भारतसँगको रेलवे सम्झौता संशोधन हुने «

भारतसँगको रेलवे सम्झौता संशोधन हुने


नेपाल तथा भारतका वाणिज्य सचिवस्तरीय बैठकले दुई देशबीचको रेलवे सेवा सम्झौतामा संशोधन गर्ने विषयमा छलफल गरेको छ । नेपाल तथा भारतका वाणिज्य सचिवहरुको अध्यक्षतामा अनधिकृत व्यापार नियन्त्रणका लागि व्यापार, पारवहन तथा सहकार्य विषयमा सोमबार छलफल गरेको हो । नेपाल–भारत अन्तरसरकारी समितिको भिडियो कन्फरेन्समार्फत सोमबार बसेको बैठकले व्यापार एवम् वाणिज्य क्षेत्रका प्रमुख एजेण्डामा भएका प्रगतिबारे समीक्षा गरेको छ । बैठकले रेलसेवा सम्झौतामा संशोधनका पनि छलफल गरेको हो ।
२०७६ जेठमा नेपाल र भारतबीचको रेल सेवा सञ्चालन सम्झौता पुनः नवीकरण भएको थियो । सम्झौताको विस्तृत पुनरावलोकनपछि नवीकरण भएको उक्त नेपाल–भारत रेलसेवा सम्झौता सन् २००४मा भएको थियो । यसअघिको बैठकमा भारतबाट आउने ‘बल्क कार्गो’ हाल वीरगञ्ज नाकासम्म आउने गरेकोमा त्यसलाई विराटनगर, भैरहवा लगायतका नाकासम्म पहुँच कायम गर्न नेपाली पक्षले आग्रह गरेको थियो ।
सोमबार नै सम्पन्न सचिवस्तरीय अन्तर सरकारी समितिको बैठकले व्यापार तथा पारवाहन सन्धिको बृहत समीक्षा, लगानी प्रवद्र्धनका लागि भएका पहल तथा प्रयास, संयुक्त विजनेस फोरमको गठन, दुवै पक्षबीच व्यापार पूर्वाधारको विकास तथा स्तरमा सामन्जस्यता कायम लगायतका विषयमा पनि गहन छलफल गरेको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
भारतीय राजदूतावासद्वारा प्रेषित विज्ञप्तिमा पनि व्यापार तथा वाणिज्य सम्बन्ध तथा सम्पर्कलाई भविष्यमा अझ सुदृढ बनाउन सरकारी स्तरमा गर्नुपर्ने प्रयासकाबारे पनि दुवै पक्षबीच विस्तृत छलफल भएको जनाइएको छ ।
विभिन्न मन्त्रालय तथा काठमाडौंस्थित भारतीय राजदूतावासका अधिकारी सहितको १५ सदस्यीय भारतीय टोलीको नेतृत्व नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रासँगसँगै भारत सरकारका वाणिज्य मन्त्रालयका वाणिज्य सचिव अनुप वाधवाले गरेका थिए भने विभिन्न मन्त्रालय एवम् विभागका अधिकारी सम्मिलित नेपाली टोलीको नेतृत्व वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले गरेका थिए ।
भारत–नेपाल अन्तर सरकारी समिति (आइजीसी) दुई देशबीच व्यापार तथा लगानीलाई प्रवर्धन गर्ने प्रमुख द्विपक्षीय संयन्त्रको रुपमा रहेको छ । आइसीजी बैठकको तयारीका लागि मंसीर १८ देखि १९ सम्म अन्तर सरकारी उपसमितिको सहसचिव स्तरको बैठक पनि बसेको थियो ।
भारत नेपालको ठूलो लगानीकर्ता तथा आयातकर्ता बजार पनि हो । नेपालको आयात तथा निर्यात दुवैको क्षेत्रमा भारत नेपालको सबैभन्दा ठूलो व्यापार तथा लगानी साझेदारको रुपमा रहेको छ । भारत नेपालको एक मात्र त्यस्तो व्यापार साझेदार मुलुक हो जससँग पछिल्लोे दुई तीन वर्षमा नेपाली निर्यातमा लगातार वृद्घि भएको छ ।
बैठकमा भएको विस्तृत छलफल र प्रगतिले भारत र नेपालबीचको आर्थिक तथा वाणिज्य सम्बन्धलाई विस्तार गर्न थप सघाउ पु-याउने मन्त्रालयले अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्