निकासी २ खर्ब पु-याउने योजना आवश्यक «

निकासी २ खर्ब पु-याउने योजना आवश्यक


मुलुकको निर्यात व्यापार एक खर्ब पुग्न नसकिरहेका बेला नेपाल निर्यात व्यवसायी महासंघले वार्षिक निकासी २ खर्ब पु-याउने लक्ष्यसहित कार्यक्रम तर्जुमा गर्नुपर्ने माग गरेको छ । महासंघ अध्यक्ष तथा प्रदेश सांसद रामबहादुर गुरुङले निकासी लक्ष्य वार्षिक २ खर्ब पु-याउन योजनावद्ध तरिकाले अगाडि बढ्नुपर्ने बताए । नेपाल उद्योग बाणिज्य महासंघको नवनिर्वाचित कार्यकारिणी समितिका पदाधिकारी एवं वस्तुगततर्फका सदस्यहरुलाई सम्मान गर्दै गुरुङले निकासी क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न पनि आग्रह गरे ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पनि देशको अर्थतन्त्र दिनप्रतिदिन आयातमुखी भइरहेको भन्दै निर्यातलाई प्रमुख इन्जनका रुपमा विस्तार गर्ने गरी कार्ययोजना बनाउने जनाए । अध्यक्ष शेखर गोल्छाले निर्यात व्यवसायलाई अर्थतन्त्रको प्रमुख इञ्जिनका रुपमा विकास गर्ने बताएका हुन् । उनले पदभार गरेदेखि सय दिनभित्र निर्यात क्षेत्र र यस विषयमा स्पष्ट खाका ल्याउने पनि बताएका छन् । निर्यातजन्य उद्योग व्यवसायको कस्ट अफ फण्ड (लागत) घटाउने विषयमा सरकारसँग महासंघले पहल गर्ने बताए । निर्यात व्यवसायमा सरकारबाट अनुदान कम भएकाले पनि निर्यात प्रवद्र्धनमा समस्या देखिएको भन्दै यसमा नयाँ कार्यसमितिले तदारुकताका साथ काम गर्ने उनको भनाइ थियो ।
हालसम्म अर्थतन्त्रको मेरुदण्डको रुपमा विप्रेषण मात्र रहेको र कुनै पनि बेला कमी आउँदा देशको अर्थतन्त्र नै भत्किने सम्भावना भएकाले निर्यातका क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने निजी क्षेत्रको बुझाइ छ ।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत व्यवस्थामा रहेको कमजोरीका कारण निर्यातलाई प्रवद्र्धन गर्न नसकेको बताए । अहिलेभन्दा ३० वर्ष पहिला नेपालको निर्यातको अवस्था आयातको तुलनामा धेरै नै राम्रो भएकोमा अहिले क्रमशः घट्दै गएकोले पनि समस्या देखिएको भन्दै उनले नेपाली उत्पादनको बजार प्रर्याप्त भएपनि नीतिगत कठिनाइका कारण अप्ठेरो परेकाले सुधारका लागि सरकारसँग पहल गर्ने बताए । महासंघका वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठले २५० वर्षअघि नै नेपालको वैदेशिक व्यापारसम्बन्धी बेत्रावती सम्झौता भए पनि अहिलेसम्म निकासी क्षेत्रले गति लिन नसकेको बताए । जिल्लानगर उपाध्यक्ष दिनेश श्रेष्ठले साना मझौला उद्योगको समस्या निकासी व्यापारसम्म जोडिने भएकाले वृहत अवधारणा बनाएर अगाडि बढ्नुपर्ने बताए । त्यसैगरी एशोसिएट उपाध्यक्ष रामचन्द्र संघईले परम्परागत वस्तुसँगै निकासीका नयाँ सम्भावना र बजार खोज्नुपर्ने धारणा राखेका छन् ।
निर्यात व्यवसायी महासंघले उद्योग वाणिज्य निर्वाचनअघि दुवै समूहसँग छुट्टाछुट्टै छलफल गरी निर्यात क्षेत्रका पक्षमा काम गर्ने प्रतिवद्धता माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्