Logo

उचित मुआब्जा पाउनुपर्ने स्थानीयको माग

सुर्खेत विमानस्थल विस्तार


सुर्खेत-सरकारले सुर्खेत विमानस्थल विस्तारका लागि प्रक्रिया अगाडी बढाउँदै गर्दा प्रभावित क्षेत्रका बासिन्दाले भने उचित मुआब्जा नदिए अधिग्रहण गर्न नदिने बताएका छन् ।
सुर्खेत विभानस्थल विस्तार गर्दा प्रभावित हुने वीरेन्द्रनगर १०, ११ र १२ नं. वडाका बासिन्दाले उचित मुआब्जाबारे स्पष्ट निर्णय जनता सामु नआएसम्म विमानस्थल बिस्तारको कुरा अघि नबढ्ने बताएका हुन् । वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १०, ११ र १२ ले संयुक्त रुपमा स्थानीयसँग गरेको एक अन्तरक्रियामा सहभागीले उचित र न्यायोचित मुआब्जाको शर्त अघि सारेका छन् । छलफलमा अमर ज्योती नमूना माध्यामिक विद्यालयको उचित व्यवस्थापन र वर्षौदेखि भोगचलन गर्दै आएका स्थानीयको उचित मुआब्जाको विषयमा स्पष्ट कुरा आउनुपर्नेमा जोड दिएका छन् ।
“मुख्यमन्त्री, प्रमुख जिल्ला अधिकारी, वीरेन्द्रनगर नगरकार्यपालिका र सरोकारवालासँग संयुक्त रुपमा बसेर मात्र यो कुरा अघि बढ्छ र निर्णय हुन्छ”, स्थानीय नागरिक अगुवा बुद्धिप्रसाद सापकोटाले भने, “हामी विकास विरोधी होइनौं, तर तर हामी राज्यसँग आमने सामने शर्तसहित बसेर कुरा अघि बढाउन चाहन्छौं ।” चनौटेका स्थानीय तथा नागरिक अगुवा रामप्रसाद उपाध्यायले १ अर्ब बजेट छुट्याएर विमानस्थल विस्तारको कुरा गर्नु हास्यास्पद भएको बताए । “५ वर्षदेखि विमानस्थल विस्तारको कुरा गर्दै सरकारले जनता तर्साइरहेको छ”, उनले प्रश्न गरे, “मुख्यमन्त्री स्वंय यो बारेमा बेखबर छन् रे, प्रदेश सरकार, नगरपालिका, संघीय सरकार र स्थानीय जनतासँगको सहकार्य नभई कसरी कुरा अघि बढ्छ ?” अर्का नागरिक अगुवा पूर्ण पौडेलले यसअघि विमानस्थल २ सय मिटर विस्तार गर्दा जनतालाई झुक्याएर पीडित बनाइएकाले सरकारप्रति विश्वास नभएको बताए । “पहिला पनि ठूलो जहाज आउँछ भनेर आँखामा छारो हालिएको हो”, उनले भने, “विद्यालयको १ इन्च जमिन नघट्ने गरी पुर्ननिर्माण र जनतालाई चलन चल्तीको दरभाउ भन्दा बढी तथा उचित मुआब्जाको टुंगो नलागेसम्म कुरा अघि बढ्दैन ।”
राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गोविन्द सुवेदीले दीर्घकालिन रुपमा विमानस्थल विस्तारले जनतालाई फाइदा गर्छ र भाडा नेपालगञ्ज सरह हुन्छ भने मात्र यस सम्बन्धि कुरा अघि बढाउन उपयुक्त हुने बताए । अबको १० वर्षपछि अर्को विमानस्थल खोज्नुपर्ने गरी विस्तार गर्न लागिएको भए त्यो जायज नहुने र विस्तारको कुराले पटक पटक तर्साउन नहुने बताए ।
नेवारेका नागरिक अगुवा गोपीलाल ढकाले जनताका भौतिक पूर्वाधार मात्रै होइन, वस्तु–भाउ र बोट विरुवाको पनि उचित हिसाब हुनुपर्ने र मुआब्जाका बारेमा आधिकारीक निकायसँग छलफल हुनुपर्ने माग गरे । स्थानीय श्रीपाल सारुले मुआब्जा दिएर मात्रै नहुने र जनताको न्यायिक व्यवस्थापन हुनुपर्नेमा जोड दिए ।
समाज जागरण केन्द्र स्याकका कार्यकारी निर्देशक तथा अमर ज्योति नमूना माध्यामिक विद्यालयका अध्यक्ष टिकाराम अचार्यले विद्यालय र अमर ज्योति क्याम्पसको उचित व्यवस्थापनको कुरासँगै जनताको उचित मुआब्जा न्यायिक रुपले हुनुपर्ने पहिलो शर्त भएको बताए ।
स्थानीयका कुरा सुनिसकेपछि वडा नम्वर १० का अध्यक्ष रत्नबहादुर बुढाले प्रदेश सरकार नै यसबारेमा बेखबर भएको उल्लेख गर्दै सरकारले छिटो यसबारे निर्णय गर्न र जनताको न्यायिक मुआब्जाको टुंगो लगाउन कदम चाल्ने बताए ।
कार्यक्रममा नागरिक उड्यन कार्यालयका प्रमुख उमेश पन्थीले संघ र प्रदेश सरकारले विमानस्थल विस्तारको गुरुयोजनासहित काम अघि बढाउन १ अर्ब १ करोड बजेट छुट्याएको बताए । उनले उत्तरमा ४ सय ६० मिटर, दक्षिणमा २ सय मिटर सम्म र चौडाई बढाएर १ सय ६० मिटरसम्म बनाउने सरकारको निर्णय भएको बताए । अहिले विमानस्थल १ सयदेखि १ सय ५० मिटरसम्म चौडा छ । दक्षिणमा पनि लाइटिङ्गका लागि २ सय मिटर सम्म अधिग्रहण गरिने प्रमुख पन्थीले बताए ।
“अबको १५ वर्षपछि यो बिमानस्थल विस्तार उपर्युक्त होइन, त्यसैले विस्तार गर्न आवश्यक हो की होइन सरकारले बझ्ने कुरा हो”, “विस्तार गरेर पनि रातिमा जहाज आउ जाउ गर्न सक्दैन र नेपालगञ्ज बराबर भाडा घट्न सम्भव छैन ।”

प्रतिक्रिया दिनुहोस्