धार्मिक स्थल खुलेपछि होटल व्यवसायी उत्साहित
दोलखा-लामो समयदेखि बन्द रहेको धार्मिक स्थल तथा पर्यटकीय स्थलहरु खुलेसँगै दोलखाका होटल व्यवसायीहरु उत्साहित भएका छन् । ९ महिनादेखि बन्द रहेका मठ मन्दिर र पर्यटकीय स्थल शुक्रबारदेखि प्रशासनले खुल्ला गरेसँगै होटल व्यवसाय पुरानै लयमा फर्कने आशमा व्यवसायीहरु उत्साहित भएका हुन् ।
सबै क्षेत्र खुल्ला भए तापनि मठ मन्दिर र धार्मिक स्थल खुल्ला हुन सकेको थिएन । धार्मिक स्थल बन्द रहँदा पर्यटक आवागमनसमेत ठप्प थियो । पर्यटकहरु नआउँदा ९ महिनादेखि होटलहरु बन्द थिए । कतिपय व्यवसायीहरु त व्यवसायबाट पलाएन नै हुनु परेको दोलखा होटल संघका सचिव प्रकाश बुढाथोकीले बताए । अहिलेसम्म टिकेका व्यवसायीहरुमा आशाको सञ्चार भएको सचिव बुढाथोकीले बताए ।
धार्मिक स्थल खुलेसँगै आन्तरिक पर्यटकहरु दोलखा आउन थालेका छन् । लकडाउनकै बीचमा होटल व्यवसायमा छिरेका होटल लक्ष्मी प्रालिका सञ्चालक राजेश उप्रेतीले धार्मिक स्थल खुल्ला भएको खबर सार्वजनिक भएको २४ घण्टा नवित्दै काठमाडौंबाट २० वटा भन्दा बढी बसहरु रिजर्भ गरेर दोलखा पर्यटकहरु आएका बताए । दोलखामा आउने अधिकांस पर्यटकहरु दोलखाको भीमेश्वर मन्दिर र कालिञ्चोक क्षेत्रमा दर्शन र भ्रमणमा आउनेहरु छन् ।
असोजपछि दोलखामा सबैभन्दा बढी पर्यटक काठमाडौंबाट आउने गरेका छन् । मठमन्दिर बन्द हुँदा पर्खाइमा रहेकाहरु अब आउने रोयल होेटल तथा क्याफेका सञ्चालक पुष्कर अधिकारीले बताए । “विगतका वर्षमा यो सिजनमा पर्यटकहरुको सेवामा भ्याइ नभ्याइ हुन्थ्यो” उनले भने, “कोरोना भाइरसको महामारीबाट बच्न सरकारले मन्दिर बन्द गरेका थियो, अब स्थिति सहज हुँदा मन्दिर खोलेकाले अब पर्यटकहरुको आवागमन सुरु भएपछि अर्को हप्ताबाट व्यवसाय पनि पुरानै लयमा फर्कने आशा गरेका छौं ।”
कोरोना महामारीका कारण व्यवसाय चौपट भएपछि दोलखाका होटल व्यवसायीहरु सहजीकरणका लागि २ साता अघि स्थानीय प्रशासनको ढोका ढक्ढकाउन पुगेका थिए । उनीहरुले स्वास्थ्य सुरक्षा अपनाउँदै धार्मिक तथा पर्यटकीय स्थल खोल्न माग गरेका थिए । प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले जिल्ला संकट व्यवस्थापन समितिको बैठकले सबैतिरको माग अनुसार धार्मिक तथा पर्यटकीय स्थल खोलेको बताए ।
बजार, यातायात खुल्ला भएर पुरानै लयमा फर्किएको छ । मंसिर लागेयता सम्पूर्ण शैक्षिक संस्था पनि नियमित सञ्चालनमा आएका छन् । स्वास्थ्यप्रति सबै सजग भएकाले स्वास्थ्य मापदण्ड अपनाउँदै पर्यटकहरुलाई सेवा पु¥याउने व्यवसायीहरुको भनाइ छ ।
धार्मिक स्थलय खुलेसँगै कालिञ्चोक केबलकार समेत सञ्चालनमा आएको छ । केही दिनअघि केबलकारका सञ्चालक बालकृष्ण शिवाकोटी आफैं कालिञ्चोक पुगेर केबलकार मर्मत गरेर तयारी अवस्थामा राखेका थिए । व्यवसायीहरुले कालिञ्चोकसम्म पुग्ने सडक समेत मर्मत गर्न सरकारसँग माग गरेका छन् ।
आर्थिक संकटका कारण सञ्चालनमा रहेका व्यवसायीहरुलाई पनि कर्मचारी व्यवस्थापन, घरभाडा, वित्तीय संस्थाको कर्जा बुझाउन समस्या भएका कारण राज्यले यसको उचित सम्बोधन गर्नुपर्ने होटल संघ दोलखाका अध्यक्ष रञ्जितकुमार पाठकले बताए । उनले धार्मिक पर्यटकीय स्थल खुलेकाले होटल मर्मत र सरसफाइमा राखेर पर्यटकहरुको स्वागत सत्कारमा तयारी हुन व्यवसायीहरुलाई आग्रह गरे । होटल व्यवासायीहरुको आर्थिक पुर्नउत्थानका लागि पर्यटकीय क्षेत्र खोल्नुको विकल्प नभएको उनले बताए ।
हिउँ परेपछि कालिञ्चोक र शैलुङ क्षेत्रमा धेरै पर्यटकहरु आउने गर्छन् । राजधानीबाट नजिकको दूरीमा रहेका यस क्षेत्रमा आउने पर्यटकहरु पनि विदेशी भन्दा आन्तरिक नै धेरै हुन्छन् । सिजनमा यस क्षेत्रमा दैनिक १० हजार भन्दा बढीले भ्रमण गर्छन् । कालिञ्चोकका होटल व्यवसायी चन्द्रकुमार लामाले हिउँ पर्ने सिजनमै धार्मिक स्थल खुलेकाले पर्यटकहरु बढ्ने अर्को आधार रहेको बताए ।
लकडाउन र निषेधाज्ञाका कारण ९ महिनादेखि उकुसमुुकुस भएर बसेकाहरुलाई बाहिर निष्कने ठाउँ बल्ल भएको उनले बताए । भीमेश्वर मन्दिरमा २ हप्ता अघि मात्र पसिना आएको छ । भीमेश्वरमा पसिना आउँदा राज्यमा परिवर्तनको संकेत गर्छ । पसिना आउँदा मन्दिर बन्द रहेकाले धेरैले दर्शन गर्न पाएनन् । स्थानीय भरत नारायण प्रधानले अब संकटकै बेला पसिना आएकाले भीमेश्वर दर्शनममा स्वाभाविक रुपले दर्शनार्थी बढ्ने विश्वास गरे ।