जलउपयोगमा कानुनी व्यवस्था र यथार्थ «

जलउपयोगमा कानुनी व्यवस्था र यथार्थ

बिनाअध्ययन र प्रविधिक परीक्षण नै नगरी जथाभावी पानी उत्पादनका लागि अनुमति दिने कार्यले समस्या समाधान नगरी समस्यालाई थप जटिल बनाइदिएको छ ।


प्रकृतिले निःशुल्क रूपमा उपलब्ध गएको मानवका लागि मात्र नभई समस्त प्राणी र वनस्पति वर्गलाई अपरिहार्य जल नै जीवन हो । यसको समुचित उपयोग गर्न नसक्दा अनेकौं समस्या सिर्जन भइरहेका छन् । जल अथवा पानीबिना पृथ्वीमा रहने प्राणी र वनस्पतिको कल्पना पनि गर्न सकिँदैन । पानीको महत्व जीवनरक्षाका लागि नभई ऊर्जा उत्पादनमा पनि त्यत्तिकै रहेको छ । जलविद्युत् उत्पादनमा हाम्रो सन्दर्भमा ज्यादै नै आवश्यकीय बनेको छ, जसका लागि विद्युत् उत्पादनको करिब ११ दशकमा ३ सय मेगावाट पनि विद्युत् उत्पादन नहुनु दुःखद सवाल हो । हिमनदीबाट बग्ने सयौं नदीहरूबाट प्र्रशस्त मात्रामा जलविद्युत् उत्पादन गर्न सकिने हुँदाहुँदै दै पनि विविध कारणले बर्सेनि विद्युत् उत्पादनमा पछाडि पारिरहेका छन्, जसका कारण बर्सेनि विद्युत् अभावकै कारण लामो समय लोडसेडिङको सामना गर्न विवश भएका छौं ।
नेपालको जलसम्पदालाई भरपुर प्रयोग गर्ने हो भने हाम्रो आर्थिक अवस्थामा समेत पर्याप्त मात्रामा सुधार ल्याउन सकिन्छ, जलको अभावमा लाखौं हेक्टर जमिन बाँझो रहेर बसेको अवस्थामा राज्यले नवीन नीति निर्माण गर्दै अगाडि जाने असल र सहज मार्ग बनाउनुपर्ने देखिन्छ । वन, जल र मानव एकअर्काको परिपूरक हुन् । हामीले नै हो जल, जमिन र जंगललाई जोगाई प्रकृतिलाई माया गरेर त्यसमा रहेका अतुलनीय सुन्दरताको उपयोग गरी अगाडिको मार्ग सुगम बनाउँदै जाने । आजको यो विषम अवस्थामा वातावरणको संरक्षणमा जुटेर मानवको गुण पनि देखाउनुपर्छ ।
व्यावसायिक कृषि आजको आवश्यकता हो, जसका लागि सिँचाइको समुचित ढंगले वितरण गर्ने व्यवस्था मिलाउन सकेमा उत्पादन बढाएर आर्थिक विकासमा टेवा पु-याउन सकिन्छ । तराईका समथर उर्वर भूमिमा सिँचाइको अभावकै कारण कृषकको लगानी बालुवामा पानी हुन पुगेको तीतो यथार्थ सबैका सामु छँदैछ ।
पानीको उपयोगमा यथोचित ध्यान नदिँदा हाम्रा हजारौं बस्तीमा खानेपानी अभाव भइरहेको छ । विकास–निर्माण कार्य गर्दा पनि प्राविधिक परीक्षणबिना नै जथाभावी संरचनाको निर्माण गर्नाले पानीका मुहान सुक्न थाले । वृक्षारोपण गरी पानीको ओत संरक्षणमा पर्याप्त मात्रामा ध्यान नपु-याउँदा सर्वत्र पानीको अभाव भइरहेको छ । पानीको उपयोग गर्ने नीति पनि दीर्घकालीन र प्रभावकारी बनाउन नसक्दा समस्याले विकराल अवस्था सिर्जना गराएको देखिन्छ । पछिल्ला समयमा बिनायोजना र भूबनोटको ख्यालै नगरी जमिनमा प्लानिङ गर्ने नाममा प्राकृतिक स्रोतको नभए गराउने काम भयो, जसको परिणाम पानीको मात्रा घट्न गयो ।
अव्यवस्थित सहरीकरणका कारण जथाभावी जमिनमुनिको पानी उपयोग गरिँदा पानीको सतह नै घट्न गई तीन–चार सतह घट्दै गएको तथ्याङ्कले देखाउँछ । अर्को महत्वपूर्ण विषय भनेको हरेक वर्ष तीन मिटरका दरले पानीको मूल घट्दै गएको विविध अध्ययनले देखाएको छ । गुदीको पक्ष भनेको मूलतः सहरी क्षेत्रमा घर निर्माण गर्दा जमिन अभावका कारण थोरै जग्गामा निर्माण हुन्छन् । जहाँ लगभग घरले नै जमिन पूरै ढाकेको हुन्छ । केही मात्रामा मात्रै खाली जमिन रहेको भए त्यहाँसमेत जमिनले सोस्न नपाई ढलानमार्फत पठाइने गर्दा पनि जमिनमा पानीको सतहको सन्तुलन बिग्रन गएको पाइन्छ । पानीको अभावकै कारणले फस्टाउँदो व्यापार बनिरहेको जमिनमुनिको पानी शुद्धीकरण गर्दै जार र बोतलमा बिक्री गर्ने कार्यले झनै समस्या जटिल बनाउँदै लगेको देखिन्छ । बिनाअध्ययन र प्रविधिक परीक्षण नै नगरी जथाभावी पानी उत्पादनका लागि अनुमति दिने कार्यले समस्या समाधान नगरी समस्यालाई थप जटिल बनाइदिएको छ ।
दैनिक काठमाडौं उपत्यकामा मात्र २८ करोड लिटर पानीको आवश्यकता पर्ने भए पनि मुस्किलले वर्षाको समयमा १२–१४ करोड लिटर र हिउँदमा ६–७ करोड लिटर मात्रै आपूर्ति गर्न सकेको तथ्याङ्क खानेपानी संस्थानले दिने गरेको छ । त्यस कारण उपभोक्ता पानी खरिद गरी उपभोग गर्न बाध्य बनाइएका छन् । सहरी जनसंख्या तीव्र रूपले बढेकोले पनि समस्या चुलिएर गएको देखिन्छ । भइरहेको सन्दर्भमा हामीले जल उपयोग नीति निर्माण नै गरेर त्यसको सन्तुलित उपयोगमा जोड दिनुपर्छ । जलचक्रमा अवरोध पुग्ने कुनै पनि गतिविधि हामीले गर्नुभएन ताकि जलसम्पदाको संरक्षण र सन्तुलन गर्न सकियोस् ।
ग्रामीण इलाका होस् या नगरोन्मुख क्षेत्र नै किन नहोस्, सर्वत्र आकर्षक घडेरी निर्माण गर्ने नाममा वनस्पति र पानीको स्रोतलाई समेत नष्ट गराउँदै आवास क्षेत्र बनाउनु नै आजको समस्या सिर्जना गएको हो । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाबाट उपत्यकावासीलाई खानेपानीको आपूर्ति गर्ने कार्य पनि दुई दशक पुग्नै लाग्दासमेत पूर्ण हुन सकेको छैन । पानीको उपयोग गर्दा भावी पुस्ताले समेत उपयोग गर्न पाउने गरी सन्तुलनमा राखेर हरतरहले जलसम्पदाको संरक्षरणमा एकजुट हुनु जरुरी भएको छ । धर्तीले जेजस्ता मानवलाई नभइनहुने जल र जमिन उपलब्ध गरिदिएका छन् । मानवका लागि अत्यावश्यक भएकाले नै सबैको सही र दीर्घकालीन ढंगले उपयोग गर्न सकेमा मात्र नै यसबाट मानववर्ग धेरै लाभान्वित हुन सक्छन् । जलप्रदूषण हुने क्रियाकलापलाई समेत बन्द गरेर वनसम्पदाको जगेर्ना गर्दै बढ्दो जनसंख्यालाई आवश्यक पर्ने जलको व्यवस्थापन सहज रूपमा गर्नका लागि सबै पक्ष उत्तिकै जिम्मेवार बन्नुपर्छ जल नै जीवन भएकाले यसलाई युगौंसम्म उपयोग गर्न सकिने गरी प्रयोग गरौं, तबमात्र सबैलाई सहज हुन जान्छ । मानिसमा मानवता हराएर गएकाले पनि थप समस्या सिर्जना हुने हो । चाडपर्वमा मनपरी मूल्य असुल्ने ठग व्यापारीका कारण उपभोक्ता मारमा पर्ने गरेका छन् । जारको पानीको मूल्य बढाइएको छ । सरकार ‘कर बुझाऊ, जति पनि मूल्य लिए पनि मतलब छैन’ भनेर बसेको अवस्था छ । कानुनमा त जमिनमुनिको पानी निकाल्नका लागि तोकिएको रकम खानेपानी कार्यालयमा तिरेर मात्र जमिनमुनिको जल निकाल्न पाइने व्यवस्था छ ।
राज्यले आमउपभोक्तालाई सामान्य सेवा र सुविधा पनि दिन नसकेकाले देखेर पनि केही बोल्न सक्ने अवस्थामा सरकारका निकाय छैनन् । देखेर पनि नदेखेको जस्तो अभिनय गर्ने मनुवाको के कसरी कुरो गर्नु र ?

प्रतिक्रिया दिनुहोस्