चार वर्षदेखि विवादमा स्वास्थ्य चौकी भवन «

चार वर्षदेखि विवादमा स्वास्थ्य चौकी भवन

स्थानीयबिच सहमति जुट्न नसकेपछि जिल्लाको धम्जामा निर्माण हुने भनेको स्थास्थ्य चौकी भवन अलपत्र परेको छ । चार वर्ष बितिसक्दा पनि भवन कहाँ बनाउने भन्ने विषयमा स्थानीय विभाजित छन् ।
पुरानो स्ववाथ्य चौकी रहेको धम्जा देउरालीमा नयाँ भवन निर्माण गर्नुपर्ने एकथरिको माग छ भने सबैलाई केन्द्र पर्ने ठाउँमा सार्नुपर्ने अर्कोथरीको माग छ । स्थानीयको आपसी असमझदारीका कारण चार वर्षदेखि भवन निर्माण कार्य अलपत्र पर्दै आएको काठेखोला गाउँपालिका–३ का वडाध्यक्ष यामबहादुर श्रीषले बताए ।
“नयाँ भवन बनेर पनि स्वास्थ्य सेवा लिन पाउने दिन भइसक्यो, तर सहमति जुटाउन सकेका छैनौं,” अध्यक्ष श्रीषले भने । लामो समयदेखि विवादमा रहेको निर्माणस्थलको नापजाँचका क्रममा भवन डिभिजन कार्यालय बागलुङले एकतर्फी कुरा सुनेर जबर्जस्ती गरेको आरोप श्रीषले लागाए । “विवादको टुंगो लाग्ने चरणमा रहेका बेला पुरानो स्वास्थ्य चौकी रहेको जमिन नापजाँच गरेर भवन डिभिजनले जबर्जस्ती गर्न खोजेपछि स्थानीय आक्रोशित छन्” श्रीषले भने ।
भवन निर्माणको लागि जग्गा नापजाँच गर्न आउँदा स्वास्थ्य चौकी व्यवस्थापन समितिको अध्यक्षसमेत रहेको आफूलाई गाउँबाहिर रहेको बेला पारेर रातको समयमा आएर एकाबिहानै डिभिजनका इन्जिनियरहरूको टोलीले नापजाँच गरेको श्रीषको आरोप छ । सरकारले निर्माण गर्न लागेको भवनको विषयमा विवाद भएपछि मन्त्रिपरिषद् बैठकमा समेत विवाद पुगेको र मन्त्रिपरिषद् बैठकले स्थानीयलाई पायक पर्ने गरी निर्णय गर्नु भनेर पत्राचार गरेको श्रीषले बताए ।
“हामीले मन्त्रालयको पत्र पाएपछि वडा तहमा सहमति गरेर निर्णय गर्नका लागि गाउँपालिकामा पठाएका थियौं,” श्रीषले भने, “गाउँपालिकाको बैठक बसेर निर्णय गर्ने बेला जबर्जस्ती जग्गाको नापजाँच गरियो ।” उनका अनुसार देउरालीका बासिन्दा साविकको ठाउँमा भवन निर्माण हुनुपर्ने पक्षमा छन् भने अन्य धम्जाको सायाकटेरामा नयाँ भवन बन्नुपर्ने पक्षमा रहेका छन् ।
यता, भवन डिभिजन कार्यालयले भने स्वास्थ्य सेवा विभाग र जिल्ला स्वास्थ्य कार्यालयको पत्रका आधारमा आफूहरूले काम गरेको जनाएको छ । २०७३ साल असार २० गते विभागबाट प्राप्त पत्र र २०७३ साल चैत ३० गते जिल्ला स्वास्थ्य कार्यालयबाट प्राप्त पत्रका आधारमा साविकको ठाउँमा नै नयाँ भवन निर्माण गर्ने गरी नापजाँच गरेको डिभिजन कार्यालय बागलुङका नायब सुब्बा बद्री गौतमले बताए । नापजाँचको लागि जाँदा स्वास्थ्य चौकी व्यवस्थापन समिति, स्वाथ्यचौकी इन्चार्ज र गाउँपालिकाका कार्यकारी अधिकृतलाई जानकारी गराइएको गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्