कोरोना बिमाको विवाद «

कोरोना बिमाको विवाद

बिमा कम्पनीहरूले महामारीको यस घडीमा परिपक्व व्यवहार देखाउन सकेका भए संकटकै घडीमा यस व्यवसायप्रति मानिसहरूको विश्वास बढेर जान्थ्यो ।

पछिल्ला वर्षहरूमा नेपालमा बिमा गर्नेहरूको जमात बढ्दै गएको देखिन्छ । विश्वव्यापीकरणको प्रभाव, सामाजिक जागरण र चेतनामा भएको वृद्धि, सरकारको पनि केही पहलकदमी, रोगव्याधको प्रकोप आदि कारण बिमा गर्नेहरूको जमात बढेको देखिन्छ । झन्डै एक वर्षयताबाट सुरु भएको कोरोना महामारीले पनि नेपालमा बिमा गर्नेहरूको संख्या बढाएको छ । पछिल्लो केही समययता कोरोनाको बिमा गर्नेहरू ह्वात्तै बढे । सुरुवातीमा नेपालमा कोरोना तीव्रतर नफैलिने आकलनसहित नयाँ स्किमका रूपमा कोरोना बिमा योजना ल्याएका कम्पनीहरूले नै जनविश्वास जित्न सकेनन् । उनीहरूको आकलन विपरीत नेपालमा कोरोनाका बिरामी अत्यधिक देखिए । फलस्वरूप कोरोना बिमा गर्नेहरूको दाबी भुक्तानी दिन नै आनाकानी गरे । फलस्वरूप मापदण्ड पुगेका सबै पीडितहरूलाई सात दिनभित्र कोरोना बिमाको दाबी भुक्तानी दिन अर्थमन्त्रालयले ठाडो निर्देशन नै दिन प¥यो । बिमा कम्पनीहरूको त्यो खालको दुरवस्थाले नेपालमा बिमाप्रति सर्वसाधारणको आकर्षण र विश्वास बढ्न सकेको छैन । कोरोना बिमामा कम्पनीहरूले देखाउन नसकेको आत्मविश्वास र कमजोर व्यवहारहरूले उनीहरूकै साख कमजोर बनाएको छ । बिमा कम्पनीहरूले महामारीको यस घडीमा परिपक्व व्यवहार देखाउन सकेका भए संकटकै घडीमा यस व्यवसायप्रति मानिसहरूको विश्वास बढेर जान्थ्यो । कोरोना बिमा गरेका करिब ९० प्रतिशतले दाबी भुक्तानी नपाएका समाचार आएका थिए । मन्त्रिपरिषद्ले नै निर्णय गरेर भुक्तानीका लागि निर्देशन दिनुपरेको थियो । कोरोना महमारी सुरु भएयता हालसम्म झन्डै २० लाखले कोरोना बिमा गरेका तथ्याङ्क छ । बिमितबाट कम्पनीहरूले १ अर्बभन्दा ज्यादा रकम संकलन गरे । तर दाबी भुक्तानी गर्ने बेला मापदण्ड पुगेका, कागजपत्र पुगेकाहरूलाई समेत कम्पनीहरूले भुक्तानी दिन पूरापूर आनाकानी गरे । तर पनि हालको समयमा नेपालमा सबैभन्दा बढी सम्भावना भएको व्यवसाय बिमा ब्यवसाय हो । सोही तथ्यलाई मध्यनजर गर्दै झन्डै चार दर्जन जीवन तथा निर्जीवन बिमा कम्पनी नेपालमा सञ्चालनमा आइसकेका छन् ।
हालसम्म नेपालमा २५ प्रतिशत नेपालीहरू बिमाको पहुँचमा आइपुगेको तथ्याङ्क छ । ७५ प्रतिशत नेपालीहरू बिमाबाहिरै छन् । नेपालमा बिमा समितिबाट इजाजतपत्र लिई ३९ वटा बिमा कम्पनीहरू सञ्चालनमा रहेका छन् । त्यसमध्ये १९ वटा जीवन बिमा कम्पनी रहेका छन् भने २० वटा निर्जीवन बिमा कम्पनीहरू छन् । यसरी पछिल्लो दशक बैंकहरू जस्तै बिमा क्षेत्रले पनि छलाङ मारेको देखिन्छ । सञ्चालनमा आएका धेरै कम्पनीका प्रोफाइल पनि मजबुत नै देखिन्छन् । दर्जनभन्दा बढी जीवन बिमा कम्पनीहरू त बैंकहरूले नै सञ्चालनमा ल्याएका देखिन्छन् ।
वास्तम्वबै बिमा अपरिहार्य हो । हरेक चिजको बिमा गरिनु आवश्यक देखिन्छ । अझ जीवन बिमा त अपरिहार्य नै छ । बिमा गर्दा हरेक खालका जोखिमका भारहरू बिमा कम्पनीहरूले नै बहन गर्ने कारण मान्छेका तनावहरू कम हुन्छन् । जिन्दगी नै सहज हुन्छ ।
नेपालमा सन्दर्भमा वि.सं. २००४ मा निर्जीवन बिमा कम्पनीका रूपमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्थापना भयो । सोपश्चात् बिमा व्यवसायको सुरुवात भएको हो । विश्वको इतिहास हेर्ने हो भने ५ सय वर्षपहिले बेलायतबाट बिमा व्यवसायको सुरुवात भएको पढ्न पाइन्छ । नेपालमा दोस्रो बिमा कम्पनीका रूपमा भने २०२४ सालमा आएर राष्ट्रिय बिमा संस्थानको स्थापना भयो । यी दुई सरकारी तवरबाट सञ्चालित संस्थानहरूले आफ्ना गतिविधिहरू अगाडि बढाएको निकै लामो समयपछि मात्रै नेपालमा निजी क्षेत्रबाट पनि बिमा कम्पनीहरू खोलिएका हुन् । नेपालमा निजी क्षेत्रबाट पहिलो पटक २०४४ सालमा नेसनल लाइफ एन्ड जनरल इन्स्योरेन्स कम्पनी स्थापना भएको हो ।
नेपालमा बिमा व्यवसायको सुरुवात भएको ७१ वर्ष पूरा भए पनि लामो समयसम्म उपयुक्त कानुन तथा नीति–नियम नबनेका कारण यो व्यवसाय पछाडि प-यो । २०४६ सालको नयाँ बहुदलीय उदार व्यवस्थापछि मात्रै यस व्यवसायमा निजी क्षेत्रबाट लगानी बढ्न थाल्यो ।
यसरी नेपालमा बिमाको इतिहास भने लामो नै देखिन्छ । तर, विदेशीहरूको दाँजोमा यो व्यवसाय नेपालमा निकै नै पछाडि परेको छ । अन्यन्त्र कतिपय देशहरूमा बिमा गर्नैपर्ने चलनहरू छन् । अझ स्वास्थ्य बिमा त अनिवार्य गराइन्छन् । तर, नेपालमा त्यस्तो व्यवस्था नभएकाले पनि यो व्यवसाय पछाडि परेको देखिन्छ । यो व्यवसाय अघि बढ्न नसक्नुको अर्को मूल कारण आर्थिक पनि हो । मानिसहरूले बिमा गर्ने भनेको बचतको अवस्थामा नै हो । बचतका लागि आम्दानीका स्रोतहरू बलियो हुनैपर्छ । देशकै अर्थतन्त्र, रोजगारीको अवस्था, सबै अवयवहरू राम्रो हुँदा मात्रै बिमा व्यवसाय मौलाउने हो । पछिल्लो दशक नेपालमा शान्ति सु–व्यवस्था कायम हुँदै गएको छ । रोजगारीका लगि बिदेसिने नेपालीहरू बढेका छन् । फलस्वरूप रेमिट्यान्स पनि बढेको छ । रेमिट्यान्सकै वृद्धि र प्रभावस्वरूप बैंक–वित्तीय क्षेत्रदेखि बिमा कम्पनीहरूसमेत मौलाएका हुन् । बैंकहरूको निक्षेप बढाउने कुरामा रेमिट्यान्सले नै अग्रणी भूमिका खेल्यो । जसकारण उनीहरूले बढेको निक्षेप लगानी गर्न पाए । बिजनेस बढाउने मौका पाए । फलस्वरूप बैंकहरूले शीघ्र प्रगति गरिरहेका पनि देखिन्छन् । बैंकहरूकै अगुवाइमा अहिले बिमा क्षेत्रसमेत फस्टाउँदै गएको देखिन्छ । बिमा क्षेत्र फस्टाउँदै जानुमा मल्टी मिडियाहरूको हात पनि उत्तिकै छ । मानिसहरूमा सचेतनाको वृद्धि नगरुन्जेल बिमा क्षेत्र निश्चय नै अघाडि बढ्न सक्दैन । बिमा भनेको के हो र यो किन आवश्यक छ ? भन्ने कुराको जानकारी हरेक नेपालीमा गराउनु जरुरी छ । उनीहरूलाई उचित ढंगले जानकारी गराइने हो भने यो व्यवसायको भविष्य नेपालमा निकै उज्ज्वल छ । बिमा गर्दा सबैले आफ्ना जोखिमका भारहरू घटाएर सन्तुष्टिको जीवनसमेत बाँच्न पाउँछन् । तर, नेपालमा त ग्रामीण भेगहरूको त कुरै छाडौं । सहरी क्षेत्रमै पनि बिमाबारे यथोचित बुझाइ जनमानसमा छैन । अझै बिमा गर्ने कार्यलाई सही मान्ने चलन यहाँ छैन । धेरै धनाढ्य र पढेलेखेकाहरूसमेत बिमा गर्ने कार्यहरूबाट चुकेका छन् । त्यसकारण बिमा व्यवसाय बढाउन र मानिसको जोखिमका भारहरू कम गर्न बिमासम्बन्धी तालिम, प्रचारप्रसारजस्ता जनचेतनामूलक अभियान जरुरी छ ।
यद्यपि पछिल्ला केही वर्षयता बैंक तथा वित्तीय संस्थाहरूबाट नै बिमाको पनि सेवा सुरुवात भएयता बिमाको पहुँच बढेको देखिन्छ । बैंकहरूले बिमा कम्पनीहरूसँग बैंकास्योरेन्स अर्थात् बिमा सेवा प्रदान गर्ने अधिकारसहितको सम्झौता गरेका छन् । र, आफूले प्रतिस्पर्धी रूपमा सेवाग्राहीहरूलाई प्रदान गर्ने सेवा–सुविधाहरूमा बिमालाई समेट्नुले पनि यो क्षेत्र फस्टाउन पाएको छ । बिमा क्षेत्रलाई नियमन तथा नियन्त्रण गर्न, यसलाई अघि बढाउन हालसम्म बिमा समितिले काम गरिरहेको छ । तर, अहिले बिमा विधेयक संघीय संसद्मा दर्ता छ । दफादार छलफलमा रहेको बिमा विधेयक–०७५ ले हालको बिमा समितिलाई प्राधिकरणमा रूपान्तरण गर्ने गरी कानुन संशोधन तथा एकीकरण गर्न ल्याइएको छ । जे होस्, बिमा क्षेत्रलाई व्यवसायीकरण, व्यवस्थितीकरण र जनताको सहज पहुँचमा पु¥याउन सरकार लागेकै देखिन्छ ।
मूलतः बिमा कम्पनीहरूको चुक्ता पुँजी कम हुनु र उनीहरूले विगतमा आफ्नो स्तर पनि बढाउन नसक्दा जनमानसमा विश्वासको वातावरण बढ्न नसकेको हो । त्यसकारण बिमा कम्पनीहरूको चुक्ता पुँजी बढाउँदै लगेर विश्वासको वातावरण सिर्जना गर्न सक्नुपर्छ ।
नेपाल बिमा व्यवसायका लागि विश्वकै उर्वरभूमि हो । किनकि नेपालमा जम्मा १७ प्रतिशत मानिसले मात्रै बिमा सेवा लिइरहेका छन् । अपार सम्भावना भएकै कारण बिमा क्षेत्रमा लगानी गर्न नेपालीहरू मात्र होइन, विदेशीहरू पनि लालायित छन् । पछिल्ला दशकहरूमा नेपालमा व्यवस्थापन संकायमा विद्यार्थीहरू बढेका र व्यवस्थापन संकायमा बिमासम्बन्धी विषयगत पठन सामग्रीहरू राखिएकाले पनि बिमा सेवा केही बढेको हो । तर, यसलाई विद्यालयस्तरमै राखिने हो भने सबैले बिमा भनेको के हो र यसबाट फाइदा के हुन्छ ? भन्ने अवगत गराउन सकिन्थ्यो, जसले गर्दा बिमा गर्नेहरू बढ्थे । तर अहिले त सचेतनाकै अभावले गर्दा विश्वमै सबैभन्दा न्यून प्रतिशत मानिस बिमा गर्ने देशहरूमध्येमा नेपाल पर्छ । आधुनिकताले विश्वव्यापी रूपमा धपक्कै छोपेको परिपे्रक्ष्यमा नेपालमा भने थपिएका सुविधाहरू ग्रहण गर्ने मामिलामा मानिसहरू पछि पर्नु दुःखदायी हो । पछिल्ला वर्षहरूमा सरकारी स्तरबाटै लघु बिमा, कृषि बिमा, स्वास्थ्य बिमालगायतमा भएका पहलकदमी सार्थक देखिन्छन् । त्यसलाई अझै घनिभूत बनाउँदै लैजानुपर्ने आवश्यकता छ ।
अहिले वास्तवमा नेपालीलाई पुग्ने र थेग्ने सङ्ख्यामा बिमा कम्पनीहरू खुलिसकेका छन् । सरकारले यस्ता कम्पनीहरूलाई इजाजतपत्र दिएर मात्रै हुँदैन । यस क्षेत्रलाई अझ व्यवस्थित गर्न ऐनहरू संशोधन गर्नुपर्छ । बैंकहरूलाई जस्तै यस बिमा व्यवसायका क्षेत्रलाई अझ व्यवस्थित एवं कडाइ गरेर विश्वासिलो र भरपर्दो बनाउनु जरुरी देखिन्छ । बिमा कम्पनीहरू पुँजीगत रूपमा दरिलो हुनुपर्छ, मानव संसाधन र अधिकर्ताहरू सबै हिसाबले व्यवस्थित हुन जरुरी छ ।
बिमा गर्ने परिपाटीको विकास गर्न सकियो भने त्यसले जनताको बचतमा पनि वृद्धि हुन्छ । जनताले बिमा गर्दा उठाइएका रकमहरू विकास–निर्माणका ठूला आयोजनाहरूमा लगानी हुन सक्छन् । खासगरी जीवन बिमा गर्नेहरू बढ्दा लामो अवधिको ठूलो कोषहरू खडा हुन्छन् । त्यस्तो कोषको निर्धक्क लगानी बिमा कम्पनीहरूले गर्न सक्छन्, जसले गर्दा बिमा कम्पनीलाई र बिमा गर्ने व्यक्तिलाई पनि उत्तिकै फाइदा हुन्छ । दुवैतर्फी फाइदा हुने यस ब्यवसायकै कारण राज्यको आर्थिक गतिविधि बढाउन, कर आय बढाउन, दीर्घकालीन आयोजनाहरूमा लागानीका लागि स्रोत र समग्र आर्थिक विकासमा बिमाले धेरै ठूलो भूमिका खेल्छ । त्यसकारण सरकारी तवरबाट बिमा क्षेत्रप्रति सकारात्मक धारणासहित यसलाई अगाडि बढाउन पहलकदमी आवश्यक छ । आजको जमानामा बिमा अति आवश्यक हो, जुन तथ्य जनतालाई बुझाउन सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्