पशुपतिनाथ मन्दिर पुस १ गतेदेखि खुल्ने «

पशुपतिनाथ मन्दिर पुस १ गतेदेखि खुल्ने

गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
पुस १ गतेदेखि मन्दिर छिर्न चाहने भक्तजनले पालना गर्नुपर्ने नियमसम्बन्धी मापदण्डसमेत कोषले तयार पारेको कोषका सदस्यसचिव डा. प्रदीप ढकालले जानकारी दिए ।
उनका अनुसार भक्तजनलाई एउटा ढोकाबाट प्रवेश गराई अर्कोबाट निकाल्ने गरी व्यवस्था मिलाइने छ । सार्वजनिक यातायातलगायत अन्य क्षेत्र खुला हुँदा पनि पशुपतिनाथ मन्दिर खुला नभएको भन्दै विश्व हिन्दू महासंघलगायत संघसंस्थाले पशुपति क्षेत्रमा विभिन्न विरोधका कार्यक्रमसमेत सञ्चालन गर्दै आएका थिए ।
कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि चैत ११ गते सरकारले बन्दाबन्दीको निर्णय गरेसँगै पशुपतिनाथ मन्दिर भक्तजनका लागि पूर्णरूपमा बन्द गरिएको थियो ।
यस वर्ष साउनको सोमबारसमेत पशुपतिनाथ मन्दिरमा दर्शन गर्न नपाइएको भन्दै भक्तजनले गुनासो गरेका थिए । साउनको सोमबार भक्तजनले पशुपति क्षेत्र परिक्रमा गरेर आस्था प्रकट गरेका थिए ।
इतिहासमै यति लामो अवधि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको वंशावलीलगायत कतै पनि उल्लेख नगरिएको कोषका पूर्व सदस्यसचिव डा. गोविन्द टण्डन बताउँछन् । चैतपछि पशुपतिनाथको नित्यपूजा आरती चलिरहे पनि भक्तजनले विशेष पूजा र दर्शन गर्न भने पाएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्