लिखित परीक्षाको मान्यता १८ महिनासम्म «

लिखित परीक्षाको मान्यता १८ महिनासम्म

सवारीचालक अनुमतिपत्र

सवारी चालक अनुमतिपत्र लागि लिखित परीक्षा पास गरेका परीक्षार्थीले अब १८ महिनासम्म ट्रायल परीक्षा दिन पाउने भएका छन् । यसअघि लिखित परीक्षा पास गरेर ट्रायलमा फेल भएका परीक्षार्थीले ९० दिनभित्र २ पटकमात्र ट्रायल दिन पाउने व्यवस्था थियो ।
सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणको लागि लकडाउन गरेपछि लिखित परीक्षा पास भएका तर ट्रायल दिन नपाएका र पहिलोपल्ट ट्रायलमा फेल भएका परीक्षार्थीलाई लाभान्वित हुने गरि यो नियम जारी गर्ने तयारी यातायात विभागले गरेको हो । विभागले यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सैद्धान्तिक सहमति माग गर्दा ९० दिनको समयसीमालाई बढाएर १८ महिना बनाउन सहमति माग गरेको विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले जानकारी दिए । उनले भने, “समय–सीमा बढाउन प्रस्ताव गरेर विभागले मन्त्रालयलाई सैद्धान्तिक सहमतिको लागि पठाएको छ । मन्त्रालयले स्वीकृति प्रदान गरेको खण्डमा ९० दिनको समय सीमा बढेर १८ महिना कायम हुने छ ।”
हाल तीनपटकसम्म पनि ट्रायल पास नभएका परीक्षार्थीले भने पुनः लिखित परीक्षा आवेदन गरेर पूर्ववतः प्रक्रियामा जानुपर्ने व्यवस्था रहेको छ । यसमा भने कुनै परिमार्जन भएको छैन । पहिलोपटक ट्रायल फेल भएका परीक्षार्थी सबैभन्दा बढी लुम्बिनी प्रदेशमा करिब १८ हजार रहेको बताइन्छ । यस्तै, हाल रोकिएको सवारी चालक अनुमतिपत्रको अनलाइन फारम प्रदेशले आवश्यकता अनुसार खुल्ला नीति रहेको यातायात विभागले जनाएको छ । सवारी चालक अनुमति खुल्ला गर्ने विषयमा विभागलाई वारम्वार जनगुनासो आएसँगै बुधबार विभागले सूचना जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्