कृषिमा पनि आधुनिक प्रविधिको प्रयोग बढ्दै «

कृषिमा पनि आधुनिक प्रविधिको प्रयोग बढ्दै

विराटनगर-मोरङ ग्रामथान तेतरियाका किसान रामप्रसाद भट्टराईले सपनामा पनि सोचेका थिएनन् मेसिनले नै धान काट्छ भन्ने । उमेरले ६१ वर्ष पूरा गरेका उनी कृषिमा आएको परिवर्तन देखेर दंग छन् । उनी एक दशकअघिसम्म गोरुले जोतेर खेती गर्दथे । त्यसयता ट्याक्टरले जोतेर खेती गर्न सुरु गरे । दुई वर्षयता मेसिनबाटै धान रोप्ने गरेका छन् । अझ यस वर्षबाट त मेसिनबाटै धान काट्न सुरु गरेपछि हेर्दाहेर्दै कृषिमा आएको परिवर्तनले उनलाई आश्चर्यचकित बनाएको छ । भट्टराई मात्रै नभइ झापा, मोरङ र सुनसरीका अन्य किसानले पनि आधुनिक प्रविधिबाट कृषि उत्पादन गर्दै आएका छन् ।
सरकारले नै कृषिको यान्त्रीकरण र आधुनिकीकरण गर्ने भनिरहँदा किसान पनि यसतर्फ आकर्षित भएका हुन् । कृषि मजदुरको साटो आधुनिक कृषि यन्त्रहरूको प्रयोग बढ्दै गएसँगै किसानलाई कृषि उत्पादन गर्न सहज भएको छ । कृषियन्त्रको प्रयोग गर्दा समयको बचत हुनुका साथै कम खर्चमै बाली भित्र्याउन मिल्ने भएकाले ग्रामीण क्षेत्रका किसानसमेत कृषियन्त्रको प्रयोग गर्न थालेका छन् । यतिखेर धानबाली भित्र्याउने समय छ र अधिकांश किसानले धान काट्न हार्भेस्टरको प्रयोग गरिरहेका छन् । भट्टराईले १३ बिघामा खेती गर्दै आएका छन् । उनी मुख्यगरी धान र गहुँ लगाउने गरेका छन् । कृषिमा आधुनिक प्रविधिको प्रयोग बढे पनि किसानको जीवनस्तरमा भने अझै परिवर्तन आउन नसकेको दुखेसो पोख्छन् । “जबसम्म आफूले उत्पादन गरेको वस्तुको मूल्य आफैंले तोक्ने दिन आउँदैन तबसम्म किसानको जीवनस्तर माथि उक्लिँदैन,” उनी भन्छन्, “तर पनि कृषिमा मेसिनको प्रयोगले समय र खर्च भने घटाएको छ ।”
पछिल्लो समय झापा, मोरङ र सुनसरी किसानले कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाउँदै लगेका छन् । यी तीन जिल्लालाई नेपालकै अन्नको भण्डारका रुपमा लिने गरिन्छ ।
सुनसरीको गढी गाउँपालिकाका किसान जयनारायण उरावले यस वर्ष ५ बिघामा बर्खे धान लगाएका थिए । जुन यतिखेर तयारी अवस्थामा छ । यसअघि उनले मजदुर प्रयोग गर्दै आएकोेमा गत वर्षदेखि हार्भेस्टर मेसिनको प्रयोग गर्न थालेका हुन् । विगतमा १ बिघामा उब्जिएको धान काट्न झण्डै एक हप्ता लाग्ने गरेकोमा हार्भेस्टरको प्रयोगबाट अहिले १ घण्टामै काटिने उरावको भनाइ छ । मेसिनले धान काट्ने मात्रै होइन पराल र धानलाई छुट्याइदिन्छ । यसले जनशक्ति र समय कम लाग्ने किसानकै अनुभव छ ।
वैदेशिक रोजगारीका कारण मजदुर अभाव हुने गरेको छ । मजदुर अभावकै कारण किसानले विगतमा खेतीको क्षेत्रफल घटाएका थिए । कृषिमा मेसिनको प्रयोग बढ्दै गएपछि भने खेतीप्रतिको आकर्षण बढ्दै गएको पाइएको छ । उरावले यसपालिबाटै ५ बिघामा खेती सुरु गरेका हुन् । यसअघि डेढ बिघामा मात्रै खेती गर्दथे । सिँचाइ सुविधा, समयमै मल पाउने अवस्थासँगै उत्पादित वस्तुले उचित मूल्य पाएमा कृषिमा युवाको समेत आकर्षण बढ्ने उनको ठम्याइ छ ।
हार्भेस्टरको प्रयोग गर्दा भाडाबापत प्रतिघन्टा ५ हजारको दरले बुझाउनुपरे पनि त्यो मजदुरभन्दा निकै सस्तो हुने उरावले बताए । मेसिन खरिद गर्न ठूलो रकम खर्च गर्नुपर्ने भएकाले साना किसानहरूले भाडामा ल्याएर ती मेसिनको प्रयोग गर्ने गरेका छन् । भाडामा मेसिन प्रयोग गर्ने किसानहरूको संख्यामा वृद्धि हुँदै गएसँगै कतिपय व्यक्तिले महँगो मूल्य पर्ने मेसिनहरू खरिद गरी भाडामा सञ्चालन गर्ने क्रमसमेत बढेको छ ।
आधुनिक मेसिनका कारण कृषि पेशा सहज र कम झन्झटिलोे हुँदै गएपछि किसानहरू उत्साहित भएका छन् । जसका कारण उनीहरूले कृषिउपज क्षेत्रलाई विस्तार गर्दै गएका छन् । यो क्षेत्रका बहुसंख्यक किसानहरूले ट्याक्टर, रोटाभेटर, हार्भेस्टरलगायतका कृषि मेसिनको प्रयोग गरिरहेको कृषि अभियन्ता प्रभुलाल अरगरियाले बताए । उत्पादित वस्तुले उचित मूल्य नपाउने र डिजेल, मल, मजदुर, बिउलगायत महँगो पर्ने भएकाले किसानले सोचेजस्तो प्रतिफल अझै पनि पाउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्