पर्वतको महाशिलामा ‘गाउँ फर्क प्याराप्यारी अभियान’ सुरु «

पर्वतको महाशिलामा ‘गाउँ फर्क प्याराप्यारी अभियान’ सुरु

पर्वतको महाशीलामा ‘गाउँ फर्क प्याराप्यारी’ कार्यक्रम सुरु भएको छ ।
रोजगारीको खोजीमा बर्सेनि गाउँपालिकाबाट पलायन दर बढ्दै जाने र पछिल्लो समय कोभिड–१९ को प्रभावका कारण गाउँ फर्केका युवायुवतीहरु बेरोजगार बनेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले यस्तो कार्यक्रम सुरु गरेको हो । गाउँमै स्वरोजगार सिर्जना गर्ने र सोहि पेशावाट आत्मनिर्भर बन्न सकुन भन्ने उद्देश्यले चालू आर्थिक वर्षदेखि गाउँ फर्क प्याराप्यारी कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए ।
विदेशमा रहेका युवायुवतीलाई गाउँपालिकामा फकाई स्वदेशमानै केही गरी उत्पादन र आयआर्जनसँग जोडी उद्यमी बनाउन यो कार्यक्रम सुुरु गरिएको हो । उनले भने, “यो कार्यक्रमअन्तर्गत कुनै उद्यम व्यावसाय गर्न चाहने युवा युवतीहरुलाई ब्याजमा अनुदान दिने छ ।” गाउँपालिकाले बनाएको कार्यविधिअनुसार कम्तीमा तीन वर्षभित्र विदेशवाट फर्केर आएका युवायुवतीहरु समावेश हुन सक्ने अध्यक्ष पौडेलले जानकारी दिए ।
यसले बढ्दो पलायन र बेरोगार युवायुवतीहरु दुवैको दर कम गर्ने र गाउँपालिकामा रहेको गरिबीको दर घट्दै जाने गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले जानकारी दिए ।
यस्तो कार्यक्रममा सहभागी हुन चाहने युवा युवतीले पछिल्लो ३ वर्षभित्र विदेशमा बसि आएको प्रमाण खुल्ने कागजातको प्रतिलिपि, आफूले गर्न चाहेको व्यवसायको प्रस्तावना, ऋण लिने वित्तीय संस्थाको सहमतिपत्र गाउँपालिकामा पेश गर्नुपर्ने बताइएको छ । त्यसैगरी गाई, भैंसी, न्यूनतम ३ वा सोभन्दा माथि, कुखुरा ५ सय वा सोभन्दा माथि, बंगुर ३० वा सोभन्दा माथि, फलफूल तथा तरकारी खेती ३ रोपनी क्षेत्रफल वा माथि पालन गर्ने उद्देश्य हुनुपर्ने छ ।
यस्तो व्यावसाय गर्नेहरुलाई पालिकाले अधिकतम ३ लाख रुपैयाँको १२ प्रतिशतको दरले ब्याजदर अधिकतम २ वर्षको अवधिका लागि ब्याजअनुदान भुक्तानी दिने भएको छ । उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बिनीयोजन भएको गाउँपालिकाका प्रवत्ता ठकुरीले जानकारी दिनुभयो । यस वर्ष ३० देखि ५० जना युवायुवतीलाई यो कार्यक्रममा समावेश गर्नेगरी आवेदन माग गरिएको समेत उनले बताए ।
यसैबीच गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै पेशा व्यवासाय गर्न इच्छुक युवा युवतीहरुलाई १५ दिनभित्र आवेदन दिन समेत माग गरेको छ । विशेषगरी कोभिड–१९ को प्रभावका कारण गाउँ फर्केका युवायुवतीहरु यो कार्यक्रमवाट लाभान्वित हुने पालिकाको विश्वास रहेको छ । विदेश गएका तर गतिलो कमाई गर्न नसकेकाहरु समेत यो कार्यक्रमपछि गाउँ फर्कने अपेक्षा गरिएको छ ।
यो गाउँपालिकाले यस अघि एक घर एक रोजगार कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसअन्तर्गत ६ सयभन्दा बढिले रोजगारी समेत पाईसकेका छन् । स्वयंसेवकको रुपमा रहेका उनीहरुले गाउँपालिकाभित्र सडक, साना सिँचाइ, स्वास्थ्य, शिक्षा, खानेपानी लगायतका क्षेत्रमा काम गर्दै आएका छन् । उक्त कार्यक्रमले पनि रोजगारविहीन विपन्न नागरिकहरुको जीवनस्तर सुधारमा महत्वपूर्ण बनेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्