कोरोना कहरमा विद्यालय शिक्षा क्षेत्रको कमजोरी «

कोरोना कहरमा विद्यालय शिक्षा क्षेत्रको कमजोरी

सरकारले स्पष्ट नीति सार्वजनिक गर्न नसक्दा अभिभावक सन्तानको भविष्यबारेमा अन्योलमा रहे ।

करिब १० महिनाअघि चीनको वुहान प्रान्तबाट सुरु भएको विश्वव्यापी महामारी कोरोना भाइरस महामारीका कारण लाखौं विद्यार्थी विद्यालय जानबाट वञ्चित भए । विद्यार्थीहरू यति लामो समयसम्म शिक्षण सिकाइ क्रियाकलापबाट वञ्चित रहँदा आमजनमानसमा डर र चिन्ता थपियो । सरकारले स्पष्ट नीति सार्वजनिक गर्न नसक्दा अभिभावक सन्तानको भविष्यबारेमा अन्योलमा रहे ।
कोरोना महामारी हाम्रो शिक्षा क्षेत्रका लागि चुनौती र अवसर दुवै बन्न सक्नेमा सरकारी तथा गैरसरकारी कुनै पनि निकायको ध्यानाकर्षण हुन सकेन । शिक्षा नीतिमा रहेका खराबी पहिचान गरी निमिट्यान्न पार्ने महŒवपूर्ण अवसर र समयानुकूल परिवर्तनका लागि उपयुक्त वातावरण यही सङ्कटको क्षण बन्न सक्नेमा शिक्षाविद्हरूको ध्यान जान नसक्नु दुःखको कुरा हो । पानीको मूल सफा नगरी धाराको टुटो धोएर सफा पानी पिउने सपना देखेर बस्ने परिपाटीले एकथरी मानिस सरकारी विद्यालयका शिक्षकहरू निदाएर बसेको भ्रम फैलाउन सक्रिय रहे भने अर्काथरी मानिस निजी विद्यालयको अस्तित्व समाप्त पार्ने सुनौलो अवसर यही भएको भनी अवास्तविकतामा रनभुल्ल परे ।
कोरोना कहरको नाममा सबै चुप लागेर बस्ने हो भने नेपालको शिक्षा क्षेत्र झनै तहसनहस र बर्बाद बन्ने सम्भावना बढ्न जान्छ । यस अवस्थामा शिक्षासँग सम्बद्ध सबै व्यक्तिले विश्वको उत्कृष्ट पद्धतिको राम्रा गुणहरू अवलम्बन गरी समय र परिवेशअनुकूल शिक्षा नीति तर्जुमा तथा शिक्षण क्रियाकलाप प्रयोग गर्न उपयुक्त वातावरण तयार पार्नुपर्छ । अवस्था सामान्य हुन्छ अनि परपरागत रूपमै पढाउँछु भनेर बसिरहने हो भने अहिले परेको शिक्षा क्षेत्रको आलो घाउको चोट निको हुनका लागि दशकौं पर्खिनुपर्ने अवस्था आउने निश्चित छ । त्यसैले शिक्षा क्षेत्रको नेतृत्व तथा अभिभावकको भूमिका निर्वाह गर्ने शिक्षा मन्त्रालयले सङ्कटको अवस्थामा चुप लागेर बस्नुभन्दा दूरदर्शी भएर शिक्षा सुधारका लागि सक्रियतापर्वक उपयुुक्त र व्यावहारिक कार्यक्रम तय गर्नुपर्छ ।
अभिभावक, शिक्षा मन्त्रालय, शिक्षाविद् तथा निजी एवं सरकारी विद्यालयका शिक्षक–शिक्षिका र विद्यालय सञ्चालनका बीचमा आपसी छलफल र अन्तक्र्रिया गरेर शिक्षाका नयाँ कार्यविधि तयार गर्न मन्त्रालयले नै नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ । आरोप–प्रत्यारोप र आग्रह–पूर्वाग्रहबिना सबै क्षेत्रलाई एकै ठाउँमा जुटाएर सङ्कट समाधानका लागि प्रयास गर्ने हो भने कोरोनाको कहर नेपालको विद्यालय शिक्षाको सुधार तथा परिवर्तनका लागि सुनौलो अवसर बन्नेछ ।
—सुजन पौडेल

प्रतिक्रिया दिनुहोस्