विकट गाउँमा ९५ वर्षीय चेपाङले गरे «

विकट गाउँमा ९५ वर्षीय चेपाङले गरे

अस्पतालको शिलान्यास

हेटौंडा-राक्सिराङ गाउँपालिका–५ ठाडेचुरेका ९५ वर्षका तुलबहादुर चेपाङलाई सोमबार ४२ वर्षीय नाति दोर्जेले डोहो-याएर घरमाथिको डाँडामा पु-याए । राम्ररी काम नसुन्ने र नेपाली भाषा पनि राम्रोसँग नबुझ्ने चेपाङले धेरै मान्छे जम्मा भइरहेको देखेर नातिलाई सोधे–‘यहाँ मलाई किन ल्याएको ?’ नजिकै रहेका राक्सिराङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले उनको प्रश्न सुन्ने बित्तिकै चेपाङको कान नजिकै गएर भने–‘अब यहाँ अस्पताल बनाउन थालेको । आज तपाईंकै हातले अस्पतालको जग हाल्न थालेको ।’ वृद्ध चेपाङका चाउरिएका गालामा मन्द मुस्कान छायो । उनी खुसीले गदगद भए ।
‘अब राम्रो हुने भएछ, गाउँमै अस्पताल बन्ने भएपछि अब रोग जचाउन टाढा जान नपर्ने भयो,’ उनले भने । स्वास्थ्यकर्मीको अनुहार देख्न घण्टौं हिँडेर चितवनका अस्पताल वा हेटौंडामा आइपुग्नुपर्ने बाध्यता टर्ने विश्वासका साथ चेपाङले गाउँमै बन्ने अस्पतालको शिलान्यास गरे । सरकारले देशभरका विभिन्न ४ सय ३ वटा स्थानीय तहमा एक साथ अस्पताल भवनको शिलान्यासको कार्यक्रम राखेअनुसार राक्सिराङमा पनि १० शैयाको अस्पताल भवनको शिलान्यास गरिएको हो ।
अन्य स्थानीय तहमा मन्त्री, प्रदेशका मुख्यमन्त्री तथा सांसदलगायत विशिष्ट व्यक्तिको उपस्थितिमा अस्पतालको शिलान्यास गरिएता पनि राक्सिराङमा भने फरक दृश्य देखियो । स्वास्थ्य सेवाको सहज पहुँचबाट बन्चित भई जीवनको उत्तरार्धमा पुगेका वृद्ध चेपाङको हातबाट राक्सिराङमा अस्पतालको शिलान्यास गरियो । गाउँमै अस्पताल बन्ने भएपछि स्थानीयबासीमा खुसियाली छाएको छ । ‘सामान्य स्वास्थ्य सेवा पाउन पनि घण्टौं हिँडेर चितवन तथा हेटौंडाका अस्पताल धाउनुपर्ने राक्सिराङबासीको बाध्यता अब हट्नेछ ।’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले भने–‘केही समयअघि मात्रै हामीले गाउँमा एमबिबिएस डाक्टर ल्याएर सेवा सुरु गरिसकेका छौं । सुविधा सम्पन्न स्वास्थ्यचौकी र आइसोलेसन भवन पनि यहिँ नै बन्दैछ । अब अस्पताल भवन पनि बनेपछि स्वास्थ्यकर्मीको दरबन्दी थप हुनेछ ।’
गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिमडुङ, प्रमुख प्रशासकीय अधिकृत आचार्य, ८ नम्बर वडाध्यक्ष रामकृष्ण चेपाङ, स्वास्थ्य संयोजक विजय कापरीलगायतको उपस्थितिमा अस्पताल भवन शिलान्यास गरिएको हो । राक्सिराङमा हाल ४ वटा स्वास्थ्य चौकी र ६ वटा सामुदायिक स्वास्थ्य केन्द्र रहेका छन् । ४ वटै स्वास्थ्यचौकीहरुमा सुत्केरी गराउने सुविधा उपलब्ध छ । अधिकांश अति सिमान्तकृत विपन्न चेपाङ र तामाङ समुदायको बसोबास रहेको राक्सिराङ जिल्लाकै सबैभन्दा विकट गाउँपालिका हो । जनप्रतिनिधि निर्वाचित भएर आएपछि यस क्षेत्रमा स्वास्थ्य, शिक्षा, सडक, विद्युत्लगायतका पूर्वाधार विकासलाई तीव्र पारिएको छ ।
संघीय सरकारको योजनाअनुसार राक्सिराङसहित मकवानपुरका ४ वटा स्थानीय तहमा सोमबार एक साथ अस्पतालको शिलान्यास गरिएको छ । राक्सिराङ र कैलाश गाउँपालिकामा १० शैया, थाहा नगरपालिका र मनहरी गाउँपालिकामा १५÷१५ शैयाको अस्पतालको शिलान्यास गरिएको हो ।

हेटौंडा अस्पतालमा आईसियु सेवा
मकवानपुरको एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा सघन उपचार कक्ष (आइसियु) र उच्च उपचार कक्ष (एचडियु) सेवा सुरु भएको । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आइसियु र एचडियु कक्षको सोमबार उद्घाट गरेका हुन् । अस्पतालमा आइसीयुका ७ वेड र एचडीयुका १० वेड सञ्चालनमा ल्याइएको हो । अस्पतालमा ४ वटा भेन्टिलेटर पनि सञ्चालनमा ल्याइएको छ ।
आइसीयु अभाबका कारण हेटौंडाका निजी अस्पताल र भरतपुर रिफर हुँदै आएका विरामीले सस्तो शुल्कमा अब भने हेटौंडा अस्पतालमा नै उपचार पाउनेछन् । आइसियु कक्षको उद्घाटन गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले ८ वर्ष अघिदेखि आइसियु कक्ष सञ्चालन गर्ने सपना पूरा भएको बताए । एक जना मात्र डाक्टरले अस्पताल सञ्चालन गरेको इतिहात सम्झँदै मुख्यमन्त्री पौडेलले अब हेटौंडा अस्पताललाई देशकै नमूना अस्पताल बनाउने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्