कृषि वस्तुको ‘जुम्ला ब्रान्ड’ तयार हुँदै «

कृषि वस्तुको ‘जुम्ला ब्रान्ड’ तयार हुँदै

जुम्लाको अर्गानिक कृषि वस्तुको ‘जुम्ला ब्राण्ड’ तयार गरिँदै छ । जुम्ली अर्गानिक कृषि वस्तुको झल्काउने लोगो निर्धारण गरी ‘जुम्ला ब्राण्ड’ तयार गर्न लागिएको हो । नेपाली उपभोक्ताहरुमा दिन प्रतिदिन जुम्ली अर्गानिक वस्तुको माग बढ्दो छ । तर, अन्य जिल्लामा उत्पाददित वस्तुलाई जुम्लाको नाम बेचेर बिक्री भइरहेको पाइएको छ । जसले गर्दा जुम्लाको अर्गानिक पहिचान गुम्ने खतरा बढेको छ ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले जुम्ली अर्गानिक उत्पादनको बजारीकरण तथा पहिचान कायम राख्न ‘जुम्ला ब्राण्ड’ तयार गर्न लागिएको बताए ।
“जुम्ली अर्गानिक वस्तु चिनाउने खालको लोगो निर्धारणका लागि सूचना आह्वान गरेका छौं ।” उनले भने, “ब्राण्ड तयार भएपछि जुम्ली अर्गानिक स्याउ, जुम्लाका सबै कृषि वस्तुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार पाउने छन् ।”
(स्याउका चाना, कालो रातो, सेतो र माले सिमी, मार्सी चामल, कागुनो र चिनोको चामल, घत, मास, मुगीमास, भटमास, फापरको पिठो, लोकल गहुँ, जौ, कोदाको पिठो) लगायत दर्जनौ जुम्ली अर्गानिक कृषि वस्तुको ब्राण्डिङ गर्ने तयारी भइरहेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।
अर्गानिक कृषि वस्तुको पहिचान झल्काउने ‘जुम्ला तथा कर्णाली ब्राण्ड’ लोगो निर्धारणका लागि सूचना जारी भएको छ । कार्यालय प्रमुख देवकोटाका अनुसार उत्कृष्ट तथा अर्थपूर्ण ‘जुम्ला ब्राण्ड’ झल्काउने लोगो डिजाईनकर्तालाई पुरुस्कृत समेत गरिने छ ।
‘जुम्ला ब्राण्ड’ तयार नगरेकै कारण अर्गानिक वस्तुको बजारीकरणमा चुनौती थियो । जुम्लाको नाम बेचेर राष्ट्रिय बजारमा अन्य जिल्लाको उत्पादन बिक्री हुँदा जुम्ली किसान मारमा परेका छन् ।
जुम्लाको अर्गानिक कृषि उत्पादनलाई तयार हुन लागेको ‘जुम्ला ब्राण्ड’ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरणका लागि टेवा पु¥याउने व्यवसायीहरुले विश्वास व्यक्त गरेका छन् ।
एक महिनाभित्र जुम्ली अर्गानिक कृषि वस्तुको पहिचान झल्काउने लोगोसहितको ‘जुम्ला ब्राण्ड’ सार्वजानिक गरिने भएको छ । अहिले बजारका विभिन्न कोसेली घरमा बिना ब्राण्डका कृषि उत्पादन बिक्रीका लागि राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्