चिया खेतीमा समस्यै समस्या «
Logo

चिया खेतीमा समस्यै समस्या

श्रमिक, किसान र उत्पादनका क्षेत्रमा समयसापेक्ष सरकारी नीति नहुँदा निर्यातको राम्रो सम्भावना रहेको चिया खेती क्रमशः घट्दै गएको एक अध्ययनले देखाएको छ । विशेषगरी झापा, इलाम, तेह्रथुम, धनकुटालगायत पूर्वी नेपालमा वर्षौंअघि लगाइएको चिया मासेर खेतीयोगय जमिनलाई घडेरी बनाउने होड चलेको छ ।
किसानले चिया खेतीबाट सामान्य प्रतिफलसमेत फिर्ता पाउन नसक्ने भएपछि झापाका किसानले चिया खेती मासेर घडेरीका लागि जग्गा टुक्र्याउन थालेका छन् । चिया विकासका लागि सरकारले विभिन्न योजना ल्याउने घोषणा गरेको वर्षौं बिते पनि चियाप्रति किसानको आकर्षण बढाउने कार्यक्रम नआएपछि चिया खेतीयोग्य जमिन मासिन थालेको हो । नेपाल उद्योग परिसंघ, अन्तर्राष्ट्रिय श्रम संगठनले राजधानीमा सोमबार गरेको चिया क्षेत्रको व्यापार पुनस्र्थापना गर्ने प्रक्रिया र कार्यगत अन्तर्कियामा सहभागीहरुले चिया किसान पलायन हुँदै गएको बताएका छन् ।
राष्ट्रिय श्रम प्रतिष्ठानका अध्यक्ष डा. शिव शर्माले सिटीसी चिया उत्पादनको पकेट क्षेत्र झापाको हल्दीबारी गाउँपालिका क्षेत्रमा ३१ बिघा चिया खेती मासेर घरजग्गा व्यापारका लागि जमिन प्रयोग गरेको बताए । “चिया खेती गर्ने किसान अर्को जीपिकोपार्जन हुने व्यवसायतर्पm आकर्षित हुन थालेका छन,” उनले भने, “विगत ५ वर्षमा कुनै पनि जमिनका नयाँ चिया खेती गरिएको छैन ।” चिया खेतीबाट घट्दै गइरहेको आम्दानी र अन्य व्यवसायमा बढ्दो नाफाका कारण चिया खेती गर्ने किसान घट्दै गइरहेका छन् । चिया क्षेत्रमा काम गर्ने मजदुर पनि कम ज्यालाका कारण वैकल्पिक रोजगारीको खोजीमा लाग्ने गरेका छन् ।
नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष सतिशकुमार मोरले नेपाली चियाको माग स्वदेश तथा विदेशमा धेरै भए पनि गुणस्तरीय चिया उत्पादन गर्न नसकिएको बताए । नेपालको चिया क्षेत्रको विकासका लागि सरकारले मुख्य भूमिका खेल्नुपर्ने उपाध्यक्ष मोरले सुझाव दिए ।
अन्तर्राष्ट्रिय श्रम संगठनका राष्ट्रिय कार्यक्रम संयोजक नवीनकुमार कर्णले नेपाली चियाको माग बढ्दै गए पनि उत्पादन, खेती र प्रोसेसिङ २०-३० वर्षअघिको जस्तै रहेको बताए । “भारतको भन्दा नेपाली चियाको स्वाद र माग बढी भए पनि नेपाली चियामा इनोभेसन हुन सकेको छैन,” कर्णले भने, “चिया मजदुरका सेवा सुविधा कम भएका कारण श्रमिक अभाव बढ्दै गइरहेको छ ।” नेपालको पहाडि क्षेत्रमा अर्थोडक्स र तराईमा विशेषगरी झापामा सिटीसी चिया उत्पादन हुने गरेको छ । नेपाल उत्पादन हुने सम्पूर्ण चिया मध्ये अर्थोडक्स २० प्रतिशत र सिटीसी ८० प्रतिशत उत्पादन हुने गरेको छ । आर्थिक वर्ष २०१५-२०१६ मा झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम र अन्य जिल्लामा गरी २४ हजार २६३ टन चिया उत्पादन भएको थियो । त्यसमा अर्थोडक्स चियाको उत्पादन ५ हजार ८०१ टन भएको थियो भने सन् २०१६-२०१७ मा करिब २५ करोड रुपैयाँको निर्यात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्