प्रशासनको आदेशले पनि अवैध क्रसर रोकिएनन् «

प्रशासनको आदेशले पनि अवैध क्रसर रोकिएनन्

सन्तोष महतारा

गुल्मी-सरकारले अवैध क्रसर उद्योग माथि प्रतिबन्ध लगाउन गृह मन्त्रालयमार्फत् निर्देशन गरे पनि अवैध काम भने रोकिएको छैन । अवैध क्रसर उद्योगहरूले सरकारी निर्देशनको अवज्ञा गरिरहेका छन् । गुल्मीमा जिल्ला प्रशासन कार्यालयले प्रतिबन्ध लगाए पनि ठेकेदारले अवैध धन्दा गरिरहेका छन् । मापदण्डविपरीत सञ्चालन गरिएका अवैध क्रसर बन्द गर्न कार्यालयले अनुरोध गरिरहे पनि निर्माण व्यवसायीले प्रशासनलाई नटेरी अवैध धन्दा गरिरहेका हुन् । जिल्लामा चारवटा अवैध क्रसर उद्योग कुनै पनि न्युनतम मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका छन् ।
जिल्लाको इस्मा गाउँपालिका १ मा सुनिल समीर निर्माण सेवा प्रालीले छल्दीखोलाको किनारमा नै अवैध क्रसर चलाएको छ । चन्द्रकोट गाउँपालिका ७ बडियार खोला किनारमा गौमूखी निर्माण सेवाले अवैध क्रसर सञ्चालन गरेको छ । सत्यवती गाउँपालिका ७ मा इलाइट निर्माण सेवा र रुरुक्षेत्र गाउँपालिकामा राजेश्वरी कन्स्ट्रक्सन प्रालिले अवैध क्रसर चलाइरहेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।
संचालनमा रहेका सबै कम्पनीहरू प्रक्रियासहित दर्ता भएपनि उनीहरूले अवैध रुपमा क्रसर चलाइरहेको घरेलु तथा साना उद्योग कार्यालयका कर्मचारी नारायण पन्थीले बताए । उनीहरू कर छली गर्दै कुनै पनि मापदण्ड पूरा नगरीकन अवैध क्रसर चलाउँदै आएका छन् । इस्मा गाउँपालिकाको छल्दीटारमा सुनिल समीर निर्माण सेवा प्रालीले संचालन गरेको क्रसरले कर छली मात्रै नभई समाजमा प्रत्यक्ष असर पारिरहेको स्थानीयले गुनासो गरेका छन् । क्रसर उद्योग समुदायबाट कम्तीमा पनि २ किलोमिटर टाढा हुनुपर्ने प्रावधान रहे पनि त्यहाँ १ सयको दूरीमा नै प्रशस्त घर रहेका छन् । घरनजिकै सञ्चालन गरिएका उद्योगको आवाजले आफूहरूलाई ठूलो समस्या रहेको स्थानीय रामबहादुर श्रेष्ठले बताए ।
समुदाय नजिकै रहेको क्रसर उद्योगबाट निस्कने आवाजका कारण स्थानीयहरू वाक्क परेका छन् । विद्यार्थीलाई पढ्नको लागि समस्या भएको स्थानीय जमुना खत्रीको भनाई छ । क्रसर उद्योगको पेरिफेरिमा ३ वटा विद्यालयहरू रहेका छन् । उद्योग नजिकै रहेका पालुखा माध्यमिक विद्यालय र नमुना कहिल्यै राम्रो पढाई हुन नपाउने विद्यार्थी बताउँछन् ।
समाजमा प्रत्यक्ष असर गर्नेगरी संचालनमा रहेको अवैध क्रसरका सरकारी निकायको ध्यान नगएको भन्दै स्थानीय आक्रोशित बनेका छन् । इस्मा गाउँपालिका २ का वडाध्यक्ष टीका रेश्मीको घर क्रसर उद्योगदेखि ७५ मिटरको दूरीमा छ । त्यहाँका स्थानीयहरूले वडाध्यक्षले केही पहल नगरेको गुनासो गरे । बढी समस्या वडाध्यक्षलाई नै भएको तर चुप लागेर बसेको स्थानीय रुद्र जीसीले आरोप लगाए ।
तर, वडाध्यक्ष रेश्मीले आफूले सक्दो कदम चालिरहेको बताए । “क्रसरको आवाजले मलाई ठुलो समस्या पुगेको छ,” उनले भने, “मेरो पहलमा स्थानीय सरकार र जिल्ला प्रशासनमा यसलाई बन्द गर्न हस्ताक्षर पनि गरेर पठाएका हौं ।”
“अवैध रुपमा संचालन गरेको क्रसरको बिषयमा अनुगमन र निगमन गर्ने काम स्थानीय सरकारको हो ।” इस्मा गाउँपालिका उपाध्यक्ष विमला खत्रीले भनिन्, “क्रसरबाट स्थानीयहरू ठुलो मर्कामा परेको हुदाँ छिट्टै त्यसलाई हटाउनुपर्ने मेरो मा हो ।” आफ्नो ठाउँबाट सक्दो प्रयास गर्ने र जिल्ला प्रशासन कार्यालयले चाँसोका साथ क्रसर बन्द गर्न अघि बढ्नुपर्ने उपाध्यक्ष खत्रीको भनाई छ ।
वि.सं.२०७२ सालमा मदन भण्डारी राजमार्ग अन्तरर्गतको तम्घास–सिमलटारी सडक खण्डको कालोपत्रेका लागि कालिका प्यासिफिक जे.भिले क्रसर संचालन गरेको थियो । तर, अहिले सुनिल समिर निर्माण सेवाले अवैध क्रसर उद्योग चलाएको छ । क्रसर अवैध भएको विषयमा स्थानीय सरकार जानकार भएपनि स्थानीय सरकारको पहुँचले क्रसर बन्द गराउन सकेको छैन ।
क्रसर उद्योग खोलाबाट ५ सय मिटर टाढा, पक्की पुलबाट ५ सय मिटर टाढा, समुदायलाई कुनै असर नपर्ने गरी २ किलोमिटर टाढा, राजमार्गबाट ५ सय मिटर टाढा हुनुपर्ने, विद्यालयमा कुनैखाले आवाज पुग्न नहुने प्रावधान रहेपनि क्रसरहरू कुनै पनि न्युनतम मापदण्ड पूरा नगरी संचालनमा रहेको अभिलेख घरेलु तथा साना उद्योग कार्यालयसँग छ ।
जिल्ला प्रशासनलाई समेत नटेरी अवैध रुपमा मापदण्ड विपरीत ४ उद्योग जिल्लामा संचालन भइरहेका नै छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीले बन्द गर्न अनुरोध पत्र जारी गरेपनी ठेकेदारले टेरेका छैनन् । ठेकेदारको अवैध धन्दा रोकिएको छैन । तर, जिल्ला प्रशासन कार्यालय गुल्मीले अटेर गरी अवैध उद्योग चलाएमा बल प्रयोग गरेर् भएपनि रोक्ने जनाएको छ । “हामीले अवैध क्रसर बन्द गर्न पत्रचार गरिसकेका छौं ।” जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपानेले भने, “जिल्लामा संचालित त्यस्ता उद्योग अझै पनी बन्द नभएमा हामी शक्तिकासाथ बन्द गर्न तप्पर छौं ।” उद्योगहरूलाई बन्द गर्न र कानुनी दायरामा ल्याउन प्रशासनले थप कदम चाल्ने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्