कृषि कर्मका लागि मोफसलसम्म ! «

कृषि कर्मका लागि मोफसलसम्म !

झापा-पछिल्लो समय अधिकांश युवाको रोजाइमा शहर पर्छ । गाउँ छाडेर शहर पस्ने युवाको संख्या बढेसँगै गाउँघरका खेतबारी बाँझो हुनु सामान्य नै भइसकेको छ । यति हुँदाहुँदै पनि धेरै जनसंख्या कृषिमै निर्भर छ । मोफसलमा रहेका युवाहरु केही व्यवसाय गर्नुपरे राजधानी रोज्छन् । तर, झापाको ग्रामिण भेगमा अवस्थित गौरीगञ्ज गाउँपालिकामा ४ युवाले व्यावसायिक माछा पालन सुरु गरेका छन् । स्थायी घर काठमाडौं रहेका उनीहरुले मोफसलमा अवसर देखेर व्यवसाय सुरु गरेको बताउँछन् ।
काठमाडौंका सागर न्यौपाने, सर्वकल्याण कँडेल, फडिन्द्र पाण्डे, धर्मप्रसाद पन्तले व्यवसाय सुरु गरेका हुन् । ६ वर्षअघि नेचुरल फिस एण्ड मिट सेन्टर सञ्चालनमा ल्याएका उनीहरुले पंघास र कार्प जातका माछा लगायका छन् । गौरीगञ्ज गाउँपालिका–३ मा १५ विगाहमा २७ वटा पोखरी निर्माण गरी व्यवसाय सुरु गरेपनि उत्पादित माछाले बजार पाउन नसकेको सञ्चालक न्यौपानेले बताए । माछा बिक्रीका लागि झापा, मोरङ र सुनासरीका बजार पु-याउने गरेको न्यौपाने बताउँछन् । बजारमा विषादी हालेको भारतीय माछा न्यून मूल्यमा खुलेआम बिक्री हुने गरेकाले पनि माछाले बजार अभाव झेल्नु पर्ने न्यौपानेको भनाइ छ ।
भुरा नहुँदा खाली हुँदै माछा पोखरी
कोरोना महामारी सुरु भएसँगै माछा पालक कृषकले भुरा अभावसमेत झेल्नु परेको न्यौपानेको भनाइ छ । “हामीलाई वार्षिक १२ लाख भुरा आवश्यक पर्छ” न्यौपानेले भने, “कोरोना कहरले गत वर्षको चैतयता ३ लाख मात्र भुरा उपलब्ध भयो ।” भुरा नभएकै कारण २७ वटा पोखरीमध्ये ७ वटा मात्र पोखरीमा माछा हालेको न्यौपानेले बताए । “दोस्रो मुलुकबाट भुरा आयात गर्नका लागि नेपालको कानुनी प्रक्रिया झन्झटिलो छ” न्यौपाने भन्छन्, “लकडाउन सुरु भएपछि भने व्यापारीले भुरा आयात नगर्दा त्यसको प्रत्यक्ष मार कृषकलाई परेको छ ।” व्यापारीले भारतबाट भुरा ल्याउने र आफूहरुले व्यापारीबाट किन्ने गरेको उनी बताउँछन् । पोखरी निर्माण विस्तार गरी व्यवसाय बढाउने योजना बनाए पनि बजार र भुरा अभावले तत्कालाई स्थगित गरिएको छ ।
जिल्लामा माछाको भुरा उपलब्ध नहुँदा भारतबाट भुरा ल्याउनु पर्ने अवस्था छ । अधिकांश किसानले भारतबाट माछाको भुरा ल्याउने गरेको मत्स्य विकास अधिकृत प्रदीपकुमार श्रेष्ठले बताए । “झापाको भद्रपुरमा ह्याचरी खुल्न लागेको छ” श्रेष्ठले भने, “त्यसबाट किसानलाई सहयोग पुग्छ । भुरा अभावले जिल्लाका धेरै माछा पोखरी खाली हुँदै गएको मत्स्य अधिकृत श्रेष्ठ बताउँछन् ।
लकडाउनका कारण माछाका लागि आवश्यक दानासमेत सहज रुपमा उपलब्ध नहँुदा नेचुरल फिस एण्ड मिट सेन्टर सञ्चालक मर्कामा छन् । “नेपालमा गुणस्तरीय दाना पाइँदैन, भारतबाट ल्याउँदा पछिल्लो समय दानामा भएको मूल्य वृद्धि झन्झटिलो आयात प्रक्रिया समस्या थपेको छ” न्यौपानेले बताए । फार्मका सबै पोखरीमा माछा हुँदा प्रतिदिन न्यूनतम १ टनसम्म दाना आवश्यक पर्दछ । झापामा कार्प जातका रहँु, नैनी, भाकुर, कमनकार्प, सिल्भरकार्प, बिगहेड, ग्रासकार्पसँगै पंघास, तिलापिया जातका माछा पाल्ने गरिएको छ । झापामा ३ सय ७ हेक्टर जलाशय क्षेत्रमा माछापालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्