आन्तरिक पर्यटक आकर्षित गर्न विभिन्न प्याकेज «

आन्तरिक पर्यटक आकर्षित गर्न विभिन्न प्याकेज

कोभिड–१९ ले बाह्य पर्यटक आगमन बन्द हुँदा नेपालको पर्यटन उद्योग चलायमान हुन सकेका छैनन् । नेपालको पर्यटन क्षेत्रमा करिब डेढ खर्ब रुपैयाँ लगानी रहेको नेपाल पर्यटन बोर्डले बताएको छ । यससँग आबद्ध करिब १० लाखले रोजगारी पाउने गरेकोमा कोभिडका कारण सो लगानी र रोजगारी जोखिममा रहेको छ । यही समयमा लाखांैले रोजगारी गुमाएका छन् भने अर्बौं रुपैयाँ पर्यटन क्षेत्रका लगानीकर्ताले बेहोरिरहेका छन् । कोभिड–१९ को रोकथामका लागि सरकारले ०७६ चैत ११ देखि गरेको लकडाउनका कारण पर्यटन क्षेत्र थप धराशायी भयो । करिब ६ महिना अगाडिदेखि बन्द रहेको पर्यटन क्षेत्र, होटल, एयरलाइन्सले विस्तारै गति लिन थालेका छन् । आन्तरिक पर्यटकलाई नै जोड दिएर अर्थतन्त्र चलायमान बनाई पर्यटन उद्योगलाई चलायमान बनाउनुपर्ने बताउँदै आएको सरकारले देश दर्शन कार्यक्रम सार्वजनिक गरेको छ । साथै आन्तरिक पर्यटकलाई आकर्षित गर्न एयरलाइन्स, होटल र नेपाल पर्यटन बोर्डले विभिन्न कार्यक्रम ल्याएका छन् भने ल्याउने क्रममा रहेका छन् । यसै क्रममा होटल, सरकार र एयरलाइन्सले के आन्तरिक पर्यटकलाई आकर्षित गर्न के–कस्तो तयारी गरेका छन् भने नेपाल पर्यटन बोर्डका निर्देशक मनि लामिछाने, होटल संघ नेपाल पोखरा च्याप्टरका अध्यक्ष विकल तुलाचन र यति एयरलाइन्सका हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलासँग कारोबारले गरेको कुराकानीको सार :

देश दर्शन कार्यक्रममार्फत आन्तरिक पर्यटनमा जोड दिएका छौं
मनि लामिछाने
निर्देशक-सहप्रवक्ता, नेपाल पर्यटन बोर्ड

आन्तरिक पर्यटकीय गतिविधि बढाउनका लागि नेपाल पर्यटन बोर्डले काम गरिरहेको छ । आन्तरिक पर्यटक पनि नेपालको पर्यटन बजारका लागि स्रोत हो र यसको स्रोत पहिचान गर्नुपर्छ भन्ने अभिप्रायले बोर्डले विगत र वर्तमानमा अझ परिष्कृत तवरले काम गर्दै आएका छौं । कोभिड–१९ को अनिश्चितता कायमै रहेसम्म आन्तरिक पर्यटनबाट नै पर्यटन क्षेत्रको पुनरुत्थान गर्नुपर्ने भएकाले देश दर्शनको अभियान ल्याइएको हो । आन्तरिक पर्यटकलाई भ्रमणमा अभिप्रेरित गर्ने योजनासहित बोर्डले ‘देश दर्शन’ कार्यक्रम अगाडि सारेको हो । २६ सेप्टेम्बरमा लन्च गरिएको सो कार्यक्रमलाई देशभरिबाट नै सहभागी गराउनका लागि ७ प्रदेशमा डोमेस्टिक टुरिजम रिभाइबल कमिटी गठन गरिएको छ । सो कमिटीमा पर्यटन क्षेत्रका जानकार र सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको छ । सातै प्रदेशको सो कमिटीले त्यहाँ रहेको पर्यटकीय गन्तव्यको विकास गर्न र आन्तरिक पर्यटकको विकासका लागि रायसहितको प्रतिवेदन पेस गर्नेछ । साथै सो कमिटीले टुर प्याकेज बनाएर बोर्डमा पेस गर्नेछन् । जसले तत्काल पर्यटन क्षेत्रमा पर्यटक आपूर्तिका लागि आन्तरिक पर्यटकलाई घुम्नका लागि अभिप्रेरित गर्नेछ भने बोर्डले त्यो प्याकेजलाई थप परिष्कृत गरी लागू गर्न मन्त्रालयबाट स्वीकृत गरेर लागू गर्नेछ । बजेटमार्फत आन्तरिक पर्यटन प्रवद्र्धन गरी सिथिल पर्यटन क्षेत्रलाई पुनर्जागृत गर्न कोरोनाको जोखिम न्यूनीकरण भएसँगै राष्ट्रय सेवक, संगठित संस्था र निजी क्षेत्रका कर्मचारीलाई देश दर्शन गर्न प्रोत्साहित गरिनेछ । कोभिड–१९ ले थलिएको नेपालको पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटनले पर्यटन उद्योगलाई बचाइराख्न मद्दत पुग्ने विश्वास लिएको छ । करिब ७० लाख नेपाली पेसा–व्यवसायमा रहेको र त्यसमध्ये १७ लाख घुम्नका लागि निस्किनेछन् र ५ देखि ७ दिनको प्याकेज बनाउँदा सोबाट ५३ अर्ब रुपैयाँको कारोबार हुने अनुमान बोर्डको छ । साथै ५० हजारसम्म अधिकतम आयकारमा छुट दिने योजना रहेको छ ।
अभियानमा उद्योग व्यवसाय, सबै निकाय र तहका कर्मचारीलाई देश दर्शनमा पठाउने गरी तयारी गरेको र यसले पर्यटन र अर्थतन्त्रमा ठूलो टेवा पुग्नेछ, जसले घुमफिरमा प्रेरित गर्नेछ । पर्यटन क्षेत्रको पुनरुत्थानका लागि योगदान दिनका लागि कार्यदलले काम गर्नेछ । यस्तो कार्यक्रमले पर्यटन क्षेत्रलाई लयमा ल्याउन बोर्ड र कार्यदलले काम गर्नेछ । साथै सरकारले साप्ताहिक रूपमा दुई दिन बिदा दिएर आन्तरिक पर्यटकीय गतिविधि बढाउनका लागि पनि काम गरिरहेको अवस्था छ । कोभिड–१९ का कारण थलिएको पर्यटन क्षेत्रलाई लयमा फर्काउन ‘देश दर्शन’ अभियान फलदायी हुनेछ ।
शिथिल भएको पर्यटन क्षेत्रलाई चलायमान बनाउनका लागि तीनै तहको सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट प्याकेजका कार्यक्रमले देशभरका पर्यटकीय गन्तव्यको पहिचान हुनेछ ।
कोभिड–१९ महामारीका बीचमा नेपालको पर्यटन पुनरुत्थानका लागि सकारात्मक, सक्रिय र परिणाममुखी कार्यक्रम लागू गर्न बोर्डले पर्यटन क्षेत्रका सबै सरोकावाला निकायसँगको समन्वयमा आन्तरिक पर्यटकलाई आकर्षक प्याकेज तयार गर्न लागिपरेको छ । यसले गर्दा विभिन्न कारणले बाह्य पर्यटक आगमनमा कमी हुँदा पनि पर्यटन उद्योगलाई बचाइराख्न सहयोग पुग्ने विश्वास लिएको छ ।

नीतिगत कार्यान्वयनमा जोड दिनुपर्दछ
विकल तुलाचन
अध्यक्ष, होटल संघ नेपाल (पोखरा च्याप्टर)

पोखरा आफैंमा पर्यटकीय नगरी हो । कोभिड–१९ का कारण करिब ६ महिना लकडाउनका कारण पर्यटकीय गतिविधिमा पूर्ण रूपमा बन्देज लागेको थियो । सरकारले असोजबाट केही खुकुलो गरी पर्यटकीय गन्तव्य खुला गरेसँगै आन्तरिक पर्यटकको चहलपहल बढेर गएको छ । स्वास्थ्य सुरक्षा अपनाएर हामीले पर्यटकीय गन्तव्य सुचारु गरेका छौं । सुरुका दिनमा पर्यटकीय चहलपहल १० देखि १५ प्रतिशतमा सीमित रहेको भए पनि त्यसपछिको दसैं र तिहारका कारण आन्तरिक पर्यटकीय चहलपहल बढेर गयो । लकडाउन खुलेपछि सुरुका दिनमा पोखरालाई गेट वे बनाएर बाहिरिनेको संख्या बढी भए पनि पछिल्लो समय घुम्नका लागि पोखरा आउने ट्रेन बढेको छ । खास गरी २५ देखि ५० वर्षका आन्तरिक पर्यटकको चहलपहल हुने गरेको छ । घुम्नका लागि निजी सवारी भएका युवावर्गको नै बाहुल्य रहेको छ । लकडाउनपछि करिब ६० प्रतिशत व्यवसाय सञ्चालनमा आएका छन् भने अन्य व्यवसाय भने बन्द वा पलायन भएको मानिन्छ । तर, पर्यटकीय गतिविधिले गति लिएसँगै सो व्यवसाय पनि क्रमिक रूपले विस्तार र सञ्चालनमा आउने विश्वास लिएका छौं । भारतीय बोर्डर बन्द र बाह्य पर्यटक आउने अवस्था नभएको अवस्थामा आन्तरिक पर्यटकले भए पनि व्यवसायलाई चलायमान बनाउनका लागि टेवा पुगेको छ । हामीले यो विषम परिस्थितिमा ठूलो आशा र अपेक्षा राखेका पनि छैनौं, व्यवसाय धान्नु र निरन्तरता दिनु नै अहिलेको आवश्यकता हो । होटल व्यवसाय भने करिब २० प्रतिशत कर्मचारीमात्र रहेर चलेको छ । बाह्य पर्यटक र भारतबाट पनि पर्यटक आउन सहज भएपछि मात्र पर्यटकीय गतिविधि पूर्ण रूपमा सञ्चालनमा आउने विश्वास लिएका छौं । सरकारले नेपाल–भारत उडान गर्ने निर्णय पनि गरेको छ । तेस्रो मुलुकका पर्यटक आएको अवस्था छैन । सरकारले हिमाल आरोहण र पदयात्राका लागि बढी जोड दिएको अवस्था छ ।
भारतबाट पोखरा आउने पर्यटकको चासो बढदै गएको छ । उडान र बोर्डर खुला गरेपछि भारतीय र आन्तरिक पर्यटकले पनि शिथिल बनेको पर्यटन क्षेत्रलाई एक हदसम्म भए पनि अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्नेछ । सोहीअनुसार पोखराका पर्यटन व्यवसायीहरूले सेवा प्रवाह गर्नका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सेवा प्रदान गर्नेछन् । सेवा पर्यटकहरू पनि स्वास्थ्य सुरक्षामा सजग हुन जरुरी छ । पर्यटक आकर्षित गर्नका लागि होटलहरूले आकर्षक प्याकेज ल्याएका छन् । उनीहरूले ४० देखि ५० प्रतिशतसम्म छुट प्रदान गरेका छन् । पोखरामा आएर पर्यटकीय गतिविधि गर्ने प्याराग्लाइडिङमा ५० प्रतिशत, अल्ट्रालाइट, यातायात, बन्जी, टुर ट्राभलले पनि छुट प्रदान गरेको अवस्था छ । हुल नहुने, सस्तो, आकर्षक प्याकेज भएकाले गर्दा पोखरा घुम्न चाहनेका लागि यो उपयुक्त समय हो । स्वास्थ्य सुरक्षाका सबै किसिमका सावधानी, मापदण्ड अपनाएकाले घुम्न सहज छ । अंग्रेजी नयाँ वर्षको स्वागतमा पनि पर्यटकका लागि थप सुविधा प्रदान गर्नेछन् ।
पोखरा आसपासमा रहेका होटल, रेस्टुराँ, बार, प्याराग्लाइडिङ, डुंगा, साइट सिन गर्नेको संख्या बढि नै रहेको छ । नेपालको पर्यटन बजारमा साहसिक पर्यटनका रूपमा पनि पोखरा विकसित हुँदै, हब बन्दै गएकाले पनि आन्तरिक र बाह्य दुवै पर्यटकका लागि पोखरा रोजाइमा पर्ने गरेको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर चलाउनुपर्ने हुनाले पूर्ण क्षमतामा चल्न त सकेको छैन, तर विस्तार नै पर्यटकीय गतिविधि बढेर गएकाले गर्दा यसलाई सकारात्मक रूपमा लिनुपर्छ । पर्यटक क्षेत्रलाई दिगो बनाउनका लागि पनि व्यवसायी मात्र नभईकन कर्मचारीलाई पनि थप सेवा–सुविधा दिनसकेको खण्डमा यो क्षेत्रबाट हुने पलायनलाई रोक्न सकिन्थ्यो । संघ, प्रदेश सरकारले बजेटमार्फत दिने आर्थिक पुनरुत्थानका लागि ल्याएका प्याकेजहरूबाट लाभ हासिल गर्न सकिएको छैन । त्यसतर्फ कार्यान्वयन गर्न सरकारले ध्यान दिनुपर्छ । साना तथा मझौला उद्योग तथा मजदुरलाई बचाउनका लागि सरकारले ल्याएका आर्थिक प्याकेजको पूर्ण रूपमा कार्यान्वयन गरेर अगाडि बढाउनुपर्छ । पर्यटन क्षेत्रका कामदारलाई सरकारले तत्काल वैकल्पिक पेसा व्यवसायमा संलग्न गराएर पलायन हुनबाट बचाउनुप¥यो । कोभिड–१९ को विषम परिस्थितिमा थलिएको पर्यटन क्षेत्रलाई सरकारले लिने करदेखि आधारभूत सेवामा छुट प्रदान गर्नका लागि माग राख्दै आएका छौं । नीतिगत रूपमा आएका कार्यक्रमलाई सरकारले पूर्ण रूपमा लागू गर्दै पर्यटन क्षेत्रको उत्थानमा जोड दिनुपर्छ ।

पर्यटक गतिविधि बढाउन थप प्याकेज ल्याउँछौं
सुदर्शन बर्तौला
यती एयरलाइन्स, हवाई सुरक्षा प्रमुख तथा प्रवक्ता
यती एयरलाइन्स-तारा एयर

कोभिड–१९ को महामारीमा हामी बाँचौं र बचाऊँ भन्ने ध्येयका साथ मात्र उडान गरिरहेका छौं । एयरलाइन्सले अहिले गरिरहेको उडानबाट कुनै नाफा छैन, पर्यटन गतिविधि बढाएर अर्थतन्त्र चलायमान बनाउनका लागि मात्र सस्तो दरमा उडान गरिरहेका हौं । यही एयर फियरमा सस्टेन हुने अवस्था छैन, अहिलेको हवाई फियरमा सर्भाइबल हुनका लागि मात्र उडान गरिरहेको हो । सरकारले केही समयका लागि बैंकको ब्याजमा जरिवाना नलाग्ने जस्ता कुराले पनि हामीले एकदमै अपरेसन कस्ट धान्ने गरेर मात्र उडान गरेका हौं । हामीहरूको सेवा–सुविधामा पनि कटौती गरेको अवस्थाले गर्दा पनि अपरेसन कस्ट कम गर्दै उडानमा एकदमै सस्तो फियर दिएका हौं । यदि कर्मचारीलाई पूर्ण तलब दिने, अपरेसन कस्टमा कुनै पनि कटौती नगर्ने हो भने यो फियरमा कुनै पनि हालतमा १ हजार थप नगरी उडान गर्न सकिने अवस्था छैन । अर्थतन्त्र चलायमान बनाउनका लागि मात्र हामीले यो सस्तो दरमा उडान भरिरहेका छौं । थोरै जनशक्ति र अपरेसन कस्ट कम गरेर उडान गरेकाले यो सम्भव भएको हो । यो सधैं सम्भव पनि छैन र केही समयपछि यो दरमा वृद्धि हुन्छ ।
हामीले २२औँ वार्षिकोत्सव मनाउने क्रममा आन्तरिक पर्यटन गतिविधि बढाउन यात्रुहरूका लागि विभिन्न प्याकेज र अफरहरू घोषणा गरेका थियौं । आन्तरिक पर्यटक प्रवद्र्धनका लागि एयरलाइन्सले प्याकेजहरू ल्याएको हो । आन्तरिक पर्यटकीय गतिविधि बढाउन केही समयअगाडि विभिन्न गन्तव्यका लागि न्यूनतम मूल्यका आकर्षक भ्रमण प्याकेज ल्याएका थियांै । तर, आममानिसमा कोभिड–१९ को त्रास कम नभएकाले गर्दा त्यो प्याकेज त्यति उत्साहप्रद रहेन । अर्काे भनेको हामीले घुम्न ल्याएका गन्तव्यमा हाल चिसो अत्यधिक बढेकाले त्यो सोचेअनुसारको फलदायी पनि भएन । यति हुँदाहुँदै पनि करिब ३ सय ७५ प्याकेज बिक्री भएका छन् । घुम्न जानेको संख्या र माहोल विस्तारै बढिरहेको छ । यस्ता प्याकेजले पर्यटन गतिविधि बढाउनका लागि मद्दत भने गरेको छ । प्याकेज नलिएर स्वविवेकले आफैं घुम्न गएको संख्या धेरै नै रहेको छ । लो हवाई फियरले आन्तरिक पर्यटकको गतिविधिमा ठूलो भूमिका खेल्यो, साथै ६ महिनादेखि थलिएको पर्यटन र अर्थतन्त्रलाई मानिसहरूको आवतजावतले केही हदसम्म चलायमान बनायो । रारा, पोखरा, एभरेस्टमा प्याकेजको माग बढिरहेको थियो । पछिल्लो समय पोखराको माग धेरै रहेको अवस्था छ । आन्तरिक पर्यटन गतिविधि बढाउनका लागि हामीले प्याकेज बनाएका थियौं र थप बनाउने क्रममा छौं । तत्काल यही अवस्थामा बाह्य पर्यटकको आगमन दर खासै नहुने भएकाले गर्दा आन्तरिक पर्यटकका गतिविधि बढाउन होटल पर्यटक गन्तव्यसँगको सहकार्यमा प्याकेज तयार गर्नेछौं । पर्यटन क्षेत्र, पर्यटन गतिविधि नबढेसम्म एयरलाइन्सको बिजनेसमा वृद्धि नहुने भएकाले हामी आन्तरिक पर्यटकीय गतिविधि बढाउनका लागि लागिपरेका छौं । नेपाली पर्यटकलाई लक्षित गरेर नै पछिल्लो समय माउन्टेन फ्लाइटको प्याकेज ल्याएका छौं, जसमा एउटा टिकट किन्दा एउटा टिकट सित्तैमा प्याकेज ल्याएका छौं ।
आगामी मंसिर २० (डिसेम्बर ५) बाट पर्वतीय उडान (माउन्टेन फ्लाइट) पुनः सुरु गर्ने भएका छौं । उच्च सतर्कता अपनाएर सुपथ मूल्यमा उडान सुरु गर्न लागेका हौं ।
एक उडान गर्न तयारी गरेको भए पनि माग बढेकाले गर्दा दुई उडान गर्ने तयारीमा छौं । ‘गाउँदै नेपाली गाथा, हेरौं आफ्नै सगरमाथा’ भन्ने मूल नाराका साथै पर्वतीय उडान गर्न लागेको यतीले नेपाली यात्रुहरू र नेपालमा बसोबास गर्ने विदेशी तथा भारतीय नागरिकका लागि छुट्टाछुट्टै उडान प्याकेज घोषणा गरेका छौं । यसअन्तर्गत यात्रुले झ्यालको एउटा टिकट किन्दा सँगै रहेको सिटको अर्को टिकट निःशुल्क प्राप्त गर्नेछन् । सस्तो तथा सुरक्षित हवाई उडान र कोभिड–१९ को त्रास कम भएकाले यो प्याकेजको आकर्षण बढेर गएको छ । नेपाल–भारत उडान खुल्ने क्रममा छ । यसले पनि पर्यटक गतिविधि बढाएर लानेछ भने अर्कातर्फ प्रदेश उडान गर्ने तयारीमा रहेका छौं । आन्तरिक उडान संख्या बढेर गएको छ, हवाई उडानमा जोखिम कम भएकाले गर्दा पनि आन्तरिक उडानमा यात्रु र उडान बढेर गएको छ । कोभिड–१९ को महामारीमा र यो समयमा यो संख्यामा उडान हुनु भनेको सकारात्मक हो । पोखरा र विराटनगरमा यात्रुको संख्या बढिरहेको छ । हवाई उडानमा ९० प्रतिशत अकुपेन्सी हुनु भनेको सकारात्मक हो । हवाई शुल्क कम भएपछि हवाई यात्रुको संख्यामा वृद्धि हुँदै गएको हो । हवाई उडान क्रमिक रूपमा बढिरहेको छ । आन्तरिक पर्यटकलाई थप चलायमान बनाउनका लागि हामी अझ गृहकार्य गरिरहेका छौं ।

प्रतिक्रिया दिनुहोस्