अकबरे उत्पादनमा ४० प्रतिशत गिरावट «

अकबरे उत्पादनमा ४० प्रतिशत गिरावट

तेह्रथुम-परम्परागत खेती मास्दै तेह्रथुमका ग्रामिण क्षेत्रका किसानहरु नगदे बाली रोज्न थालेका छन् । पुख्यौली खेतीले जीवन निर्वाह गर्न समस्या भएपछि नगदे बाली रोजेका हुन् । थोरै क्षेत्रफलबाट धेरै आम्दानी लिन सकिने भएपछि यहाँका किसानहरु नगदे बालीतर्फ लाग्न थालेका छन् । नगदे बालीमा पनि अकबरे खेती मुख्य रोजाइमा परेको छ ।
जिल्लाको छथर क्षेत्रका किसानहरु अकबरेबाट राम्रो आम्दानी लिन थालेसँगै यो खेतीमा हौसिएका हुन् । तर, यस वर्ष अधीक वर्षादका कारण अकबरे खेतीबाट किसानले आम्दानी लिन सकेनन् । गत वर्षसम्म राम्रो उत्पादन भएकाले खेतीलाई बिस्तार गरेपनि वर्षाका कारण उत्पादन नहुँदा आम्दानी लिन नसकेको किसानहरु गुनासो छ ।
वर्षाले अकबरेको नर्सरी हुर्काउन समस्या भएको र रोपिएका बिरुवा पनि फस्टाउन नसक्दा नफलेको छथर ६ का शिवमाया खड्काले बताइन् । किसानले १ रोपनीदेखि ३ रोपनीको क्षेत्रफलमा अकबरे खेती गर्दै आएका छन् । बजारको समस्या नभएकाले खेतीबाट परिवार धान्नसमेत टेवा पुगेको छ । परम्परगत रुपमा गर्दै आएको खेतीले खान धौ धौ भएका किसानहरुको जिवनस्तर सुधार भएको छथर अकबरे खुर्सानी कृषक समुहका सचिव लिलम खुलालले बताए ।
परम्परागत खेतीबाट ३ महिनासम्म मात्रै खान पुग्ने किसानहरुले यो खेतीबाट बचत समेत गर्न थालेका छन् । यहाँ उत्पादन भएको अकबरे खरिदका लागि व्यापारीहरु घरैमा आएर लैजाने गरेका छन् ।
छथरको कोसेली अकबरे खुर्सानी बनेको छ । अग्र्यानिक रुपमा किसानहरुले उत्पादन गर्ने गरेका छन् । गत वर्षको तुलनामा यस वर्ष भने ४० प्रतिशतले उत्पादनमा गिरावट भएको कृषि शाखा छथरका प्रमुख हिम थापाले जानकारी दिए ।
गत वर्ष १० रुपैयाँमा बिक्री भएको अकबरे यस वर्ष भने ४ सय ५० रुपैयाँमा बिक्री हुँदै आएको छ । मूल्य राम्रो भएपनि उत्पादनमा गिरावट आउँदा किसानले यस वर्ष आम्दानी गुमाउनु परेको छ ।

प्रतिक्रिया दिनुहोस्