सिलगुढी–चारआली पाइपलाइनको सर्भे सकियो «

सिलगुढी–चारआली पाइपलाइनको सर्भे सकियो


भारतको सिलगुढीदेखि नेपालको झापासम्म पेट्रोलियम पाइपलाइन विस्तार हुने भएको छ । चालू आर्थिक वर्षको अन्त्यबाट नेपाल–भारत दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन विस्तारको काम सुरु हुने भएको हो । १५ महिनाअघि मोतिहारी अमलेखगन्ज पाइपलाइन विस्तारको काम सम्पन्न गरेको नेपाल आयल निगमले दोस्रो चरणमा भारत पश्चिम बंगालको सिलगुडी–चारआली (झापा) सम्म पाइपलाइन विस्तार गर्न लागेको हो ।
मोतिहारी–अमलेखगन्ज पाइपलाइनमार्फत नियमितहरूमा डिजेल आयात भइरहेको छ । करिब ५० किलोमिटर लामो पाइपलाइनको करिब ३५ किलोमिटर भाग भारतीय र १५ किलोमिटर नेपाली भूभागमा पर्ने निगमले जानकारी दिएको छ । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तव सहित अन्य सदस्यहरूले हालै सो परियोजनाको स्थलगत अध्ययन गरेका थिए । पाइपलाइन परियोजना अगाडि बढाउनका लागि उनले उपयुक्त भएको सुझाव दिएका थिए ।
निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पाइपलाइन विस्तारका लागि सर्भेको काम सकिएको जानकारी दिए । यसको अवधारणा पारित भइसकेकाले निर्माणको प्रारूप (मोडालिटी) तयार हुने क्रममा रहेको उनको भनाइ छ । झापाको चारआलीमा पाइपलाइनसँगै बोटलिङ प्लान्टसमेत बनाउने निगमको भनाइ छ । यसको लागत कति लाग्ने भनेर अध्ययन भइरहेको निगमको भनाई छ । सो क्षेत्रमा पाइपलाइन विस्तार भए इन्धनको चुहावट नियन्त्रण हुनुका साथै ढुवानी लागत समेत घट्ने निगमको भनाई छ ।
भन्डारणगृह निर्माणका लागि सिलगुढीबाट झापा पाइपलाइन जोड्ने परियोजनाको खाका तयार भइसकेको निगमले जानकारी दिएको छ । यसअन्तर्गतको पाइपलाइन सर्भे कार्य निगम तथा भारतीय आयल कर्पोरेसनबाट संयुक्त हरूमा सम्पन्न भईसकेको छ । चालू आर्थिक वर्षको अन्त्यबाट पाइपलाइन विस्तारको काम थालिने निगमले जानकारी दिएको छ । अमलेखगन्ज मोडालिटीबाटै निर्माण हुने पाइपलाइन करिब १६ महिनाभित्र सम्पन्न गर्ने निगमको लक्ष्य छ ।
पाइपलाइनबाट आयात गरिएको तेललाई भन्डारण गर्नुका साथै प्रदेश १ को मागलाई पूरा गर्ने ४० हजार किलोलिटर क्षमताको इन्धन भन्डारण गृह र ग्यास प्लान्ट बनाउन लागेको निगमले जानकारी दिएको छ । साथै चार हजार टन क्षमताको एलपीजी ग्यासको भण्डारसमेत निर्माण गरिनेछ । यो प्लान्टको एलपी ग्यासले प्रदेश १ लाई ५० दिनसम्म पुग्ने निगमको भनाई छ ।
पाइपलाइन परियोजना तथा एलपीजी भण्डारणका साथै बोटलिङ प्लाण्ट निर्माण गर्ने निगमको योजना अनुसार भन्डारण गृह निर्माण गर्न लागिएको हो । झापामा प्रदेश नंं. १ को मागलाई पूर्ति गर्न ९० दिनलाई पुग्ने गरी भण्डारण परियोजनाकोे कार्य सुरु भएको निगमले जानकारी दिएको छ । साढे २३ विघा जग्गामा पेट्रोलियम भन्डारण तथा ग्यास बोटलिङ पलान्ट निर्माण गर्न लागिएको निगम प्रवक्ता वीनितमणि उपाध्ययले जानकारी दिए ।
एल.पी. ग्यास भण्डारण तथा एल.पी.ग्यास बोटलिङ प्लाण्ट निर्माण गर्न अन्तर्राट्रिय परामर्शदाताबाट नियुक्त गरी अध्ययनको काम भइरहेको निगमले जानकारी दिएको छ । यस्तै, भद्रपुर विमानस्थलमा साना एभिएसन परियोजना अन्तर्गत अत्याधुनिक प्रविधियुक्त ६० हजार लिटर क्षमताको दुई वटा भण्डारणयुक्त टयाङ्कमार्फत रिफ्युलिङ गर्ने पद्धतिको निर्माण कार्य सुरु भइसकेको निगमले जानकारी दिएको छ । रिफ्युलिङ सेवा वैज्ञानिक र प्रभावकारी बनाउन नसक्दा धेरै समस्या भएको थियो । निगमले विभिन्न स्थानमा भन्डारणस्थल निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ । पोखरामा १० हजार किलोलिटर क्षमताको डिजेल भण्डारणस्थल निर्माण प्रक्रिया अगाडि बढाइसकेको निगमले जानकारी दिएको छ । यस्तै चितवनको लोथरमा समेत इन्धन भन्डारणस्थल निर्माण गर्ने तयारी गरिएको निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्