कर्णाली र लुम्बिनी प्रदेशमा भेन्टिलेटर र सुरक्षा सामग्री वितरणसँगै दोस्रो चरणको देशव्यापी वितरण कार्य सम्पन्न «

कर्णाली र लुम्बिनी प्रदेशमा भेन्टिलेटर र सुरक्षा सामग्री वितरणसँगै दोस्रो चरणको देशव्यापी वितरण कार्य सम्पन्न

वीरेन्द्रनगर-कोका—कोला र नेपाल रेडक्रस सोसाइटी नेरेसो को साझेदारीअन्तर्गत कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, कोभिड बिरामी र स्वयंसेवकहरूको सुरक्षा अभिवृद्धिका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत, वीरेन्द्रनगर, रक्तसञ्चार केन्द्र र स्वयंसेवकहरूलाई सुरक्षा सामग्री तथा उपकरण हस्तान्तरण आज वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसर काठमाडौंबाट मंसिर पहिलो साता सुरु गरेको यो दोस्रो चरणको वितरण अभियान मंगलबार सम्पन्न भएको छ ।
कर्णाली प्रदेश मुख्यालयमा हस्तान्तरण गरिएका सामग्रीमा १६ लाख ३२ हजार ८ सय ५० रुपैयाँ मूल्यको आईसीयूमा प्रयोग हुने एक भेन्टिलेटरका साथै ६ हजार सर्जिकल मास्क, २५०० जोडी सर्जिकल पन्जा, ५० थान सुरक्षा पोशाक, केएन ९५ मास्क २०० थान र २५ थान सुरक्षा चस्मा रहेका छन् । ती सामग्रीहरूको जम्मा मूल्य १९ लाख ६५ हजार २ सय रुपैयाँ छ ।
मंगलबार नेरेसो र कोका—कोलाबाट उपलब्ध गराईएको सामग्रीहरू कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक विकासमन्त्री दल रावल, सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौडेल, नेरेसोका केन्द्रीय कार्यबाहक अध्यक्ष सर्मिला कार्की, कोषाध्यक्ष सीताराम कोइराला, केन्द्रीय सदस्य खेमराज केसी, प्रदेश समिति अध्यक्ष भेषबहादुर थापा, सञ्चार विभागका निर्देशक दिब्यराज पौडेल, स्वास्थ्य सेवा विभागका उपनिर्देशक शिवराम गौतम लगायतको उपस्थितिमा नेरेसो सुर्खेत शाखाका सभापति रामलाल आचार्यले अस्पताल निर्देशक डा. डम्बर खड्का र अस्पताल विकास समितिका अध्यक्ष श्यामलाल कँडेललाई एक कार्यक्रमकाबीच हस्तान्तरण गरे ।
यसअघि हिजो नेपालगञ्जमा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ र नेरेसोका महामन्त्री पिताम्बर अर्यालको उपस्थितिमा भेरी अञ्चल अस्पतालमा सामग्री वितरण गरिएको थियो । त्यस्तै सुदूर पश्चिमका मुख्य मन्त्री त्रिलोचन भट्ट र महामन्त्री पिताम्बर अर्यालको उपस्थितिमा आइतबार धनगढीमा सेती प्राविधिक अस्पताललाई सामग्री हस्तान्तरण गरिएको वितरण अभियानमा संलग्न नेरेसोका निर्देशक दिव्यराज पौडेलले जानकारी दिए । उनले भने, “सरकारको सहयोगी भूमिकालाई रेडक्रसले साझेदारीमार्फत देशभर सबल बनाउँदै छ ।”
भरतपुर अस्पताल, चितवन, कोसी अस्पताल मोरङ, नारायणी उपक्षेत्रीय अस्पताल पर्सा, पोखरा स्वास्थ्य विज्ञान अस्पताल कास्की, भेरी अञ्चल अस्पताल बाँके, कर्णाली प्रदेश अस्पताल ुर्खेत र सेती प्राविधिक अस्पताल कैलालीमा भेन्टिलेटर सहित सुरक्षा सामग्री हस्तान्तरण गरिएको दोस्रो चरणको सामग्री वितरण कार्यक्रममा नेपाल रेडक्रसबाट उच्च महत्व दिई कार्यवहाक अध्यक्ष शर्मीला कार्की, महामन्त्री पिताम्बर अर्याल, कोषाध्यक्ष सीताराम कोइराला, उपकोषाध्यक्ष होम पाठक तथा केन्द्रीय सदस्यहरूले विभिन्न स्थानमा सामग्री हस्तान्तरण अभियानमा सरिक थिए ।
नेपाल रेडक्रस र कोका—कोला नेपालको यो साझेदारी केन्द्रीय स्तरमा मात्र नभई प्रदेश र जिल्ला तहमा पुग्न पाएकोमा खुसी व्यक्त गर्दै नेपाल रेडक्रसका केन्द्रीय उपाध्यक्ष सर्मिला कार्कीले भने, “संस्थालाई सुदृढ बनाउन र सरकार सँगसँगै हातेमालो गरी कार्यक्रम गर्न हामी प्रतिबद्ध छौं । संस्थालाई थप पारदर्शी, जिम्मेवार र सहभागितामूलक बनाउन रेडक्रसका विभिन्न निकायसँगको अन्तरक्रियालाई पनि हामी साथसाथै अघि बढाइरहेका छौं ।”
नेपाल रेडक्रस र कोका–कोलाको साझेदारीमा हस्तान्तरण गरिएका सामग्रीहरूको कुल मूल्य १ करोड ५७ लाख सात ७ सय ७० रहेको छ । साझेदारीअन्तर्गत नेपाल रेडक्रसका रक्त सञ्चार सेवाका ४ सय प्राविधिक र स्वास्थ्य कर्मचारीहरू, २ सय ४७ एम्बुलेन्स चालक पनि यो लाभान्वित भएका सञ्चार निर्देशक पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्