कर्णालीमा १ लाख मेट्रिकटन धान उत्पादन «

कर्णालीमा १ लाख मेट्रिकटन धान उत्पादन

जुम्ला-कर्णाली प्रदेशमा गत वर्षको तुलनामा धान उत्पादनमा ५ प्रतिशतले वृद्धि भएको छ । कर्णालीमा १० देखि २० प्रतिशतसम्म धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएपनि अघिल्लो वर्षभन्दा ५ प्रतिशत मात्रै धान उत्पादन बढेको हो । सरकारी तथ्यांकअनुसार यस वर्ष कर्णालीमा १ लाख २० हजार ९ सय ७१ मेट्रिक टन धान उत्पादन भएको छ । यो उत्पादन अघिल्लो वर्षको भन्दा झण्डै साढे पाँच प्रतिशतले बढी हो ।
समयमै मनसुन सुरु भएका कारण धानको उत्पादन बढेको कृषि विज्ञहरुले बताएका छन् । कर्णालीका सबै जिल्लामा समयमै पानी र सिँचाइको पहुँच पुगेपछि किसानले समयमै धान रोप्न पाएकै कारण उत्पादनमा वृद्धि भएको कृषि विज्ञ लक्षिराम महतले बताए ।
यस वर्ष २० प्रतिशत वृद्धि भएर धान उत्पादन हुने लक्ष्य पूरा नहुनुमा रासायनिक मलको अभाव र सलह कीराको प्रकोप नै मुख्य कारण रहेको उनको भनाइ छ । प्रायः कर्णालीका सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुम पश्चिमका केही क्षेत्रमा रासायनिक मल प्रयोग गरिन्छ । माथिल्लो कर्णालीमा प्रांगारिक मलनै प्रयोग हुन्छ । तर धान रोप्ने र गोडमेल गर्ने समयमा पनि रासायनिक मल नपाउँदा उत्पादन लक्ष्य अनुसार नभएको हो ।
कृषि विकास निर्देशनालयको तथ्यांक अनुसार यस वर्ष सुर्खेतमा ४२ हजार ८ सय ३ मेट्रिकटन धान उत्पादन भएको छ भने, जुम्लामा २ हजार ९ सय मेट्रिकटन धान उत्पादन भएको छ । यस्तै रुकुम पश्चिममा ८ हजार ९ सय ७६ मेट्रिकटन, सल्यानमा २८ हजार ९ सय, दैलेखमा ४ हजार ४ सय ४९ र जाजरकोटमा १० हजार ६ सय ६५ मेट्रिक टन धान उत्पादन भएको छ । डोल्पामा ६ सय ५, कालीकोटमा ९ हजार ४ सय ८९, मुगुमा ७ हजार ५ सय ७६ र हुम्लामा ७ सय ९० मेट्रिक टन धान उत्पादन भएको छ ।
उत्पादनमा केही सुधार भए पनि कर्णालीका ६ जिल्लाले भने खाद्य संस्थानकै चामलमा निर्भर हुनुपर्ने देखिएको छ । यो वर्ष पनि जाजरकोट, डोल्पा, हुम्ला, मुगु, कालीकोट र जुम्लाबासी खाद्य संस्थानकै चामलमा निर्भर हुनुपर्ने भएको छ । हो । सिँचाइको अभाव र हिमाली जिल्ला भएका कारण ६ जिल्लामा धान उत्पादन न्यून हुन्छ । कर्णालीमा वार्षिक २३ हजार ४ सय २० मेट्रिकटन खाद्यान्न अपुग हुन्छ । निर्देशनालयको तथ्यांकअनुसार प्रदेशको कुल खाद्यान्न आवश्यकता ३ लाख ५० हजार ९ सय ९८ मध्ये वार्षिक ३ लाख २७ हजार ५ सय ७८ मेट्रिकटन मात्र उत्पादन हुन्छ ।

प्रतिक्रिया दिनुहोस्