सरकारको प्राथमिकतामा स्वदेशी लगानी «

सरकारको प्राथमिकतामा स्वदेशी लगानी


सरकारले आन्तरिक लगानी प्रवद्र्धन गरी रोजगारीका अवसर सिर्जना गर्ने गरी काम गर्ने भएको छ । पहिलो प्राथिमकतामा आन्तरिक लगानी प्रवद्र्धन गर्ने र विकल्प हुन नसकेमा मात्रै विदेशी लगानीको अपेक्षा गर्ने सरकारको भनाइ छ । एक साताअघि प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशको लगानी स्वदेशमै गर्न व्यवसायीहरूलाई आग्रह गरेका थिए । बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पनि आन्तरिक लगानी प्रोत्साहन गर्ने गरी निजी क्षेत्रसँग सहकार्य गर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले आवश्यक ऐन कानुनको सुधार गरेर भए पनि दिन मिल्नेसम्मको सुविधा आन्तरिक लगानीलाई दिने बताएका थिए । उनले आन्तरिक लगानी दीगो र विश्वसनीय हुने भन्दै व्यवसायीहरूलाई स्वदेशमै रोजगारी उत्पादन र उत्पादकत्व बढाउने गरी काम गर्न आग्रह गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूसँगको भेटमा मन्त्री भट्टले वैदेशिक लगानीभन्दा आन्तरिक लगानीलाई प्रोत्साहन गर्नेगरी काम गरिने स्पष्ट पारेका हुन् । जटिल परिस्थितिमा आन्तरिक लगानीको महत्व अन्य समयको तुलनामा धेरै हुने भन्दै सरकारका तर्फबाट निजी क्षेत्रलाई हौसला दिने काम भएको उनको भनाइ छ ।
कोभिड १९ महामारीपछिको परिस्थितिमा लगानी बढाई रोजगारी सिर्जना गर्ने सन्दर्भमा सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुको विकल्प नभएको मन्त्री भट्टले बताएका छन् । कोभिडका समयमा धेरै रोजगारी गुमेको छ भने केही उद्योग व्यवसाय आंशीक रूपमा मात्रै चलेका छन् । केही उद्योग व्यवसाय बन्द छन् । महासंघका अध्यक्ष शेखर गोल्छाले अहिलेको स्थितिमा कतिपय उद्योगमा मजदुरहरूले बन्द हडताल गरिरहेको भन्दै त्यसलाई रोक्न पहल गरिदिन मन्त्री भट्टसमक्ष माग गरेका छन् । कोभिडले समस्या थपिरहेका बेला मजदुरले पनि हड्ताल गर्दा थप समस्या भएको उको भनाइ थियो । उद्योग मन्त्रालयले निर्देशन जारी गरेर भएपनि बन्द हडताल रोक्नुपर्ने माग अध्यक्ष गोल्छाले मन्त्री भट्टसँग गरेका छन् ।
उद्योगी व्यवसायीहरूले साना तथा मझौला उद्योगहरूले पुनर्कर्जाको सुविधा पाउन नसकेको उनलेबताएका छन् । यस्तै पुनर्तालिकीकरणमा समेत समस्या देखिएकोले त्यस्ता समस्या समाधानमा मन्त्रालयले पहल गर्नुपर्ने उद्योगीहरूले बताए । बजेट तथा मौद्रिक नीतिमा उल्लेख भएका व्यवस्था तत्काल कार्यान्वयनमा लैजान पनि उद्योगी व्यवसायीहरूको माग गरेका छन् । उद्योगीलाइ दिने भनिएका सुविधा पनि नपाउँदा कोभिडको समयमा थप समस्या भएको उनीहरूको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्