राजसंस्था र हिन्दू राष्ट्रको माग सकारात्मक : राणा «

राजसंस्था र हिन्दू राष्ट्रको माग सकारात्मक : राणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले आम जनता र युवा पुस्ताको राजसंस्था र हिन्दू राष्ट्रप्रतिको चाहना तार्किक निष्कर्षमा पु-याउन आवश्यक भएको बताएका छन् । नेपाल र नेपाली बचाउन राजसंस्था र हिन्दू राष्ट्रको जोडदार माग गर्ने जनताको आवाज सकारात्मक र सह्रानीय रहेको अध्यक्ष राणाको भनाइ छ ।
‘संवर्धनवादमा अभ्यस्त, जनतामाझको राजनीतिक दल भएबाट राप्रपाले यही जनभावनाको समर्थन र पैरवी गर्दै आएको हो । राष्ट्रहितलाई केन्द्रमा राखेर, राजसंस्था र हिन्दू राष्ट्रप्रतिको जनलहरलाई तार्किक निष्कर्षमा पु¥याउनु हामी सबैको कर्तव्य बनेको छ,’ राणाले आइतबार एक सन्देश जारी गर्दै भनेका छन् ।
‘यसबीच पद्धतिमाथिकै बहस देशव्यापी बन्नु आश्चर्य भएन। देशका कुनाकुना जनता जागेका छन् । जनता वाक्कदिक्क छन् । विकल्पको खोजीमा छन् । युवा पुस्ता सडकमा आएका छन् । नेपाल र नेपाली बचाउन राजसंस्था र हिन्दु राष्ट्रको जोडदार माग गर्दैछन्, जो सकारात्मक छ, सह्रानीय छ, प्रजातन्त्र अनुकूल छ,’ उनले भनेका छन् ।
परिवर्तन जनचाहनाविपरीत गएको भन्दै राणाले सरकार, सत्तारुढ दल र राष्ट्रपतिको भूमिकासमेत आलोचना गरेका छन् । ‘समावेशिता, समृद्धि, पहिचान, स्थायित्वको नारा थियो तर देश दिनदिनै ओरालो लाग्दो छ । भ्रष्टाचारी देश भनेर सरकारले नयाँ कीर्तिमान राखेको छ । गुटगत, दलगत पक्षधरताले राष्ट्रपतिको गरिमा, निष्पक्षता प्रश्नचिन्हमा छ । सत्तारुढ नेकपा कुर्सी र वैठकको झगडामा लिप्त छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
कुर्सीको अन्तहीन झगडामा लागेर सत्तारुढ नेकपाले कोभिड महामारीप्रतिको जिम्मेवारी चटक्कै भुलेको राणाको आरोप छ । ‘केपी पीकेको अन्तहीन आरोपप्रत्यारोप जनमत, जनहित विपरीत छ । सरकारकै जोडबलमा कोभिड महामारी कुन चरीको नाम हो भन्ने सन्देश प्रवाह गरिएको छ । अब त बेसार र अदुवाको बसिबियाँलो पनि सुन्न छाडियो । दुईतिहाइको शासन भगवान भरोसामा छ, पूर्ण असफल छ,’ राणाले भनेका छन्। उनले धर्म, संस्कृति परम्परा, ऐतिहासिक विरासत, राष्ट्रिय एकतामा आमनेपाली हित सुनिश्चित रहेको स्पष्ट पारेका छन् ।
उनले भनेका छन्, ‘निष्पक्ष अभिवावक संस्था प्रतिको जनचाहना यसै मान्यता अनुकूल छ । राजसंस्था, हिन्दू राष्ट्रप्रतिको उभारले विद्यमान जनचाहना, युवा भावना स्पष्ट गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्