कलुवापुर बेलौरी सडकखण्ड निर्माणले गति लियो «

कलुवापुर बेलौरी सडकखण्ड निर्माणले गति लियो

महेन्द्रनगर– कञ्चनपुरको कलुवापुर बेलौरी सडकखण्ड निर्माण कार्यले गति लिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजनाको रूपमा रहेको कलुवापुर बेलौरी सडकखण्ड निर्माण कार्यले पछिल्लो समयमा केही भए पनि गति लिएको हो । चार वर्ष अघिबाट ठेक्का सुरु भएर निर्माणको चरणमा रहेको कलुवापुर बेलौरी सडकखण्ड लामो समयको अन्तराल पछि सडक निर्माणले गति लिएको छ ।
झण्डै चार वर्ष अघिबाट छुट्टा–छुट्टै प्याकेजमा निर्माण सुरु भएर सम्पन्न हुन नसकेको कञ्चनपुरको कलुवापुर बेलौरी सडक खण्डको निर्माण कार्यले हाल आएर गति लिएको छ ।
उक्त सडकखण्डको पहिलो प्याकेज अन्तर्गतको कलुवापुर–लालझाडी सडकखण्डमा माटो फिलिङ गर्ने तथा केही भागमा कालोपत्रे गर्ने कार्य सुरु भएको पूर्वाधार विकास कार्यालय कञ्चनपुरले जनाएको छ । कार्यालयका अनुसार कलुवापुर–लालझाडी सडकखण्डको सडक क्षेत्रमा प्रगति भने ५० प्रतिशत भएको छ । यस्तै उक्त सडक खण्डको दोस्रो प्याकेज अन्तर्गतको लालझाडी–बैलौरी बजारसम्मको सडकको पनि निर्माण कार्य सुरु भई केही बेलौरी बजार क्षेत्रमा भने कालोपत्रे गरिएको पूर्वाधार विकास कार्यालय कञ्चनपुरका इन्जिनियर जगदीश सार्कीले बताए ।
“पहिलो प्याकेज सँगसँगै दोस्रो प्याकेजअन्तर्गत पर्ने सडक खण्डमा पनि सडक निर्माणको काम चलिरहेको छ ।” इन्जिनियर जगदीश सार्कीले भने, “विगतको भन्दा केही हदसम्म सडक निर्माणको काम तीव्र भएको छ, यस्तै कामले गति पाउने हो भने सडक निर्माण सम्पन्न हुन धेरै समय लाग्दैन ।” कलुवापुर बेलौरी सडकखण्डको दुईवटै प्याकेजका प्रगति हाल आएर ५० प्रतिशत पुगेको उनले बताए ।
लामो समयदेखि निर्माणाधीन रूपमा रहेको उक्त सडक खण्डमा दिनहुँ सयौं सवारी साधन आवत–जावत हुन्छन् । सो सडकखण्ड क्षेत्रमा लामो समयदेखि पक्कीसडक निर्माणको काम चलिहरेको भए पनि निर्माण कार्यले गति पाएको अवस्था भने थिएन । तर, पछिल्लो केही महिनायता उक्त सडकखण्ड निर्माणले गति पाएसँगै पूर्वाधार विकास कार्यालयले पनि उक्त सडकखण्डलाई छिटो सम्पन्न गर्न अग्रसर देखिएको छ ।
“केन्द्र सरकार अन्तर्गतको सडक डिभिजन कार्यलयले सुरु गरेको उक्त सडक योजनाको स्वामित्व हस्तान्तरणमा ढिलाइ हुँदा निर्माण प्रभावित भएको अवस्था थियो ।” इन्जिनियर सार्कीले भने, “केन्द्र सरकारपछि प्रदेश सरकारको गौरवको आयोजनामा परेपछि पूर्वाधार विकास कार्यालयले निकै तदारुक्ताका साथ निर्माण कार्यलाई अगाडि बढाएको छ ।” झन्डै १८ करोडमा सन्तोषी थेगिम जेभीले निर्माणको जिम्मा पाएको उक्त सडक एउटैै योजना भए पनि दुई प्याकेजमा काम भइरहेकोे छ । २०७३ भदौमा सुरु भएको उक्त सडकको निर्माण २०७५ जेठसम्ममा सक्ने सम्झौता भए पनि लक्ष्य पूरा हुन सकेको छैन । २०७७ फागुन मसान्तसम्ममा निर्माण सम्पन्न गरिसक्ने गरी योजनाको म्याद थप गरिएकोे उनले बताए । कुल ७ दशमलव ५ मिटर र कालोपत्रे ५ दशमलव ५ मिटर हुने यो सडकमा हाल ग्राभेल तथा कालोपत्रे निर्माणको कार्य भइरहेको छ । महेन्द्र राजमार्गबाट दक्षिणी क्षेत्र जोड्ने जम्मा २३ किलोमिटर लम्बाइको उक्त सडकखण्ड बेलैमा स्तरोन्नति नहुँदा यहाँका नागरिक कष्टकर यात्रा गर्न बाध्य भएका छन् ।
समयमै सम्पूर्ण सडकखण्ड सम्पन्न गर्नुेपर्ने स्थानीयको माग
कलुवापुर बेलौरी सडकखण्ड निर्माणले गति लिए पनि स्थानीयले भने समयमै सम्पूर्ण सडक सम्पन्न गर्नुपर्ने माग गरेका छन् । दोस्रो प्याकेजको बेलौरी बजार क्षेत्रमा निर्माण गरिन लागेको उक्त सडक खण्ड बेलौरी मात्रै नभएर कलुवापुरसम्म नै निर्माण गर्नुपर्ने स्थानीयको माग छ । बेलौरीका स्थानीय जनकसिंह विष्टले स्थानीयले सदरमुकाम जान पनि धुलो खाएर जानुपर्ने बाध्यता भएको भन्दै निर्माण कम्पनीले बजार क्षेत्रमा मात्रै कालोपत्रे नगरेर कलुवापुरसम्मै कालोपत्रे गर्नुपर्ने बताए ।
“विगतमा पनि वर्षको एकचोटी निर्माण कम्पनीले काम गरेजस्तो देखावटी गरेर केही दिनमै निर्माण कार्य बन्द गरेर स्थानीयलाई ठग्ने कार्य गर्दै आएको छ ।” स्थानीय जनकसिंह विष्टले भने, “सम्झौता भएको लामो समयपछि पनि ठेकेदाको लापरबाहीका कारण लामो समयदेखि सडक निर्माण हुन सकेको छैन ।” लामो समयदेखि ठेकेदारले सकड निर्माणमा ठग्दै आएको भए पनि यसपटक भने ठग्न नपाइने उनले बताए । यस्तै अर्का स्थानीय गोपालप्रसाद पाण्डेयले पनि उक्त सडकखण्ड आफ्नो दैनिकीसँग जोडिएको भन्दै निर्माण कम्पनीले समयमै सम्पन्न गर्नुपर्ने बताए ।
“दक्षिणी क्षेत्र विकासबाट निकै टाढा रहेको छ, वर्षाैं भइसक्यो कलुवापुर बेलौरी सडकखण्ड निर्माणको काम सम्पन्न भएको छैन ।” स्थानीय गोपालप्रसाद पाण्डेयले भने, “साँझ बिहान सदरमुकाम आवत–जावत गर्न हिलो र धुलो खानुपर्ने बाध्यता रहेको छ, बाटो निर्माण भए पनि गुणस्तरयुक्त र सयममै निर्माणसम्पन्न गर्नुपर्छ भन्ने हाम्रो माग हो ।” झण्डै ४० वर्षदेखि सकड अभावकै कारण दुःख पाएका दक्षिणी क्षेत्रका नागरिकले पूर्वाधारको क्षेत्रमा विगतदेखि नै निकै सास्ती खेप्दै आएका उनले बताए ।
सडक निर्माणलाई सयममै सम्पन्न गराउन प्रदेश सरकार पनि अग्रसर
लामो समयदेखि निर्माणाधीनको रुपमा रहेको कलुवापुर बेलौरी सडक खण्ड समयमै सम्पन्न गराउन प्रदेश सरकार पनि अग्रसर देखिएको छ । सुदूरपश्चिम प्रदेशको गौरवको ओयोजनाअन्तर्गत रहेको उक्त सडकखण्ड समयमै सम्पन्न गराउन प्रदेश सरकारले निर्माण कम्पनीलाई ताकेदा गर्दै समयमै सम्पन्न गराउन अग्रसर देखिएको हो । सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य कुलवीर चौधरीले कलुवापुर बेलौरी सडकखण्ड समयमै सम्पन्न गराउन प्रदेश सरकार अग्रसर भएको बताए ।
“कलुवापुर बेलौरी सडकखण्ड निर्माणको ठेक्का पाएको निर्माण कम्पनीलाई ताकेता गर्दै प्रदेश सरकारले महत्वका साथ उक्त आयोजनालाई हेरिरहेको छ ।”

प्रतिक्रिया दिनुहोस्