सेयर कारोबारको लागत कम गर्न लगानीकर्ताको चासो «

सेयर कारोबारको लागत कम गर्न लगानीकर्ताको चासो

पछिल्लो समय फेरि ब्रोकर कमिसन चर्को भएका कारण सेयर कारोबारको लागत पनि बढी भएकाले कमिसन घटाउन माग गर्दै सेयर बजारका लगानीकर्ताहरू तातेका छन् । धेरै पटक ब्रोकर कमिसन घटाउन माग गर्दै आउँदा पनि नियामक निकायले ढिला गरेको भन्दै लगानीकर्ताहरू शुक्रबार जावलाखेलस्थित नेपाल धितोपत्र बोर्ड नै पुगे । लगानीकर्ताको हित संरक्षण गर्ने भन्दै सेयर बजारका लगानीकर्ताहरूद्वारा गठित विभिन्न संघ–संगठनहरूले पटक–पटक ब्रोकर कमिसन घटाउन माग गर्दै आएका छन् । उनीहरूले गत कात्तिक १ गतेबाट नै कमिसन घटाउनुपर्छ भन्दै नियामक निकायसँग माग गर्दै आएको भए पनि हालसम्म लागू भएको छैन । नियामक निकायका अध्यक्षबाट आयोग गठन भई सो आयोगले ब्रोकर कमिसन ०.२५ प्रतिशत कायम गर्न प्रतिवेदनसमेत दिइसक्दा पनि हालसम्म लागू नभएको उनीहरूको गुनासो छ । हाल लगानीकर्ताले सेयर किन्दा ०.६ प्रतिशतसम्म ब्रोकर कमिसन बुझाउँदै आएका छन् । अर्थात् उक्त ब्रोकर कमिसनबाट ब्रोकरमात्र नभई निश्चित प्रतिशत नेप्से तथा नेपाल धितोपत्र बोर्डलाई पनि जान्छ । यसै सेरोफेरोमा कारोबारले लगानीकर्ता तथा ब्रोकरसँंग गरेको कुराकानीको सार :

ब्रोकर कमिसन घटाउनुपर्छ
तारा फुल्लेल
उपाध्यक्ष, सेयर लगानीकर्ता संघ नेपाल

ब्रोकर कमिसन धेरै भएका कारण सेयर कारोबारको लागत बढी भएको छ । त्यसैले हामीले पटक–पटक कमिसन घटाउन माग गर्दै आएका छौं । नेपाल धितोपत्र बोर्डलाई यसभन्दा अगाडि पनि लिखित तथा मौखिक रूपमा पनि ब्रोकर कमिसन घट्नुपर्छ भनेर अनुरोध गरेका हौं । तर, धेरै पटक आग्रह तथा अनुरोध गर्दागर्दै पनि ढिला भइरहेको छ । धितोपत्र बोर्डले हामी लगानीकर्ताका पीरमर्का र समस्याहरू बुझ्नु आवश्यक छ । लगानीकर्ताहरूको हित संरक्षण र उनीहरूको लगानीको लागत कम गरी पुँजी बजारमा लागेका लगानीकर्ताको सुरक्षा तथा प्रतिफलको सम्भावना देखाइदिनुपर्ने बोर्डको काम हो । सोही उद्देश्य प्राप्तिका लागि हालै बोर्डले अन्तर्राष्ट्रिय लगानीकर्ता सप्ताह पनि मनाएको थियो । लगानीकर्ताहरूले आफ्नो लगानीको लागत कम गरी बढीभन्दा बढी प्रतिफलको चाहना राख्नु नैसर्गिक अधिकार पनि हो । देशको पुँजीबजारको विकास र विस्तारका लागि गरिएका विगतका विभिन्न भेटघाट तथा छलफलमध्ये सरकार र लगानीकर्ता संघ–संगठनहरूबीच भएको ५८ बुँदे सम्झौतामा उल्लेख भएको ब्रोकर कमिसन पुनरावलोकन गर्ने भन्ने बुँदा नम्बर ३४ को बुँदालाई कार्यान्वयनमा ल्याउन अर्थ मन्त्रालयबाट धितोपत्र बोेर्डमा प्रेषित भई सो बोर्डबाट कमिसन पुनरावलोकनका लागि अध्ययन समितिसमेत गठन भई समितिबाट प्रतिवेदनसमेत बोर्डमा पेस भइसकेको छ । ब्रोकर कमिसनसम्बन्धी एउटा अध्ययन समिति पनि गठन भएको छ । सो अध्ययन समितिले प्रतिवेदन तयार गरेर धितोपत्र बोर्डका अध्यक्षकोमा पठाइसकेको छ । तर, त्यति हुँदा पनि आजसम्म त्यसको कार्यान्वयन भएन । पहिला दैनिक १०–२० करोडको कारोबार हुने सेयर बजारमा अहिले ९–१० अर्बको कारोबार हुने स्थिति आइसकेको छ । अझै पनि पुरानै दरको कमिसन हुनु विडम्बना हो ।
अहिलेको ०.६ प्रतिशत कमिसन धेरै हो । वास्तवमा हाल ०.४ प्रतिशतदेखि ०.६ प्रतिशतसम्म कमिसन दिइन्छ । तर अब बजार विस्तार हुँदा समयानुकूल बनाउन ०.२५ प्रतिशत बनाउन आवश्यक छ । ब्रोकर कमिसन घटाउँदा लगानीकर्ताहरूले राहत प्राप्त गर्न सक्छन् । किनकि हाल १ लाखको सेयर कारोबारमा ५ सय कमिसन लाग्छ । यस्तै, ५० हजारभन्दा कम कारोबार गर्दा पनि लगानीकर्ताले ०.६ प्रतिशत कमिसन ब्रोकरलाई बुझाउनुपर्छ । जुन अहिलेको परिवेशमा बढी हो । त्यसैले उक्त कमिसनलाई घटाई ०.२५ प्रतिशत कायम गराउनुपर्छ । लगानीकर्ताहरूले लिखित, मौखिक तथा नियमित भेटघाटमा ब्रोकर कमिसन घटाएर लगानीकर्ताहरूको लागत कम गरी लगानीकर्ताहरूलाई पुँजीबजारमा लगानी गर्न प्रोत्साहन गर्ने उद्देश्य पूर्तिका लागि कार्य गर्न अनुरोध गर्दै आएका छौं । लगानीकर्ताहरूले सेयर बजारमा लगानी गर्दा प्राप्त हुने प्रतिफलमा तेहेरो कर लाग्ने गरेको र सो सम्बन्धमा हामी लगानीकर्ताहरूको अनुरोधलाई मनन गर्दै ५ प्रतिशत लाभकरलाई अन्तिम करको विषयमा स्वीकार गर्ने विषयलाई कार्यान्वयनमा ल्याउन, पुँजीबजारलाई पुनरुत्थान गर्न सेयर कर्जाको मार्जिन ७० प्रतिशतसम्म दिन पाउने व्यवस्था गर्न पनि माग गरेका छौं । चर्को कमिसनले लगानीकर्ताहरूको नोक्सानी दिनानुदिन बढ्दै छ । बजारले नयाँ–नयाँ उचाइ लिँदै विभिन्न रेकर्ड कायम गर्दै अगाडि बढ्दै गएकोमा अब लगानीकर्ताको लागत कम गर्दा बजारमा कारोबार झन् बढ्न जान्छ ।

ब्रोकर कमिसन बजार विकासको बाधक होइन
सन्तोष मैनाली
अध्यक्ष, स्टक ब्रोकर्स एसोसिएसन

हाल यस्तो माहोल बनाइएको छ कि सेयर बजार विकासको बाधक ब्रोकर कमिसन नै हो । तर यस्तो होइन । सेयर बजारको विकास तथा विस्तारका लागि धेरै बाधाहरू छन् । ८–१० वटा ब्रोकरको कारोबार हेरेर तथा छोटो समयको ७–८ अर्बको कारोबार हेरेरै ब्रोकर कमिसन धेरै भयो भन्नु गलत हो । २०७३ साल साउनमा जब कमिसन घटाइएको थियो, त्यसबेला बजारको विकासका लागि गर्ने भनिएका कार्यहरू अझै भएका छैनन् । एउटा अनलाइन कारोबारबाहेक त्यसबेलाका कुनै पनि अन्य वाचा पूरा भएका छैनन । त्यसबेला २०७३ साउनअघि १ करोड, २ करोडको कारोबार भइरहेकोमा जब २ अर्ब, ३ अर्बको कारोबर हुन थाल्यो, ब्रोकर कमिसन घटाउनुपर्ने आवाज चर्को भयो । त्यहीअनुरूप धितोपत्र बोर्डसँगको समझदारीमा बजारको विकास र विस्तारका अन्य विभिन्न कार्यक्रमसहित कमिसन घटाइएको हो । तर, आजसम्म ती कुनै पनि कार्यान्वयन भएका छैनन् ।
अनलाइन कारोबारका कारण पहिला ५० जना ब्रोकरको हातमा हुने बजार एकैसाथ लगानीकर्तामा पनि गएको छ । लगानीकर्ताले आफैंले सेयर किनबेच गर्न सक्ने भएका छन् । यो एउटा महŒवपूर्ण उपलब्धि हो । तर, बजार बल्लबल्ल चार वर्षअघिको बिन्दुबाट अघि बढेको छ । बजारमा लगानीयोग्य पुँजीको अभाव हुन थाल्यो भने फेरि बजार तल झर्न थालिहाल्छ । एक–दुई दिन ७–८ अर्बको कारोबार हेरेर हुँदैन, यो दिगो हुन्छ कि हुन्न । यसमा ध्यान दिनु आवश्यक छ । फेरि दक्षिण एसियामा नै महँगो ब्रोकर कमिसन नेपालको पनि होइन । यो गलत तथ्य हो । अन्तर्राष्ट्रियस्तरमा हेरेर ब्रोकर कमिसन धेरै भयो भन्दै आएको पाइन्छ । तर, अन्य मुलुकका ब्रोकरको आम्दानीको स्रोत र नेपालका ब्रोकरको आम्दानीको स्रोत पनि हेर्नु आवश्यक छ ।
बजारको विकासका लागि गर्नुपर्ने अन्य धेरै काम छन्, जस्तै– कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मा धेरै सुधार गर्नु आवश्यक छ । कारोबार राफसाफ प्रणालीमा रहेको अहिलेको जोखिमलाई कम गर्नुपर्ने छ । ब्रोकरमाथि लगानीकर्ताको थप विश्वास वृद्धि गर्नका लागि लगानीकर्ता सचेतना कार्यक्रम चलाउनुपर्नेछ । जसका कारण लगानीकर्ता र ब्रोकरबीच आत्मीय सम्बन्ध बन्छ । साथै, ब्रोकरको कार्यक्षेत्र र दायरा बढाउनुपर्ने छ । तर बजारको विकासको बाधक कमिसन नै हो भनेर स्थापित गर्न खोजियो । ब्रोकर कमिसनका विषयमा नियामक नेपाल धितोपत्र बोर्डले अध्ययन गरिरहेको छ । यसको एउटा निचोड बोर्डले निकाल्ने नै छ । तर, हाल लगानीकर्ताले भनेको जस्तो बजार प्रविधिमैत्री बन्दै गएकाले ब्रोकरको लागत र कर्मचारी घटेकै अवस्था भने छैन । अहिलेको प्रविधि लगानीकर्तामा मात्रै निर्भर छैन । अनलाइन प्रणाली चुस्त छैन । हाल लगानीकर्ता र ब्रोकरका बीचमा विश्वासको वातावरण बनाएर छली पनि हुनु थाल्यो ।

ब्रोकर कमिसन दक्षिण एसियामा नै महँगो भयो
राधा पोखरेल
अध्यक्ष, नेपाल पुँजीबजार लगानीकर्ता संघ

सेयर बजार प्रविधिमैत्री हुँदै जाँदा लगानीकर्ताका लागि पनि कारोबारको लागत कम हुँदै जानुपर्ने हो । नियामक निकाय तथा सरकारको अर्थ मन्त्रालय पनि यसमा सकारात्मक छन् । तर कार्यान्वयनमा भने ढिलाइ देखियो । सेयर बजार विस्तारका लागि अहिलेको ०.६ प्रतिशत कमिसन ज्यादै महँगो र मुख्य बाधक हो । नेपालको ब्रोकर कमिसन दक्षिण एसियाकै सबैभन्दा महँगो हो । यसरी विश्वका महँगोमध्येमा पर्ने र दक्षिण एसियाको सबैभन्दा चर्को कमिसन दर राखेर नेपाली पुँजीबजारको विकास हुँदैन । यसलाई नघटाई सेयर बजारको विस्तार हुन पनि सक्दैन । खासगरी दैनिक सेयर कारोबार गर्नेका लागि कमिसन चर्को नै भएको हो । स्वयं ब्रोकरहरूलाई पनि यो कुरा थाहा छ । हामीले पटक–पटक कमिसन घटाउन माग गर्दै आएका छौं । नेपाल धितोपत्र बोर्डले हामीसँगको भेटघाटपछि लगानीकर्ताहरूको हित संरक्षण र लगानीको लागत कम गर्न हामीले वार्ता गरेपछि ५८ बुँदे सम्झौतामा पनि कमिसन घटाउने कुरा छ । तर, कार्यान्वयन भएन । बोर्डबाट कमिसन पुनरावलोकनका लागि अध्ययन समितिसमेत गठन भई समितिबाट प्रतिवेदनसमेत भदौमै आइसकेको छ । त्यसैले, उक्त कमिसनलाई घटाई ०.२५ प्रतिशत कायम गराउनुपर्छ । लगानीकर्ताहरूले लिखित, मौखिक तथा नियमित भेटघाटमा ब्रोकर कमिसन घटाएर लगानीकर्ताहरूको लागत कम गरी लगानीकर्ताहरूलाई पुँजीबजारमा लगानी गर्न प्रोत्साहन गर्ने उद्देश्य पूर्तिका लागि कार्य गर्न अनुरोध गर्दै आएका छौं ।
पुँजीबजारलाई अझै दिगो, फराकिलो र सबैको बनाउनका लागि धितोपत्र बोर्डले छिटो वाचा गरिएका कार्यक्रम लागू गर्नु आवश्यक छ । कतिपय लगानीकर्ताले पहिला बेहोरेको क्षतिको पूर्ति भएको छैन । प्रविधिमा सुधार, लगानीकर्ताको संख्या वृद्धि, सरकार र नियामकको सकारात्मक भूमिका आदिले सेयर बजारको विकास हुने हो ।

प्रतिक्रिया दिनुहोस्