Logo

१३ औं सागको खर्च सार्वजनिक

गत वर्ष मंसिरमा नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को खर्च विवरण सार्वजनिक भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइतबार पत्रकार सम्मेलन गर्दै १३ औं सागको खर्च विवरण सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा राखेका सदस्य सचिव रमेशकुमार सिलवालले सागको खर्च विवरण सार्वजनिक गरेका हुन् । उनका अनुसार साग खेलकुदतर्फ १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैयाँ १५ पैसा खर्च भएको छ । यस्तै निर्माणतर्फ २ अरब ८६ करोड १४ लाख २८ हजार ९ सय ७३ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ ।
राखेपले १ अर्ब ३७ करोड २७ लाख ९४ हजार ४ सय २३ रुपैयाँ आम्दानी भएको जनाएको छ । राखेपले आम्दानीको स्रोतमा सरकारबाट प्राप्त, टिकटबाट उठेको रकम, विज्ञापनको रकम र सहभागि राष्ट्रबाट प्राप्त भएको जनाएको छ ।
राखेपले १ करोड ९३ लाख ८० हजार २२४ रुपैया रकम फ्रिज भएको पनि जनाएको छ । त्यसबाहेक राखेपले १३ औं सागका पदक विजेता खेलाडी, प्रशिक्षक र सहभागि राष्ट्रिय संघहरुलाई पुरस्कारवापत २२ करोड ७६ लाख वितरण गरिएको समेत जनाएको छ ।
१३ औं साग गत वर्षको मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना भएको थियो । सागमा नेपालले कुल २ सय ६ पदक जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्