पक्की पुल बन्ने रकम बेलिब्रिजमै खर्च «

पक्की पुल बन्ने रकम बेलिब्रिजमै खर्च

गाईघाट–दिक्तेल सडकअन्तर्गत उदयपुर र खोटाङको सिमानामा रहेको सुनकोसी नदीमा पक्की पुल निर्माण हुने रकम बेलिब्रिजमै खर्च भइसकेको छ । विगत चार वर्षयता बर्सेनि बेलिब्रिज लगाउँदै जाँदा पक्कीपुल निर्माण हुने रकम बेलिब्रिजमा खर्च भएको हो । पुस महिनादेखि जेठ महिनासम्मका लागि लगाउने गरिएको बेलिब्रिजमा हरेक वर्ष ७५ देखि ८० लाख रुपैयाँ खर्च हुँदै आएको छ ।
उदयपुर र खोटाङको सिमाना फोक्सिङटारस्थित सुनकोसी नदीमा पक्की पुल निर्माण नहुँदा चौथो वर्ष पनि बेलिब्रिज लगाइएको गाईघाट–दिक्तेल सडक आयोजनाका इन्जिनियर कमलप्रसाद यादवले बताए । “हिउँदमा बेलिब्रिज लगाउन र वर्षायाममा खोल्न प्रत्येक वर्ष ७५ लाख रुपैयाँभन्दा बढी खर्च हुँदै आएको छ,” उनले भने, “यस हिसाबले अहिलेसम्म ३ करोडभन्दा बढी रुपैयाँ खर्च भइसकेको छ ।” तीन वर्षअघि नै पक्की पुल निर्माणको ठेक्का लागे पनि प्राविधिक त्रुटिका नाममा ठेकेदार कम्पनीले काममा गरेको ढिलाइले एकातिर खर्च बढ्दै गएको र यात्रुहरू बेलिब्रिजमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको उनले बताए ।
“पुल निर्माण नहुँदा वार्षिक ७५ लाखभन्दा बढी रुपैयाँ बेलिब्रिजमा खर्च भइरहेको छ,” गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख हरि पोखरेलले भने, “पुलको डिजाइन नै परिवर्तन गर्नु परेकाले ठेकेदारले समयमै काम गर्न नसक्दा सालन्य खर्च गर्नु परेको हो ।” समयमै पुल निर्माणको काम सक्न ठेकेदारलाई पत्राचार गरिरहेको उनले बताए ।
करिब १८ करोड रुपैयाँ लागतमा २०७३ चैत मसान्तसम्ममा कामसक्ने गरी २०७० सालमा गौरी–पार्वती वाइपी जेभीले पुल निर्माणको जिम्मा लिएको थियो । पक्की पुलको डिजाइनमा त्रुटि भएको भन्दै निर्माण कम्पनीले समयसीमा सकिँदा पनि काम नगरेको हो । पहिलेको डिजाइन परिवर्तन गरी हाल १२० मिटर लम्बाइ रहने आर्क प्रविधिको पुल निर्माणको काम सुरु गरिएको निर्माण कम्पनीले जनाएको छ ।
“अब तीव्र गतिमा काम हुन्छ,” पूर्वीपुल योजना सेक्टर–१, पुल महाशाखाका इन्जिनियर मनिष पोखरेलले भने, “पुलको डिजाइनमा समस्या भएका कारण अहिलेसम्म निर्माणकार्य अवरुद्ध भएको छ ।” अब आर्क प्रविधिको पुल बनाउने तयारी भएर फाउन्डेसनको काम सुरु भइसकेको उनले जानकारी दिए । यस वर्ष फाउन्डेसनको काम सक्ने र अर्को वर्षबाट स्ट्रक्चरको काम सुरु गर्ने उनको भनाइ छ ।
पुल डिजाइनमा भएको लापरबाहीले एकातिर सरकारको ठूलो धनराशी बेलिब्रिजमा खर्च हँुदै आएको छ भने अर्कातिर सर्वसाधारणले सास्ती पाएका छन् । प्रविधि फेरिएर अहिले सुरु भएको काममा पनि ढिलाइ हुँदै जाने हो भने पुल बन्नेभन्दा बढी रकम बेलिब्रिजमै सकिने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्