‘अन्य देशमा कोरोना भ्याक्सिन प्रयोगमा आउने बित्तिकै नेपालमा पनि उपलब्ध गराउँछौं : डा. खेम कार्की «

‘अन्य देशमा कोरोना भ्याक्सिन प्रयोगमा आउने बित्तिकै नेपालमा पनि उपलब्ध गराउँछौं : डा. खेम कार्की

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम र प्रगति गरेको दाबी गरेका छन् ।
उनले विश्वमा कोरोनाविरुद्धको भ्याक्सिन प्रयोगमा आउनेबित्तिकै नेपालमा पनि उपलब्ध गराइने विश्वास दिलाए । उनले भने, ‘अरू देशका नागरिकले कोरोनाविरुद्धको भ्याक्सिन लगाउने बित्तिकै नेपाली नागरिकले पनि लगाउने गरी हामीले तयारी थालेका छौं ।’
डा. कार्कीले कोभिड–१९ संक्रमणदर नेपालमा घटेको दाबी गरे । उनले विश्वका कतिपय देशमा संक्रमणको दोस्रो लहर देखिएको सुनाउँदै नेपालमा पनि त्यो खतरा रहेको सुनाए ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. कार्कीले नेपालमा संक्रमणको दर घट्नु भनेको खुसीको कुरा भएको जनाए । उनले भने, ‘सेकेन्ड वेभ आयो भने कसरी हामी जुध्ने भनेर दरिलो तयारी गर्नुपर्छ । हुन त कोभिड हामी सबैको लागि नयाँ कुरा भयो, अहिले कोरोना आएको पनि एक वर्ष पुग्न लाग्यो, यसबारेमा अझै धेरै जानकारी छैन । उपचारको सवालमा सरकारले क्षमता अभिवृद्धि गरिरहेको छ । सरकारले ६ हजार एचडियु निर्माणको लागि देशभरि पैसा पठाएका छौं ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले कोडिभको उपचारका लागि सरकारले यथेष्ट बेड पनि छुट्याएको सुनाए । यसअघि १५ सय ९५ आईसीयु बेड रहेकोमा अहिले २६ सय बेड फंक्सनमा रहेको पनि उनले जानकारी दिए । डा. कार्कीले भने, ‘अहिले हामीले भेन्टिलेटर बढाएका छौं । अक्सिनको सवालमा, सि–प्याब र बाई–प्यावको व्यवस्था भैराखेको छ । सेकेन्ड वेभ आयो भने त्यसलाई धान्नेगरि हामीले अस्पताल प्रणाली र उपचार प्रणाली व्यवस्था गरिरहेका छौं ।’ अस्पताललगायतका भौतिक संरचना निर्माणका साथै दक्ष जनशक्तिको लागि पनि सरकारले विशेष ध्यान दिएको उनको भनाइ छ । उनले भने, ‘एचडियु, सि–प्याब, बाई–प्याबका लागि २ सय ५० प्लस डाक्टरहरुलाई तालिम दिने काम भएको छ ।’
उनले सरकारले ३ सय ९६ वटा आधारभूत अस्पतालको यही मंसिर १५ गते शिलान्यास गरिसकेको जनाउँदै यो महत्वपूर्ण उपलब्धि भएको सुनाए । उनले भने, ‘हामीले आधारभूत अस्पतालको शिलान्यास मात्रै गरेका छैनौं, चाहिने बजेटको पनि सुनिश्चितता गरेका छौं । दुई वर्षभित्र सबै अस्पताल बन्छन् । यसका लागि करिब ५८ अर्ब बजेट पठाइएको छ ।’ त्यस्तै, रोग नियन्त्रण केन्द्र निर्माणका लागि पनि कानून बनाउने प्रक्रियाको थालनी गरिएको कार्कीको भनाइ छ । त्यस्तै, मास्क र पिपिई क्वालिटीको मात्रै उपलब्ध गराउने र अस्पतालहरुलाई पनि आईएसओ, एफिलिएसन र एक्रिडिएशन दिने चलन नभएको सुनाउँदै अब गुणस्तरी बनाउनको लागि पनि प्रत्यांग प्राधिकरण स्थापनाको थालनी गरिएको उनले सुनाए ।
भौतिक संरचना बनाउने काममात्रै नभएर सरकारले दक्ष जनशक्तिका लागि पनि आवश्यक कदम चालेको कार्कीले जनाए । उनले भने, ‘यसका लागि सरकारले ठूलो लगानी गर्दैछ । दक्ष जनशक्तिलाई दुर्गममा गएर सेवा दिनका लागि हामीले प्रोत्साहन गरिराखेका छौं ।

प्रतिक्रिया दिनुहोस्