बाल क्लबले बालबालिका क्रियाशील «

बाल क्लबले बालबालिका क्रियाशील

जिल्लाको छथर गाउँपालिका वडा नम्बर २ र ५ मा रहेका बाल क्लबहरूले बालबालिकाको क्षेत्रमा क्रियाशील रूपमा कार्यक्रमहरु सञ्चालन गर्न थालेपछि परिवर्तन आएको छ । बिहान विद्यालय पुगेर बेलुकी घर फर्किने बालबालिका यतिबेला बालअधिकार तथा विभिन्न क्रियाकलापमा क्रियाशील बन्न थालेका छन् ।
गाउँपालिकाको वडा नम्बर २ मा रहेका सरस्वती मावि रहेको सरस्वती बाल क्लब र वडा नम्बर ५ मा रहेको भगवती माविमा रहेको भगवती बाल क्लबका बालबालिका क्रियाशील बन्दै आएका हुन् । मानवअधिकार मञ्च नेपाल इलाम र देउराली सोसाइटी तेह्रथुमको सहजीकरणमा गठन गरिएका क्लबहरू पछिल्लो समय सक्रिय बनेको सरस्वती बाल क्लबका संरक्षक शिक्षक लोकेन्द्र बुढाथोकीले बताए ।
बाल क्लबमा आबद्ध भएका बालबालिकाले नेतृत्व विकास, क्षमता विकास तथा बाल अधिकारबारे छलफल, बाल सिर्जना समावेश गरी भित्ते पत्रिका प्रकाशन, सरसरफाइलगायत कार्यक्रम सञ्चालन गर्दै आएको सरस्वती बाल क्लबका अध्यक्ष रक्षा खतिवडाले बताइन् । किन्डर नेपाल जर्मनीको सहयोगमा सञ्चालनमा रहेको परियोजनाले बाल क्लब सञ्चालनका लागि सहयोग गरेपछि बाल क्लबले पुस्तकालय स्थापना गरेका छन् ।
विद्यालय क्षेत्रमा साप्ताहिक रूपमा सरसफाइ, हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप, शौचालय व्यवस्थापनका साथै विद्यालय जान वञ्चित भएका बालबालिकालाई सल्लाह र परामर्श दिँदै आएको भगवती क्लबका अध्यक्ष ज्ञानेन्द्र भण्डारीले बताए । जिल्लाको म्याङलुङ नगरपालिका वडा नम्बर ९ र छथर गाउँपालिकामा परियोजनाले कार्यक्रम सञ्चालन गर्दै आएको परियोजनाका संयोजक बिन्दा उप्रेतीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्