विश्वकै ठूलो उपभोक्ता बजारमा चीनले अमेरिकालाई छिट्टै उछिन्ने «

विश्वकै ठूलो उपभोक्ता बजारमा चीनले अमेरिकालाई छिट्टै उछिन्ने

बेइजिङ-चीनको उपभोक्ता बजार अमेरिकाको हाराहारीमा पुग्न लागेको र छिट्टै विश्वकै ठूलो हुने चीनको एक वरिष्ठ आर्थिक योजना एजेन्सीका अधिकारीले बताएका छन् ।
“चीनको खुद्रा बिक्री २०१९ मा पहिलो पटक ४०० खर्ब युआन पुगेको थियो । यो आकार २०१५ को तुलनामा ४२ प्रतिशत भन्दा बढी हो । यो सहित चीनको उपभोक्ता बजारले अमेरिकालाई उछिन्दै विश्वकै ठूलो ह्ुने छ,”नेशनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसनका उप प्रमुख लियान विलियाङले बताए ।
आगामी पाँच वर्षको अवधिमा उच्च गुणस्तरको बजार प्रणाली निर्माणका लागि चिनियाँ अर्थतन्त्रले चीनको विशाल बजारको लाभ लिनुपर्ने उनले थपे ।
विगत १२ महिनाको अवधिमा कोरोना महामारीले विश्वभरीको खुद्रा बिक्रीलाई प्रभावित पारेको छ । यो समयमा उपभोक्ताहरुले सावधानी अपनाउदै आएका छन् र उनीहरुले खर्च पनि कटौती गरेका छन् । यसले लाखौ मानिसहरु बेरोजगार बनेका छन् ।
अक्टोबरमा अमेरिका–चीन दुवै मुलुकले खुद्रा बिक्रीमा आ–आफ्नो वृद्धि अपेक्षा पुरा गर्न सकेका थिएनन् । तर चीनले भने खुद्रा बिक्रीमा राम्रो लाभ हासिल गरेको छ । चीनमा खुद्रा बिक्री ४.३ प्रतिशत र अमेरिकामा ०.३ प्रतिशतको वृद्धि भएको छ ।
नोभेम्बरमा महत्वपूर्ण बिदाको समय पर्ने भएकाले खुद्रा बिक्रीले गती लिने अपेक्षा गरिएको थियो । यो वर्ष ब्ल्याक फ्राइडेले उपभोक्ता खर्चको अर्को कीर्तिमान कायम गरेको थियो । यो बिदामा उपभोक्ता खर्च ९ अर्ब डलर पुगेको थियो । अमेरिकाको अर्को बढी बिक्री हुने पर्व साइबर मन्डेमा पनि १२.७ अर्ब डलरको बिक्री भएको थियो । यद्यपि यी दुवैको बिक्री चीनको सिंगल्स डेको भन्दा धेरै कम रहेको थियो । सिंगल्स डेमा ११५ अर्ब डलरको बिक्री भएको थियो ।
२०१९ मा कोरोना महामारी सुरु हुुनुपूर्व चीनको उपभोक्ता बजार अमेरिकाको भन्दा केवल २०० अर्ब डलर पछि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्