निजी क्षेत्रको सहकार्यमा जोड «

निजी क्षेत्रको सहकार्यमा जोड


नेपाल उद्योग परिसंघले आर्थिक क्षेत्रमा देखिएका नीतिगत अस्ष्टता हटाउन निजी क्षेत्रको एकता आवश्यक रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीसँगको छलफलमा परिसंघले वितदेखिको सहकार्यले निजी क्षेत्रमा देखा परेका समस्या समाधानका लागि सरकारलाई दवाव दिन पनि सहकार्य जारी राख्नुपर्नेमा जोड दिएको हो ।
परिसंघका अध्यक्ष सतिशकुमार मोरले निजी क्षेत्रको विकास तथा दिगो औद्योगिक विकासको माध्यमबाट आर्थिक वृद्धिदर बढाउन दुवै संस्थाको सहकार्य महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रका समस्या समाधान गर्न उद्योग व्यवसायको प्रवद्र्धन र विकासमा सहकार्य नै पहिलो प्राथमिकतामा रहेको बताए । उनले विगतमा पनि परिसंघसँग सहकार्य गर्दै आएको स्मरण गराउँदै निजी क्षेत्रको सामूहिक भिजन आजको आवश्यकता रहेको र त्यसलाई मूर्तरुप प्रदान गर्न निजी क्षेत्र एक भएर अगाडी बढ्नु पर्नेमा जोड दिए ।
आर्थिक पुनर्उत्थान तथा औद्योगिक विकासको साझा एजेण्डामा दुवै संस्था मिलेर काम गर्नुपर्नेमा अध्यक्ष गोल्छाले जोड दिए । निजी क्षेत्रका संस्थाहरु प्रतिस्पर्धीभन्दा साझेदारको रुपमा भएकाले निजी क्षेत्रबाटै समृद्धि सम्भव छ भन्ने महशुस गराउन सहकार्यलाई थप विस्तार र सुदृढ गर्दै जाने उनले बताए ।
कार्यक्रममा परिसंघ र महासंघका पदाधिकारीले उच्च आर्थिक वृद्धि, रोजगारी विस्तार, निर्यात बढाउने तथा व्यापार घाटा कम गर्ने लगायत निजी क्षेत्रको विकास तथा सम्मान बढाउने एजेण्डामा आपसी सहकार्यले परिणाम दिन सक्ने भएकाले त्यसतर्फ सहकार्य बढाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्