नुवाकोटमा कोरोना सङ्क्रमितको सङ्ख्या ८ सय २६ पुग्यो «

नुवाकोटमा कोरोना सङ्क्रमितको सङ्ख्या ८ सय २६ पुग्यो

गमला लामा

नुवाकोट-विश्वव्यापी रूपमा फैलिएको कोरोना सङ्क्रमित हुनेको सङ्ख्या नुवाकोटमा ८ सय २६ पुगेको छ । कुल सङ्क्रमितमध्ये ५ सय ८१ जनाले कोरोना जितिसकेका छन् भने १ सङ्क्रमित महिलाको मृत्यु भइसकेको छ । हाल जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय ३६ जना छन् । तीमध्ये ८ जना अस्पतालको आइसुलेसनमा, १ जना आइसुलेसन सेन्टरमा र २ सय २७ जना होम आइसुलेसनमा छन् ।
हालसम्म जिल्लाको ५ हजार ४ सय २४ जना पुरुष र १ हजार ९ सय १४ जना महिला गरी ७ हजार ५ सय ५७ जना नागरिकको स्वाब लिएर कोरोना परीक्षण गरिएको थियो । ती मध्ये ६ हजार ७ सय ३१ जनामा कोरोना भाइरस नदेखिएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले बताए ।
सूचना अधिकारी खनालको अनुसार जिल्लाको कुल सङ्क्रमित ८ सय २६ मध्ये सबैभन्दा बढी सङ्क्रमित नुवाकोटको सदरमुकामसमेत रहेको विदुर नगरपालिका भित्रका छन् । विदुर नगरपालिकाको ३ सय ४२ पुरुष र १ सय ४६ महिला गरी ४ सय ८८ जनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस्तै कुल सङ्क्रमितमध्ये बेलकोटगढी नगरपालिकाका ६९ जना, ककनी गाउँपालिकाका २७ जना, सूर्यगढी गाउँपालिकाका ५५ जना, लिखु गाउँपालिकाका १९ जना, शिवपुरी गाउँपालिकाका २९ जना, पञ्चकन्या गाउँपालिकाका १७ जना, दुप्चेश्वर गाउँपालिकाका २६ जना, तादी गाउँपालिकाका २८ जना छन् ।

प्रतिक्रिया दिनुहोस्