काठ व्यवसायीलाई उद्योग जोगाउनै मुस्किल «

काठ व्यवसायीलाई उद्योग जोगाउनै मुस्किल


सरकारले लामो समयदेखि काठ संकलन तथा ओसारपसारमा कडाइ गरेपछि व्यवसायीलाई काष्ठजन्य उद्योग जोगाउनै मुस्किल पर्न थालेको छ । लामो समयसम्म आफूले राजस्व तिरिसकेको काठसमेत जंगलबाट उठाउन पाएका छैनन् । यसबाट कच्चा पदार्थको अभाव भइ काष्ठजन्य उद्योग जोगाउन मुस्किल भएको उनीहरूले बताएका हुन् । यस्ता उद्योगको मुख्य कच्चा पदार्थको रूपमा रहेको काठ अभावसँगै उद्योग कसरी जोगाउने भन्ने चिन्तामा उनीहरू छन् ।
जेठ १५ को मन्त्रिपरिषद्ले देशका विभिन्न वन क्षेत्रमा साल लगायतका विभिन्न रुखहरू कटान, संकलन, ढुवानी तथा ओसारपसार गर्ने कार्य वन क्षेत्रको दुरूपयोग हुने गरी अनियमितता भइरहेको भन्दै नेपालभित्रका सम्पूर्ण वन क्षेत्रमा साललगायत विभिन्न रुखहरू कटान गर्ने, संकलन, ढुवानी र ओसारपसार गर्ने कार्य तत्कालै रोक्ने निर्णय गरेको थियो । वन क्षेत्रमा भइरहेका अनियमितता, प्राकृतिक स्रोत–साधनको व्यवस्थापन, वैज्ञानिक वन व्यवस्थापनको नतिजा लगायत विषयमा अध्ययन गर्न सरकारद्वारा गठन गरिएको उच्चस्तरीय समितिले भदौ २७ गते प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो । असोज ११ गतेको मन्त्रिपरिषद्ले पनि उच्चस्तरीय समितिको प्रतिवेदनले औल्याएका विषयमा मन्त्रालयबाट कार्यान्वयन गर्ने, वन मन्त्रालयको समन्वयमा विभिन्न निकाय वा संस्थाहरूबाट गर्नुपर्ने कार्यहरू मन्त्रिपरिषद्लाई जानकारी गराई मन्त्रालयबाट सम्पादन गर्ने निर्णय गरेको छ । छानबीन समितिले वैज्ञानिक वन व्यवस्थापनअन्तर्गत देशभरका सामुदायिक र साझेदारी वनमा काटिएका सालका काठको बिक्री साधारणसभाबाट निर्णय गराएर खुलाउन सुझाव दिएको छ भने कटान–मुछान र घाटगद्दी भइसकेका वा हुन बाँकी रहेका, बिक्री भएर पनि उठाउन रोकिएका सबै काठ साधारणसभाबाट निर्णय गराई विक्रीवितरण वा ओसार–पसार गर्न भनेको छ । तर छानबिन समितीले दिएको सुझाव कार्यन्वयन हुन सकेको छैन ।
लामो समयसम्म काठ संकलन, बिक्री वितरण तथा ओसारपसारमा लगाइएको प्रतिबन्ध नखुलाउँदा आफूले राजस्व बुझाएको काठ सडिरहेको भन्दै काठ व्यवसायीले आक्रोस व्याक्त गरेका छन् । काठमा लगाईएको प्रतिबन्ध नखुलाउँदा बजारमा काठको अभाव त छदै छ, काठजन्य उद्योगमा गरिएको निजी क्षेत्रको लगानी पनि डुब्ने अवस्था छ । नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका अनुसार हालसम्म ५ हजारभन्दा बढी वन उद्योगमा निजी क्षेत्रको करिब ८६ अर्ब रुपैयाँ लगानी छ ।

प्रतिक्रिया दिनुहोस्