सेयर बजार वृद्धिको निरन्तरता «

सेयर बजार वृद्धिको निरन्तरता


कीर्तिमानी उचाइमा पुगेको सेयर बजारको वृद्धिले सोमबार पनि निरन्तरता पाएको छ । सेयर बजार मापन गर्ने नेप्से परिसूचक साताको दोस्रो दिन २८.७९ अंकले बढेको छ भने कारोबार रकम पनि करिब ९ अर्ब रुपैयाँको भएको छ । आइतबारको तुलनामा कारोबार रकम र नेप्से परिसूचक दुबैमा सामान्य संकुचन आए पनि पनि बजारको वृद्धिले सोमबार १९९७.०५ अंकमा पुगेर बजार बन्द भएको छ । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक र खरिदविक्री रकम दुवैमा अहिले सम्मकै नयाँ रेकर्ड कायम भएको थियो ।
यसैबीच नेपाल धितोपत्र बोर्डले नेप्सेका अनलाइन कारोबार प्रणालीबाट ८५ प्रतिशतभन्दा बढी कारोबार हुने गरेकाले धितोपत्र बजारमा पछिल्लो समय लगानीकर्ताको सहभागितामा उल्लेख्य वृद्धि भएको जनाएको छ । बोर्डका अनुसार बोर्डबाट गरिएका धितोपत्र बजार विकास तथा सुधारका कार्यहरूबाट धितोपत्रको प्राथमिक बजारमा ८ लाखभन्दा बढी लगानीकर्ता, डिम्याट खाताको संख्या २१ लाख ८० हजार रहेको छ । जुन कुल जनासंख्याको करिब ७.२५ प्रतिशत रहेको छ ।
आइतबार ९ अर्ब २२ करोड ७३ लाख रुपैयाँको कीर्तिमानी कारोबार हुँदा नेप्से परिसूचक ७५.०२ अंकले बढेर बन्द भएको थियो । सोमबार भने १ सय ९८ कम्पनीका २ करोड ५२ लाख ९१ हजार ३ सय १९ कित्ता सेयर ८३ हजार ५ सय ६७ पटक खरिदबिक्री हुँदा ८ अर्ब ८६ करोड ७७ लाख रुपैयाँ बराबरको करोबार भएको छ । यस दिन कारोबारमा आएका समूहमध्ये वाणिज्य बैंक, विकास बैंक, वित्त र म्युचुअल फण्डबाहेकका सबै समूहको परिसूचक बढेको छ । बिमा कम्पनीको परिसूचक मात्रै ७.३४ प्रतिशत अर्थात ८२३.३५ अंकले बढेको छ । सरकारी स्वामित्वका माथिल्लो तामाकोसी, रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । युनाइटेड मोदी हाइड्रोपवारको सेयर मूल्य भने १० प्रतिशतले बढेको छ । ग्रीन डेभलपमेन्ट बैंक, नेपाल बंगलादेश बैंक, नेपाल लाइफ इन्स्योरेन्स र साल्ट ट्रेडिङ कम्पनीका सेयर मूल्य पनि करिब १० प्रतिशत हारहारीमा वृद्धि भएको छ । विगत लामो समयदेखि सर्वाधिक कारोबार भइरहेको नेपाल पुनर्बीमा कम्पनीको सेयर सोमबार पनि सर्वाधिक किनबेच भएको छ । तर, गत बिहीबार र आइतबारको तुलनामा भने कारोबार रकम घटेको छ । दैनिक ५० करोड रुपैयाँ भन्दा बढीको सेयर किनबेच भइरहेको उक्त कम्पनीको सेयर सोमबार ३८ करोड ४८ लाख रुपैयाँमा सीमित भएको छ ।
सोमबार अन्तिम एक घण्टामा सर्वाधिक किनेबच भएपछि नेपाल लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक ३७ करोड ३४ लाख रुपैयाँको किनबेच भएको छ । सर्वाधिक सेयर किनबेच हुने १० वटा कम्पनीमा २ वटा बिमा कम्पनी नेपाल लाइफ र पुनर्बीमा कम्पनीपछि सबै बैंकहरू रहेका छन् । सर्वाधिक सेयर किनबेच हुने १० कम्पनीको कारोबार रकम २२ करोड देखि ३८ करोड रुपैयाँसम्म रहेको छ ।

बक्स
सजग भएर लगानी गरौंः बोर्ड
पछिल्लो समय पुँजी बजारले दिनानुदिन नयाँ नयाँ कीर्तिमान राख्न थालेपछि नियामक निकाय धितोपत्र बोर्डले लगानीकर्तालाई सजग भइ लगानी गर्न आग्रह गरेको छ । बोर्डले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै दिनानुदिन बढ्दै गएको बजारमा हल्ला र अनुमानको पछाडि नलागी सजग र सुझबुझका साथ मात्रै लगानी गर्न लगानीकर्तालाई आग्रह गरेको हो ।
बोर्डको सुझावमा भनिएको छ, “लगानीकर्ताले पुँजी बजारमा केही स्थापित मूल्य र मान्यता अनुरुप सूचीकृत संगठित संस्थाको वित्तीय अवस्था हेर्नुपर्छ, ती संस्थाहरूको आधारभूत तथा प्राविधिक पक्षका विश्लेषणका साथै ऐन नियमको पालनाको अवस्था पनि हेर्नुपर्छ,संस्थाको समग्र वित्तीय तथा आर्थिक परिसूचक लगायतका विवरणहरूको विश्लेषण गरे पछि मात्रै लगानीकर्ताले लगानी सम्बन्धी निर्णय लिनुपर्ने छ ।”
बोर्डले विश्व अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र तथा सूचीकृत संगठिछ संस्थाहरूको वित्तीय स्थितिको विश्लेषण गर्नुपर्ने, संस्थागत सुशासनको अवस्था एवं लगानीकर्ताको जोखिम बहन गर्न सक्ने क्षमता लगानीकर्तामा हुनुपर्ने तथा लगानीकर्ताले आफ्नो लगानीको सुरक्षाआदि समेतलाई दृष्टिगत गरी सजग र सुझबुझ गरेर मात्रै बजारमा लगानी गर्नुपर्ने पनि बताएको छ । साथै, बजारमा लगानी गर्दा हल्ला र अनुमानको पछाडि नलागी यी सुझावलाई अपनाएर मात्रै लगानी गर्न बोर्डले लगानीकर्तालाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्