तीन दिनभित्र बिमा दावी भुक्तानी गर्न अर्थ मन्त्रालयको निर्देशन «

तीन दिनभित्र बिमा दावी भुक्तानी गर्न अर्थ मन्त्रालयको निर्देशन

अर्थ मन्त्रालयले कोरोना बिमा मागदाबी तीन दिनभित्र भुक्तानी दिन बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले यसअघि दिएको निर्देशनको पालना नभएपछि पुन निर्देशन दिएको हो ।
मन्त्रालयमा यसअघि कात्तिक १८ गते बसेको बैठकले सात दिनभित्र बिमा दाबी भुक्तानी गर्ने निर्देशन दिएको थियो । मन्त्रालयले हालसम्म न्यून संख्यामा मात्र भुक्तानी भएको र दैनिक प्रगति प्रतिवेदन नियमितरुपमा मन्त्रालयमा प्राप्त नभएको भन्दै असन्तुष्टि जनाएको छ ।
कोरोना बिमा मापदण्ड बमोजिम प्रकया तथा कागजात पूरा भएका दाबीहरुको भुक्तानी ३ दिनभित्र गरेर दैनिक रुपमा जानकारी गराउन पनि मन्त्रालयले निर्देशन दिएको छ । यस्तै भेरिफिकेशन गर्न बाँकी दावीको भेरीफिकेशन यथाशिघ्र सम्पन्न गरी भुक्तानी दिने व्यवस्था मिलाउन मन्त्रालयले बिम कम्पनीहरुको ध्यानाकर्षण गराएको छ ।
यसैगरी कोरोना बिमा दाबी भुक्तानीका सम्बन्धमा विभिन्न बिमा कम्पनीहरुबाट प्राप्त दावी भुक्तानीमा देखिएका समस्या, विभिन्न बिमा कम्पनीमा परेको दावीको अवस्था र र समस्या समाधानका लागि भइरहेको प्रयास र मन्त्रालयले गर्नुपर्ने सहयोष्को अपेक्षाका बारेमा पनि विवरण मन्त्रालयमा पठाउन मन्त्रालयले निर्देशन दिएको छ ।
यसैगरी कोरोना बिमाको हालसम्मको दावी संख्या, कागजात पूरा भएका दावी संख्या, भेरीफिकेशन लागि स्वास्थ सेवा विभागमा पठाएको संख्या, भेरीफिकेशन नभएका वा नक्कली दावीको विवरण, दाबी भुक्तानीको विवरण बुझाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्