धार्मिक पर्यटकको आकर्षण सुपा देउराली «

धार्मिक पर्यटकको आकर्षण सुपा देउराली

अर्घाखाँची – प्रशिद्ध धार्मिक तथा पर्यटकीय स्थल सुपादेउरालीमा पर्यटकको आकर्षण बढ्दै गएको छ । विशेषगरी मेलापर्व तथा चाडपर्वमा यहाँ निकै भीडभाड हुने गर्छ । जिल्ला तथा जिल्ला बाहिरबाट पनि यहाँ दर्शनार्थी आइपुग्छन् ।
शक्तिपीठका रुपमा परिचित मन्दिर, मनोरम प्राकृतिक दृश्य र रमाइलो गर्न मिल्ने पर्यटकीय संरचना भएको यो मन्दिरमा सधैंजसो श्रद्धालु भक्तजनहरूको घुइँचो हुन्छ । जिल्लामा रहेका अन्य पर्यटकीय स्थलभन्दा धेरै परिचित सुपादेउरालीमा पूजापाठ, मनोरम दृश्य, साथीभाइसँग भेटघाट र घुम्न पाइने भएकाले पनि यहाँ पुग्ने इच्छा धेरैको हुन्छ । छिमेकी जिल्ला गुल्मी, कपिलवस्तु, पाल्पा, रुपन्देही, प्युठानलगायत देशभर तथा भारतबाट समेत यहाँ तीर्थालुको बाक्लो उपस्थिति हुने गरेको मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ ।
गोरुसिंगे–सन्धिखर्क सडकमा पर्ने सुपादेउरालीमा नरोकी कुनै पनि सवारी साधन चल्दैनन् । वरिपरि चट्टानले बनेको पहाडको बीचमा अवस्थित मन्दिर । प्राकृतिक वातावरण र हरियाली । गर्मी यामको वातावरण्मा पनि चिसो मौसम । हेर्दै मनमोहक मन्दिरमा भाकल र पूजापाठ गर्दा आनन्द आउने र दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक जनविश्वासका कारण दैनिक हजारौंको संख्यामा भक्तजन आउने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रितम थापाले बताए ।
एक किंवदन्तीअनुसार खाँची घर भएका एक व्यक्ति धन कमाउन भारत जानुभन्दा अघि सुपामाईसँग राम्रो जागिरको प्रार्थना गर्दै राम्रो होस् र फर्केर आउँदा भेटी चढाउनेछु भनी ढोग गरेर गए । भारत बसाइमा उनले राम्रै धन कमाए । फर्केर आउँदा भेटी नचढाई मन्दिरमाथिको जंगलको बाटो हुँदै भाग्न लाग्दा जंगलबीच बाटोमा सुपामाईले पहाडको चट्टानमा लाहुरेलाई टाँसेको किंवदन्ती छ । मन्दिरमा दर्शन गर्न आएका अधिकांश भक्तजनहरू लाहुरे टाँसेको ठाउँ हेर्नेको पनि भीड हुन्छ । भक्तजनहरू घण्टौं लाइनमा बसेर दर्शन गर्छन् ।
यहाँ परेवा, बोका तथा अन्य भाकल गरेको कुरा र पूजापाठ गर्दा मनमा आँटेको पूरा हुने विश्वासले तीर्थालुको दिनहुँ भीड लाग्ने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
मन्दिरमा पूजा गरेपछि दर्शनार्थीहरुले मनोरम वातावरण र चिसो हावा बहिरहने ठाउँ नरपानीमा आएर प्रसाद ग्रहण गर्छन् ।
बाइसे–चौबिसे शाहवंशीय राजाको पालामा निर्माण भएको मन्दिरमा २०४० देखि पूजा गर्न थालिएको हो । ०६० मा बाबा नरनारायणले झण्डै डेढ करोडको लगानीमा काठमाडौं र भक्तपुरका ऐतिहासिक सम्पदामा प्रयोग भएका प्राचीन निर्माण सामग्रीबाट ठूलो मन्दिर बनाएपछि भक्तजन पनि बढेका छन् । अब पर्यटकीय पूर्वाधारका काम गर्ने योजना मन्दिरले बनाएको उपाध्यक्ष गोवद्र्धन थापाले बताए ।
सुपादेउराली मन्दिरसँगै शिद्धेश्वर शिवालय मन्दिर चुत्रावेशी, अर्घादरबार भगवती मन्दिर, बल्कोट पौवा, पाणिनि तपोभूमि, दुर्वावेश्वर गुफा, छत्रमहाराज मन्दिर छत्रगन्ज, वामरुकको नरसिंहस्थान, ठाडाको डमरुदह र मालारानी मन्दिरलगायत धार्मिक तथा पर्यटकीय स्थलमा पर्यटक पुग्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्