उत्पादन घट्दा महको मूल्य वृद्धि «

उत्पादन घट्दा महको मूल्य वृद्धि

दाङ-जिल्लामा मह उत्पादनमा गत वर्षको भन्दा कमी भएको छ । गत वर्ष हाल सम्म करिव ३ – ४ पटकसम्म मह काडेका कृषकहरुले यस वर्ष २ पटक पनि मह काड्न नपाएको बताएका छन् ।
यस वर्ष पानी नपरेपछि तोरी पनि छिटो सुकेको र चिउरीको फूलमा पनि किरा देखा परेको कारण मह उत्पादनमा कमी भएको कृषकहरुको भनाइ छ । यसले मह उत्पादनमा कमी भएको कृषकहरु बताउँछन् । अहिले जिल्लामा रहेका माहुरी कृषकहरुले चरणका लागि बाहिरी जिल्लामा लैजान थालेका छन् ।
जिल्लामा मह उत्पादन लिन नसकिने भएपछि बाहिर लगिएको हो । कृषकहरुले अहिले खेतमा तोरी छरेको स्थान तिर माहुरी लगेका हुन् । जिल्लाबाट कैलाली, बर्दिया, कपिलवस्तु लगायतका स्थानमा माहुरी चराउनको लागि लगिएको छ । यता कृषि ज्ञान केन्द्रले जिल्लामा समग्र रुपमा मह उत्पादनमा कमी नहुने जनाएको छ । ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत रुद्रमणि पौडेलले अहिले केही कमि उत्पादन भएको भए पनि समग्रमा उत्पादन बढ्ने बताए । बाहिर जिल्लामा चरणका लागि लगेर गरिएको उत्पादन पनि जिल्लाको उत्पादनमा जोडिने भएकाले समग्रमा नघटने उनको भनाइ छ । त्यसैगरी चैत, वैशाखमा पनि मह काडिने छ । “अहिले केही घटेको पाइए पनि पछि र चरणको लागि बाहिर लैजाँदा भएको उत्पादनले समग्रमा उत्पादन कम हुने छैन” उनले भने ।
हालसम्म कृषकहरुले २ पटक पनि नकाडेको उनले बताए । यसै समयमा अघिल्लो वर्ष कृषकहरुले ३ देखि ४ पटकसम्म मह काडेको उनको भनाइ छ । यस वर्ष प्रतिघार ६ देखि ८ केजीसम्म उत्पादन भएको उनी बताउँछन् । अघिल्लो वर्ष २६ देखि २८ केजी उत्पादन भएको थियो ।
हालसम्म जिल्लामा करिव साढे ३ सय मेट्रिक टन मह उत्पादन भएको छ । भने यस वर्ष ६ सय मेट्रिक टन उत्पादन हुने लक्ष्य रहेको बाली संरक्षण अधिकृत पौडेल बताउँछन् । “जिल्लाका कृषकहरुले चरणका लागि बाहिर लगेर भएको उत्पादनले लक्ष्य पूरा हुने छ ।” पौडेलले भने । गत वर्ष जिल्लामा साढे ४ सय मेट्रिक टन मह उत्पादन भएको थियो । कोरोना संक्रमणको कारणले पनि गत वर्ष कम उत्पादन भएको उनको भनाइ छ ।
मह उत्पादन कमी हुनुको कारण चिउरीको फूलमा किरा देखिएको, मौसम प्रतिकुल तोरी लामो समयसम्म नफूले भएको उनको उनी बताउँछन् । त्यसै गरेर माहुरीको वंश गर्दा पनि केही प्रभाव परेको उनको भनाइ छ । माहुरीको वंशको सुधार गर्ने आवश्यक रहेको पौडेलले बताए ।
यसका लागि ज्ञान केन्द्र र माहुरी जोनले नयाँ रानी उत्पादन गर्ने योजना रहेको उनी बताउँछन् । जिल्लामा करिब साढे ६ सय कृषक रहेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । व्यावसायिकरुपमा माहुरी पालन गर्नेहरुको संख्या करिव २ सय भन्दा बढी रहेको बाली संरक्षण अधिकृत पौडेल बताउँछन् । जिल्लामा हाल साढे १७ हजार मलिफेरा फेरा माहुरीका घार र ३ हजार घार सेराना माहुरीका घार रहेका छन् ।

महको माग बढ्यो मूल्य पनि वृद्धि
यस वर्ष महको माग वृद्धि भएको कृषकहरु बताउँछन् । यस वर्ष महको माग बढी रहेको माहुरी पालक कृषक दिनेश वलीले बताए । “यस वर्ष मह खोज्नेको संख्या धेरै रहेको छ” उनले भने । उनले काडेको मह सबै बिक्री भइसकेको छ । दोसो लट अझै काड्न नपाएको उनको भनाइ छ । शरीर स्वस्थ राख्न मह खानु पर्दछ भन्ने भावनाको विकास भएको कारण माग बढेको कृषकहरु बताउछन् । गत वर्षसम्म २÷३ किलो किन्नेले पनि यस वर्ष ८ – १० किलोसम्म किनेको माहुरी पालक कृषक बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्