कोरोनाबाट विदेशमा तीन सयभन्दा बढी नेपालीको मृत्यु «

कोरोनाबाट विदेशमा तीन सयभन्दा बढी नेपालीको मृत्यु

विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको संक्रमणबाट निधन हुने नेपालीको कूल संख्या ३०१ पुगेको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप दुई नेपालीको विदेशमा निधन भएको हो । यो साता जर्मनीमा एक र भारतमा एक नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।
कोरोना भाइरसका कारण जर्मनीमा रहेका नेपालीको निधन भएको यो पहिलो घटना भएको कोभिड–१९ उच्चस्तरीय समिति, गैरआवासीय नेपाली संघका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए । स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता जापान, साउदी अरब, युएई, पोर्चुगल र भारतमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ ।
शनिबार साँझसम्म विदेशका ४९ मुलुकमा ४८ हजार ६३९ गैरआवासीय संक्रमित भएका छन् । सोही अवधिमा ४४ हजार ६७१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यो कूल संक्रमितको ९१ प्रतिशत हो ।
हालसम्म नेपालमा मात्र दुई लाख १६ हजार ५९४ जना कोरोना भाइरसबाट संक्रमित हुन पुगेका छन् भने तीमध्ये दुई लाख ३४ हजार ७५६ जना कोरोनामुक्त भएका छन् ।
नेपालमा कोरोना संक्र्रमणबाट मुक्त हुने दर ९२ दशमलव तीन प्रतिशत रहेको छ । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण एक हजार ५२९ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्