अन्तरजातीय विभेद आखिर कहिलेसम्म ? «

अन्तरजातीय विभेद आखिर कहिलेसम्म ?

हाम्रो प्यारो देश नेपाल, जहाँ आफ्नै मौलिकता, रीतिरिवाज, रहनसहन, जीवनशैली, भाषा तथा वेशभूषाले भरिपूर्ण रहेको छ । ४ जात र ३६ वर्णले सजिएको देश हो नेपाल । जलसम्पदा तथा सांस्कृतिक तवरले भरिपूर्ण छ हाम्रो देश ।
यहाँका ताल, झरना, नदी, हिमाल, पर्वत, मठमन्दिर, कैयांै थरीको वनस्पति, जंगली जनावर तथा चरचुरुङ्गीहरू, जसले पर्यटकहरूलाई हाम्रो देशप्रति लाभान्वित तथा आकर्षक बनाउँछ । तर, बाहिरबाट हेर्दा जति आकर्षक देखिन्छ हाम्रो देश भित्रबाट नियालेर हेर्दा र बुझ्दा यसको रहस्य अर्कै देखिन्छ, । अझै भन्नुपर्दा खोक्रो मूल्य र मान्यताले भरिपूर्ण देखिन्छ । भन्नलाई ‘चार जात छत्तीस वर्ण’ को फूलको मालाले भरिएको हाम्रो देश भनिए पनि यहाँ जातीय भेदभाव अझै पनि कायम नै छ । यही जातीय विभेदका कारणले गर्दा पनि राजतन्त्रको समयमा मानिसहरू जंगल पस्न बाध्य भएका थिए र यही विभेदको अन्त्य गर्नका लागि सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने भावनाका कारणले गर्दा देशमा अनेकौं द्वन्द्व भयो र गणतन्त्र पनि प्राप्त गर्न सफल भयो, तर पनि जातीय भेदको अन्त्य भने हुन सकेन ।
प्रत्येक मानिसको घरघरमा हुने गर्छ यो अन्तरजातीय विभेद । र, यस्तो विभेद आखिर कहिलेसम्म ? अझै पनि देशमा छाउपडी, छुवाछूत तथा पुरानो रुढिवादी परम्परा कायम हुनुका साथै यसले समाजमा निम्त्याएको घटना हामीले विभिन्न सामाजिक सञ्जालमार्फत तथा प्रत्यक्ष देख्न र सुन्न सक्छौं । हामी २१ औं शताब्दीमा छांै, तैपनि यहाँ मानिसहरूको सोच जहाँको तहीँ नै छ । त्यसमा पनि अझै महिला हिंसाको त कुरा नै नगरौं, महिला राष्ट्रपति भएको देश भन्नु नै महिलाका लागि एक लज्जास्पद कुरो हो । केही महिनाअघिको मात्र कुरा हो— ‘रुकुम काण्ड’, जहाँ नवराज विक र सुष्मा मल्ल ठकुरीको प्रेमसम्बन्धका कारणले गर्दा नवराज विक र उहाँको ५ जना साथीसहित ६ जनाले अकालमै ज्यान गुमाउनुप-यो । यथार्थ बुझ्न खोज्दा अन्तरजातीय प्रेमसम्बन्धका कारणले गर्दा यस्तो घटना घटेको हो भनेर विभिन्न समाजिक सञ्जालमार्फत देख्न र सुन्नमा आइराखेको थियो र यही विषयलाई लिएर मुद्दा पनि चलिरहेको छ । जातका कारणले यहाँ ६ जनाले आफ्नो ज्यान गुमाउनुप-यो । यही प्रसङ्गसँग सम्बन्धित अर्को घटना हेरौं, जसलाई म आफैंले प्रत्यक्ष देखेकी छु । काठमाडौँ को एक यस्तो ठाउँ, जहाँ तल्लो जातिका मानिसहरूलाई अरूको घरभित्र पस्ने कुरा त परै जाओस्, पसलमा गएर पैसा तिरेर चिया खाएर समेत उनीहरूले आफूले खाएको भाँडा माझेर भिन्दै राखेर आउनुपथ्र्यो । यदि केही कामविशेष परेर वा झुक्किएर छुन परेमा घरमा पस्नुअघि सुनपानी छर्केर, पुरुषले जनै फेरेर तथा नुहाएर मात्र पस्नुपथ्र्यो । यो प्रथा अझै पनि कायम नै छ ।
अझै पनि घरधनीहरू तल्लो जातका मानिसहरूलाई आफ्नो घर भाडामा दिन चाहँदैनन्, किनकि उनीहरूको पानी चल्दैन रे । तर, हामीले खाने गरेको जारको पानी तथा अन्य खाद्यपदार्थहरू के ब्राह्मण र क्षेत्रीहरू मात्र मिलेर उत्पादन गरेका हुन् त ? यी सब सेवन गर्दाचाहिँ स्मरण हँुदैन, जातीय विभेद ? यो कहाँको नियम र मानवीयता हो ? यही मानवीय अपहेलना, अन्तरजातीय विभेद र छुवाछूतजस्तो निन्दनीय व्यवहारका कारणले गर्दा कतिपय मानिसले आफ्नो परम्परादेखि चल्दै आएको हिन्दू धर्म त्यागेर इसाई धर्ममा गएको हामी देख्न सक्छौं, किनकि इसार्ई धर्ममा अन्तरजातीय विभेद हँुदैन । सबै जातिका मानिसलाई समान व्यवहार गरिन्छ । मानिसहरूको यही अभद्र सोच र व्यवहारका कारणले हामी सारा नेपालीहरू हिन्दू धर्मावलम्बी हांै भन्न जिब्रो लर्बराउँछन् । रगत सबैको रातो हुन्छ, हामी सारा नेपाली दाजुभाइ दिदीबहिनी हौँ र सबैले एकअर्काप्रति आदर–सम्मान गर्नुपर्छ भन्ने भावना जबसम्म व्यवहारमा उतार्दैनौं तबसम्म यो प्रक्रिया चलि नै रहन्छ । तर, यो आखिर कहिलेसम्म ?
—रन्जिता गिरी पोख्रेल

प्रतिक्रिया दिनुहोस्