पहिलाकै ठाउँबाट सडक जानुपर्ने स्थानीयको माग छ । अध्यक्षले आफ्नो जग्गाबाट सडक खन्न खोजेकाले पनि काम अवरुद्ध गरिएको उनको भनाइ छ ।
यो आयोजना सडक डिभिजन कार्यालयमार्फत सञ्चालनमा आएको हो । तर सोमबार बिहान गाउँपालिका अध्यक्ष आएर डोजरमा चढेर हस्तक्षेप गर्न खोजेपछि स्थानीयले प्रतिकार स्वरुप काम अवरुद्ध पारेका हुन् ।
नमुनाबाट दारीभन्ज्याङ हुँदै सडकको डीपीआर भए पनि अध्यक्षले तिनकुने हुँदै सडक खन्न लगाएपछि समस्या भएको हो । पहिला सर्वे भएको स्थानबाट हाल गाडीहरू कुदिरहेका छन् । त्यस सडकमा धेरै लगानी समेत भएकाले ट्र्याक परिवर्तन गर्न नहुने स्थानीय सन्तोष खतिवडाको भनाइ छ ।
अध्यक्ष राईले तिनकुनेबाट पुनः भेडीचोकमा भएको आफ्नो जग्गालाई छुने गरी सडक लैजान खोजेको स्थानीयको आरोप छ । पुनः आफ्नो जग्गालाई सडकले छोएपछि गाइकटेरीमा लगेर सो सडक मिसाउन खोजिएको स्थानीय मनिराज मुखियाले बताए ।
सडक २ करोड ८८ लाखमा ठेक्का परेर काम सञ्चालनमा आएको हो । यता सडक डिभिजन कार्यालय इलामका इन्जिनियर वीरेन्द्र यादवले डीपीआर भइसकेको सडकको ट्र्याक परिवर्तन नहुने बताए । उनले अब सडक कार्यालयमार्फत अनुगमन गर्ने र सोहीअनुसार स्थानीयसँग छलफल गरी अघि बढ्ने बताए ।
हाल अध्यक्षले खन्न लगाइएको सडक भने विश्व रामसार सूचीमा संरक्षित माइपोखरी नजिकै पर्ने भएकाले पनि सो स्थानबाट सडक लैजान नहुने स्थानीय देवेन्द्र सुवेदीको भनाइ छ । माइपोखरी नजिकैबाट डोजर कुदाउँदा जमिन हल्लिएर माइपोखरीलाई असर गर्ने उनको भनाइ छ । सोमबार बिहान स्थानीयले बाटो खन्दै गरेको सडक र डोजरमा सुतेर बाटो खन्न दिएका थिएनन् । स्थानीयको बस्तीभन्दा टाढाबाट सडक लैजाँदा कसलाई फाइदा पुग्ने भन्दै स्थानीयले अध्यक्ष राईलाई प्रश्न गरेका थिए ।
अध्यक्ष राईले भने त्यहाँ रहेका तीनवटा सडकको पहिला नै विस्तृत परियोजना प्रतिदवेन भइसकेको बताउँदै आएका छन् । उनले पहिला माथिबाट सडक खन्ने र पछि स्थानीयले भनेकै स्थानबाट सडक खन्ने बताए । हाल आयोजनाको काम रोकिएको छ । अब गाउँपालिका, सडक कार्यालय र स्थानीयबीच छलफल गरेर मात्र काम सुरु गर्ने मौखिक सहमति भएको छ ।
आक्रोशित स्थानीयले सोमबार नै सडक डिभिजन कार्यालयलाई पुरानै सर्भे भएकै स्थानबाट सडक खनाउन आग्रह गर्दै ध्यनाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्