ठमेलका व्यवसायी सडकमा

कोभिड–१९ का जोखिमका कारण आठ महिनादेखि रात्रिकालीन व्यवसायहरू प्रायः ठप्प भएपछि ठमेल क्षेत्रका व्यवसायीहरू सडकमा उत्रिएका छन् । बुधबार काठमाडौंको ठमेलस्थित त्रिदेवीमार्गमा ठमेल क्षेत्रका व्यवसायीहरू रात्रिकालीन व्यवसायहरू सुरक्षाको मापदण्ड अपनाई सञ्चालन गर्न दिन माग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका हुन् ।
पर्यटन विकास परिषद् र ठमेल रात्रिकालीन व्यवसायी उपसमितिले संयुक्त रूपमा शन्तिपूर्ण आन्दोलन गरेका हुन् । कोरोना संक्रमणको जोखिमका कारण सरकारले गत चैत ११ बाट लकडाउन गरेसँगै रात्रिकालीन व्यवसायहरू पूर्ण रूपमा बन्द छ । सरकारले विभिन्न किसिमका पर्यटन व्यवसायहरू क्रमिक रूपमा स्वास्थ्य मापदण्ड अपनाई सुचारु गर्न दिए पनि रात्रिकालीन व्यवसायहरू लाउन्ज बार, डिस्को, डान्स बार, दोहोरी, गजल लगायतका व्यवसाय भने अझै खोल्न दिएको छैन् । तर, ती क्षेत्रका व्यवसायीहरूले भने आठ महिना यता व्यवसाय पूर्ण रूपमा बन्द हुदाँ घरभाडा, बैंकको व्याज लगायतका तिर्न गाह्रो भएको गुनासो गर्दै तत्काल व्यवसायी सुचारु गर्न दिन सरकारसँग माग गरेका छन् ।
परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले आठ महिनाभन्दा लामो समयदेखि व्यवसाय ठप्प हुँदा रोगले भन्दा भोगले मर्ने अवस्था आएको बताए । उनले तत्काल व्यवसाय सञ्चालन गर्न नसके व्यवसायीहरू विस्थापित हुने अवस्था आउने भन्दै पहिले कै अवस्थामा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिन माग गरे । यता, बुधबार नै दोहोरी साँझ तथा रात्रिकालीन व्यवसाय सञ्चालन तथा व्यवस्थापन समितिले समेत रात्रिकालीन व्यवसायहरू सुरक्षाको मापदण्ड अपनाएर सञ्चालन गर्न पाउनुपर्ने भन्दै धर्ना दिएका छन् । उनीहरूले जिल्ला प्रशासन कार्यालय काठमाडौमा धर्ना दिएका हुन् ।