नेपाल–भारत हवाई उडानको सन्देश «

नेपाल–भारत हवाई उडानको सन्देश

स्वास्थ्य मापदण्ड पूरा गरेर सुरक्षित मुलुकका अन्तर्राष्ट्रिय नियमित व्यावसायिक उडान खोल्दै जाने क्रममा हाल काठमाडौं तथा दिल्लीबीचको हवाई सेवा खोल्ने तयारी भएको हो ।

कोरोना कहरका कारण बन्द रहेको अन्तर्राष्ट्रिय व्यावसायिक उडान बिस्तारै खुल्न थालेका छन् । सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ बाट लकडाउन गरेसँगै नेपाल प्रवेश गर्ने सबै नियमित व्यावसायिक उडानमा चैत ९ देखि नै रोक लगाएको थियो । हाल कोरोना संक्रमण कम भएसँगै अन्य मुलुकका लागि सरकारले भदौ १६ मा अन्तर्राष्ट्रिय व्यावसायिक उडान खुला गरेको छ । सरकारले हवाई यात्रा गर्ने यात्रुले ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने अनिवार्य नियम लगाएर हाल अन्तर्राष्ट्रिय नियमित व्यावसायिक उडान खोल्दै गएको हो । तर, हालसम्म अन्य अन्तर्राष्ट्रिय सुरक्षित गन्तव्यमा उडान गर्न अनुमति दिए पनि सरकारले भारत, बंगलादेश तथा थाइल्यान्डसँग भने नियमित व्यावसायिक उडानको अनुमति दिएको थिएन । स्वास्थ्य मापदण्ड पूरा गरेर सुरक्षित मुलुकका अन्तर्राष्ट्रिय नियमित व्यावसायिक उडान खोल्दै जाने क्रममा हाल काठमाडौं तथा दिल्लीबीचको हवाई सेवा खोल्ने तयारी भएको हो । सरकारले आवश्यक तयारी गरेर आउने दुई सातामा दुई देशबीच व्यावसायिक उडान खुला गर्ने तयारी गरे पनि कहिले खुल्ने भन्ने यकिन मिति तोकेको छैन । मन्त्रिपरिषद्ले उडान खुला गर्ने निर्णय गरेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय यसमा गृहकार्य गरिरहेको छ । गत बुधबार नै बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल–भारत व्यावसायिक उडान सुरु गर्ने निर्णय गरेको भए तापनि नेपालको हवाईसेवाको नियामक निकाय नेपाल उड्डयन प्राधिकरण तथा भारतको हवाईसेवाको नियामक निकायबीच हवाई सुरक्षासम्बन्धी एकआपसमा सहकार्य मिलेपछि मात्रै नेपाल भारतबीच हवाई सेवा सुरु हुनेछ । यसरी दुई देशका नियामक निकायका साथै विमान कम्पनीको आन्तरिक गृहकार्य तयारी पूरा भएपछि उडान सुरु हुँदा मंसिर ३० गतेदेखि हवाई उडान सुरु हुन सक्ने अन्दाज गरिएको छ । भारतले कूटनीतिक माध्यमबाट एयर–बबल मोडलमा उडान गर्ने प्रस्ताव पठाएपछि मन्त्रिपरिषद्ले सो प्रस्तावअनुरूप संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसमा तयारी सुरु गरेको हो । भारतले दक्षिण एसियाका अफगानिस्तान, भुटान तथा माल्दिभ्सलगायत १६ देशसँग एयर–बबल सम्झौता नै गरिसकेको छ भने नेपालसँग पनि सम्झौता गर्न प्रस्ताव गरिसकेको छ । हाल नेपालसँग एयर–बबल सम्झौता नै नभए तापनि एयर–बबल मोडालिटीअन्तर्गत नै उडान सुरु गरिनेछ । यसरी एयर–बबल मोडालिटीअन्तर्गत हुने नियमित व्यावसायिक उडानमा नेपाल र भारतका नागरिकले मात्र उडान यात्रा अनुमति पाउनेछन् । सोबाहेकका नागरिकले उडान अनुमति पाउनेछैनन् । यस्तै, कूटनीतिक नियोगका लागि उडान भर्ने देशको अध्यागमन विभागबाट उडान यात्राको अनुमति स्वीकृत गरेपछि मात्र सो नागरिकले उडान गर्न पाउनेछन् ।
तत्कालको परिस्थिति हेरेर हाल सरकारले भने नेपाल वायु सेवा निगमको एक उडान र भारतका तर्फबाट एयर इन्डियाले एक उडान गर्ने तयारी गरिएको छ । यसरी हाल सुरुवातमा दैनिक २ उडान मात्र हुनेछन् । नेपालले नयाँ दिल्ली, मुम्बई तथा बैंगलोर नियमित व्यावसायिक उडान गरिरहेकोमा हाल पहिलो चरणमा नयाँ दिल्लीमात्र उडान हुनेछ । मन्त्रिपरिषद् बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई भारतसहित सबै मुलुकमा उडान सुरु गर्न अनुमति दिएकाले हाल भारतसँगको नियमित व्यावसायिक उडान सुरु गर्ने, त्यसपछि मात्रै बंगलादेश तथा थाइल्यान्डसँगको हवाईसेवा सुरु गर्ने तयारी मन्त्रालयले गरेको छ । सरकारले यसअघि कोभिड–१९ का कारण काठमाडौंमा उडान भर्ने सीमित विमान कम्पनीलाई अनुमति प्रदान गरेकोमा पछि विमान कम्पनीको उडान मागका आधारमा उडान अनुमति माग गरेको विमान कम्पनीलाई उडान भर्न अनुमति प्रदान गर्ने निर्णय गरेको थियो । तर, कोरोना कहरअगाडि दैनिक आन्तरिक र बाह्य गरेर करिब ४ सय उडान अवतरण हुने गरेकोमा पछिल्लो समय १ सय ८५ को हाराहारीमा मात्र उडान अवतरण हुने गरेको छ । त्यसमा पनि आन्तरिक उडानको संख्या वृद्धि हुँदै गएको छ, तर कोरोना संक्रमणका कारण बाह्य उडान संख्या भने घट्ने क्रममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्