‘एकीकृत बस्ती विकासमा जोड’ «

‘एकीकृत बस्ती विकासमा जोड’

पोखरा- काठमाडौं महानगरकापालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंबाट पाठ सिकेर पोखराले व्यवस्थित बसोबास गर्न एकीकृत बस्ती विकासमा जोड दिनुपर्र्नेे बताए । पोखरा महानगरपालिकाको स्वागत कार्यक्रममा बोल्दै मेयर शाक्यले काठमाडौंको अहिलेको अवस्थाबाट पाठ सिकेर पोखराले अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न एकीकृत बस्ती विकासमा जोड दिनुपर्नेमा जोड दिएका हुन् । अनियन्त्रित बसाइँसराइ काठमाडांै र पोखराको चुनौती भएको उनले पनि उनले बताए । उनले भने, “कोरोनाका कारण सिथिल बनेको पर्यटनलाई चलायमान बनाउन स्थानीय तहबीच अनुभव आदान प्रदान, काठमाडौं र पोखराको समन्वय र सहकार्य हुनुपर्छ ।”
मेयर शाक्य नेतृत्वको टोलीलाई सोमबार पोखरामा स्वागत गर्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले दुवै सहरले पर्यटनलाई विशेष प्राथमिकता दिनुपर्ने र यसमा समन्वय गर्नुपर्ने बताए । काठमाडौं—पोखरा जोड्ने सडक चार लेनको भएमा दुवै सहरको थप विकास हुने उनले बताए । मेयर जिसीले स्थानीय निकाय र स्थानीय तह फरक भएकाले संघीयतालाई संस्थागत गर्न स्थानीय सरकारको जिम्मेवारी बढी हुने जनाए । व्यवस्था परिर्वतन भए पनि सोच परिर्वतन नहुँदा काम गर्दा चुनौती आउने गरेको बताउँदै संघीय व्यवस्थालाई लागू गराउन स्थानीय तहका जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ ।
उनले भने, “काठमाडौं सांस्कृतिक सहर हो भने पोखरा प्राकृतिक रूपमा सुन्दर छ, एक अर्काबाट हामीले धेरै कुरा सिक्न र सिकाउन सक्छौं ।” अरु महानगरभन्दा काठमाडौं महानगरपालिका पाको र पुरानो महानगर भएकाले यसले स्थानीय तहमा अग्रणी भूमिका खेल्नुपर्ने जिसीको भनाइ छ । पोखराको भौगोलिक विशेषताअनुसार नै विकास र पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर काम गरिरहेको जिसीले बताए ।
कार्यक्रममा काठमाडौं महानगरका उपप्रमुख हरिप्रभा खड्गीले काठमाडांै र पोखरासहित देशमै पर्यटनलाई चलायमान बनाउन प्रदेश र संघीय सरकारले पनि विशेष ध्यान दिनुपर्ने बताइन् । कार्यक्रममा पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बराल, महानगरका प्रवक्ता धनबहादुर नेपालीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्