विद्यालय पाठ्यपुस्तकमा नेपाली साहित्य «

विद्यालय पाठ्यपुस्तकमा नेपाली साहित्य

कैयन् कविताहरू यसअगावैका पाठ्यपुस्तकमा समावेश भएका कारण नवीनता खोज्नेहरूका लागि पुरानै विषयवस्तु हात लाग्ने अवस्था छ ।

नेपाल सरकार शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्रले प्रकाशन गरेको कक्षा १ देखि १० सम्मका नेपाली विषयका पाठ्यपुस्तकमा विभिन्न विधाका साहित्यिक रचनाहरू समावेश भएको पाइन्छ । पाठ्यपुस्तकका लेखक तथा सम्पादकहरूले ती पाठ्यपुस्तकमा विभिन्न साहित्यकारका विभिन्न खालका रचनाहरू समावेश गरेका छन् ।
खासगरी कक्षा १ देखि कक्षा ५ सम्मका पाठ्यपुस्तकमा समावेश भएका कविता, गीत, कथा तथा अन्य रचनाले उनीहरूको पठन बोध बढाउनुका साथै गति, यति र लयमा ध्यान दिएको पाइन्छ । उनीहरूको सुनाइ, बोलाइ, पढाइ तथा लेखाइ सीपको विकास गर्नुका साथै शब्दभण्डार पनि वृद्धि हुने गर्छ । यस प्रकारका रचनालाई बढी प्रभावकारी मानिन्छ । कक्षा १ को पाठ्यपुस्तकमा ‘ताराबाजी लैलै’ भन्ने ज्यादै पुरानो बालगीत पनि समावेश गरिएको छ । यसैगरी ‘बस बस रे’, ‘कुखुरी काँ’, ‘काग दाजै’ नामका कविता पनि कक्षा १ को पाठ्यपुस्तकमा समावेश भए पनि त्यसमा कवि तथा लेखकको नाम उल्लेख गरिएको छैन । राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘टालाटुली बटुली’ नामक कविता पनि पुस्तकमा समावेश भएको छ ।
कक्षा २ मा कवि क्षेत्रप्रताप अधिकारीको ‘नानी बाबु’, राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘झन्डा फरर’, रामबाबु सुवेदीको ‘पुस्तक’, कृष्णप्रसाद पराजुलीको ‘नाच्यो जुरेली’, दैवज्ञराज न्यौपानेको ‘के कहाँ बस्छ’ कविता समावेश गरिएको छ, तर ‘हाम्रो देश’ नामक कवितामा कविको नाम उल्लेख गरिएको छैन ।
यस्तै कक्षा ३ मा कवि श्रमिक बरालको ‘असल विचार’, सिद्धिचरण श्रेष्ठको ‘किताब’, पारसमणि प्रधानको ‘खेतीवाल’, चन्द्रप्रसाद न्यौपानेको ‘नेपाली’, राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘घामछाया’ र कृष्णप्रसाद पराजुलीको ‘सानु छ है सानु’ भन्ने कविताहरू समावेश भएको पाइन्छ ।
कक्षा ४ को नेपाली पाठ्यपुस्तकमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘पाप लाग्छ’, राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘गाउँछ गीत नेपाली’ भन्ने बहुचर्चित गीत समावेश भएको छ भने दैवज्ञराज न्यौपानेको ‘नौलाख तारा’, युगकवि सिद्धिचरण श्रेष्ठको ‘आमा’ र पारसमणि प्रधानको ‘लक्ष्य’ नामक कविता पनि समावेश गरिएको छ ।
कक्षा ५ मा कविशिरोमणि लेखनाथ पौड्यालको ‘नैतिक दृष्टान्त’ नामक बहुचर्चित कविता समावेश भएको छ भने महेन्द्रमाला नामक पुरानो पाठ्यपुस्तकबाट ‘किसानको रहर’ नामक कविता साभार गरिएको छ, जसमा रचनाकारको नाम उल्लेख छैन । यसैगरी राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘नदी’, कृष्णप्रसाद पराजुलीको ‘देशको माटो’, घटराज भट्टराईको ‘राष्ट्रिय गौरव’ कविता पनि पाठ्यपुस्तकमा समावेश गरिएको छ ।
यस्तै, कक्षा ६ को नेपाली पाठ्यपुस्तकमा देवी नेपालद्वारा लेखिएको ‘गुरु’, सत्यमोहन जोशीको ‘खोला’, क्षेत्रप्रताप अधिकारीको ‘स्वाभिमानी मुख’ कविता र ललिता दोषीको ‘मानिस नै देवता’ कथा समावेश छन् ।
कक्षा ७ को नेपाली पाठ्यपुस्तकमा सिद्धिचरण श्रेष्ठको ‘परिचय’, राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘एउटै मुटु एउटै मर्म’, भूपी शेरचनको ‘सुनौलो भोलि’, प्रभा भट्टराईको ‘सभ्यता’ लगायतका कविताहरू समेटिएका छन् भने कृष्णराज चौधरीको ‘मामालाई सुधार्ने भान्जो’, जनकप्रसाद हुमागार्इंको ‘सातदिने सभा’, मातृका तिम्सिनाको ‘सुन उगेल्ने भाले’, नारायण रिजालको ‘बोधिसत्वको कथा’, तेजप्रकाश श्रेष्ठद्वारा लेखिएको ‘बाक्लो दाल’ आदि कथाहरू पुस्तकमा समेटिएका छन् । यसैगरी विष्णुराज कुुसुमद्वारा लिखित ‘आबाल ब्रह्मचारी षडानन्द’ जीवनी र ‘नेपाली धार्मिक वास्तुकला’ शीर्षकमा डा. जीवराज पोखरेलद्वारा लेखिएको प्रबन्ध पनि समेटिएको छ ।
कक्षा ८ को पाठ्यपुस्तकमा सिद्धिचरण श्रेष्ठको ‘नेपाल’, क्षेत्रप्रताप अधिकारीको ‘सीप र श्रम’, प्रभा भट्टराईको ‘मेरो घर’, जीवनाथ धमलाको ‘आह्वान’ लगायतका कविताहरू पनि समेटिएका छन् । यसैगरी प्रसिद्ध कथाकार रमेश विकलको ‘ठग समातियो’, शान्तदास मानन्धरको ‘एउटा घटना’, सुधा त्रिपाठीको ‘भाग्य’, शारदारमण नेपालको ‘मित्रता कथा’ पनि पुस्तकमा समावेश गरिएको पाइन्छ । इन्द्रबहादुर खत्रीको ‘ग्रन्थचित्र’ र गणेशप्रसाद भट्टराईको ‘प्रकृति र वातावरण प्रबन्ध’, मनिक्रमराज शर्माको ‘हामी एउटै हौँ’ नामक एकाङ्की पनि पुस्तकमा समेटिएका छन् ।
माध्यमिक तहको कक्षा ९ को पाठ्यपुस्तकमा कथाकार आत्माराम शर्मा पुडासैनीको ‘डाक्टर अङ्कल’, राजेन्द्र विमलको ‘बन्धनबाट मुक्ति’ कथाका साथै लेखनाथ पौड्यालको ‘वसन्त कोकिल’, वासुदेव त्रिपाठीको ‘सय रङ इन्द्रेनी’, दुवसु क्षेत्रीको कविता ‘यात्रा सुरु गरौँ’ र सुधा त्रिपाठीको निबन्ध ‘म को हुँ ?’ पनि समावेश भएका छन् ।
माध्यमिक तहको कक्षा १० को पाठ्यपुस्तकमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘वर्षा’, कवि भरतराज पन्तको ‘सन्तुष्टि’, पारिजातको ‘म सडक बोल्दै छु’ नामक कविता पनि समेटिएका छन् । नेपाली कथामा आधुनिकता भिœयाउने प्रथम कथाकार गुरुप्रसाद मैनालीको ‘प्रत्यागमन’, मनोवैज्ञानिक कथाकार गोविन्दबहादुर मल्ल गोठालेको ‘लक्ष्मीपूजा’, भवानी भिक्षुको ‘माउजङ बाबुसाहेबको कोट’ कथा पनि समावेश भएको पाइन्छ । पुस्तकमा हास्यव्यङ्ग्य निबन्धका सम्राट् भैरव अर्यालको चर्चित निबन्ध ‘जय भुँडी’का साथै भीमनिधि तिवारीको एकाङ्की टीका पनि समावेश भएको छ ।
नेपाली विषयको पाठ्यपुस्तकमा समटिएका लेखरचनामध्ये केही रचनाहरू दोहोरिएका छन् । यसतर्फ खासै लेखक–सम्पादकको ध्यान पुगेको देखिन्न । यस्तै, कक्षा १० मा समावेश गरिएको ‘लक्ष्मीपूजा’ नामक कथा कक्षा ११ को ऐच्छिक नेपालीमा समावेश भएकाले पनि यसको औचित्यमाथि प्रश्न उठ्न सक्छ । लक्ष्मीपूजा कथाको सम्पादन गरेर राखिएकोे छ ।
कैयन् कविता तथा अन्य लेखरचनामा सर्जकको नाम समावेश नहुँदा ती रचनाका लेखक तथा स्रष्टा ओझेलमा पर्न पुगेका छन् भने उनीहरूको नाम छुट्दा सर्जकप्रति वास्तविक सम्मान मिलेको देखिन्न । उनीहरूको रचना समावेश हुने तर उनीहरूको रचनामा नाम छुटाएर पुस्तक प्रकाशन गर्नुका कारण बुझ्न सकिएन । त्यसैले कुनै पनि रचना उसको सम्पत्ति हो, त्यसैले उसको रचनासँगै नाम पनि आउनुपर्छ भन्ने मान्यता सबैको पाइन्छ । कक्षा १० मा समावेश भएको ‘टीका’ एकाङ्की यसपूर्वको महेन्द्रमाला नामक पुस्तकमा समेटिएको नै हो, तर पनि लेखक–सम्पादकले यसपटक पुनः त्यसलाई समावेश गर्नुभएछ । त्यो राम्रै हो । तर त्यसका ठाउँमा अन्य लेखकका रचनालाई पनि समावेश गर्न सकिन्थ्यो । कैयन् कविताहरू यसअगावैका पाठ्यपुस्तकमा समावेश भएका कारण नवीनता खोज्नेहरूका लागि पुरानै विषयवस्तु हात लाग्ने अवस्था छ । पुनरावृत्तिलाई यसपटकको पाठ्यपुस्तकले पनि रोक्न सकेको छैन ।
कक्षा १ देखि १० सम्मका पुस्तकमा माधवप्रसाद घिमिरेका ६, सिद्धिचरण श्रेष्ठका ३, कृष्णप्रसाद पराजुलीका ३, लक्ष्मीप्रसाद देवकोटाका २, लेखनाथ पौड्यालका २, दैवज्ञराज न्यौपानेका २, क्षेत्रप्रताप अधिकारीका २, पारिजातका १ र प्रभा भट्टराईका २ वटा कविता समावेश भएका छन् भने पुस्तकमा सुधा त्रिपाठीका १ कथा र १ निबन्ध समावेश भएका छन् ।
त्यस्तै, कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तकमा महिला साहित्यकारका रचना ज्यादै न्यून मात्रामा समावेश भएको पाइन्छ । पारिजात, सुधा त्रिपाठी, प्रभा भट्टराई र ललिता दोषी गरी चार जना महिला साहित्यकारका रचनामात्र समेटिएका छन् । महिला समावेशी र आरक्षणका जेजति नारा फुके पनि वास्तवमा पाठ्यपुस्तक लेखन तथा सम्पादन मण्डलले त्यसतिर ध्यान दिएको देखिन्न । कुनै स्रष्टाका बढी रचना समावेश हुँदा र कुनै स्रष्टाको एउटा पनि रचना समावेश नहुँदा त्यसलाई पक्कै पनि सम्पादन समूहले बेवास्ता गरेको हो भन्न सकिन्छ । अझै पनि दलित, जनजाति र आदिवासी लेखकका रचनाले पाठ्यपुस्तकमा स्थान पाउन सकेका छैनन् । यसलाई कसरी लिने ? महिला, जनजाति, आदिवासी एवम् दलित साहित्यकारका रचनाको अभाव भएर हो वा के कारण, उनीहरूका रचना पाठ्यपुस्तकमा समावेश भएनन्, त्यसतर्फ लेखन तथा सम्पादन–मण्डलले ध्यान दिनु आवश्यक छ । शैक्षिक सत्र २०७७ बाट कक्षा ११ को पाठ्यक्रम र पाठ्यपुस्तक परिवर्तन हुँदै छ । त्यसैले अब बन्ने नयाँ पाठ्यक्रम र पाठ्यपुस्तकले लेखक र साहित्यकारलाई कसरी समेट्नेछ । सोबारेमा नेपाल सरकारको पाठ्यक्रम विकास केन्द्रले समेत ध्यान दिनु अत्यावश्यक नै छ ।

प्रतिक्रिया दिनुहोस्