काभ्रेका सहकारी:एक विश्लेषण «

काभ्रेका सहकारी:एक विश्लेषण

जिल्लामा रहेका सहकारी संस्थाहरूमा रहेको सेयरबापतको रकमलाई हेर्ने हो भने २ अर्ब ९१ करोड ६० लाख २ हजार ४३ रुपैयाँबराबरको रकम सजिलै देख्न सकिन्छ ।

– दिलीप शर्मा

सहकारी अभियानमा लाग्ने जोकोही व्यक्तिलाई पनि सहकारीसम्बन्धी गतिविधि, कार्य प्रगति, चुनौती, यसका फाइदा–बेफाइदा र सहकारीको अवस्थाका बारेमा जानकारी राख्नु आफैंमा राम्रो हो । कुनै पनि स्थानमा सहकारीका बारेमा भाषण, अभिव्यक्ति दिँदै गर्दा अभियानकर्मीले ओजपूर्ण, तथ्यमा आधारित भई विषयवस्तु राख्दा अभियानले सार्थक परिणाम लिन्छ । त्यसैले सहकारी अभियानमा हालको अवस्था के–कस्तो अवस्थामा रहेको छ भन्ने विषय आमअभियानकर्मीहरूबीच पु-याउने दायित्व हामी सबैको हुन्छ र यसै विषयलाई उठान गर्दै जिल्लाको सहकारी अभियानको अवस्थालाई तथ्यमा आधारित भई विश्लेषण गर्ने जमर्को गरिएको छ । सहकारी विभागको आ.व. २०७३-०७४ को तथ्यांकमा जिल्लाभर दर्ता भई सञ्चालनमा रहेका सहकारी संघ-संस्थाहरूको संख्या १ हजार ४ सय ९५ रहेको देखिन्छ । २०१५ सालमा काभ्रेपलान्चोक जिल्लामा स्थापना भइ सञ्चालनमा रहेको पहिलो सहकारी संस्था पाँचखाल बहुमुखी सहकारी संस्थालाई जिल्लाकै पहिलो सहकारी संस्थाका रूपमा उल्लेख गरिएको जिल्ला सहकारी संघ लि. काभ्रेपलान्चोकले प्रकाशन गरेको स्वर्ण वर्ष पुस्तक २०७५ मा पढ्न पाइन्छ । इतिहासका विभिन्न पाटाहरूलाई सँगालोका रूपमा विश्लेषण गर्दै तयार गरिएको उक्त पुस्तकले जिल्लाको सहकारीको इतिहास, अवस्था तथा विविध विषयहरू समेटिएका छन् ।
हामीले धेरै वर्ष सहकारी विभागले तयार गरेको तथ्यांकमा आधारित भई सहकारीका इतिहास र यसका बारेमा हे-यौं, पढ्यौं र बुझ्यौं । त्यही पुराना तथ्यांकका आधारमा अभियानसँग सम्बन्धित हुँदै विभिन्न खालका धारणाहरू सार्वजनिक गर्दै आइरहेका छौं । यसै सन्दर्भमा जिल्ला सहकारी संघ लि. जिल्लामा रहेका सहकारी संस्थाहरूको छाता संघ वा अभिभावक संघसमेत रहेकाले आफैँमा यसको जिम्मेवारी तथा भूमिकामा निखारपन आउनुपर्छ भन्दै जिल्लामा कुनै न कुनै रूपमा सहकारी अभियानमा केही न केही उल्लेखनीय कार्यहरू गर्दै आएको पनि छ । जिल्ला सहकारी संघ लि.का प्रकाशन तथा कृतिहरूका कारण सहकारी अभियानमा मरिमेटी लाग्ने जो–कोहीलाई पनि सहकारी इतिहास तथा समग्र पक्षको तथ्यका बारेमा बुझ्न, विश्लेषण गर्न सहजता प्रदान गरेको छ । संघले गत २०७७ साल सात १६ गतेका दिन जिल्लाभित्रका सहकारी संस्था÷संघहरूको तथ्यांकले भरिएको विवरण पुस्तिका सार्वजनिक गरेको छ । पुस्तकमा अहिले समग्र जिल्लाको सहकारीको अवस्थालाई उजागर गर्न सकेको छ र पुस्तक नियाल्दै जाँदा त्यसभित्र रहेका सहकारीका तथ्यांकहरूलाई हेर्दै जाँदा सहकारीको क्षेत्रले धेरै नै फड्को मार्दै गइरहेको अवस्था प्रस्ट रूपमा देख्न सकिन्छ । उक्त पुस्तकबाट सहकारी अभियानमा लाग्ने अभियानकर्मीहरूलाई चुनौतीसमेत थपिएको अवस्थासमेत बुझ्न सकिन्छ ।
सहकारी विभागको २०७४ असार मसान्तसम्मको तथ्यांकका आधारमा सात प्रदेशमध्ये बागमती प्रदेशमा सहकारी संस्थाहरूको संख्या सबैभन्दा बढी ११ हजार ५ सय ७७ वटा देखाएको छ भने सबैभन्दा कम सहकारी संस्था रहेको प्रदेश भनेको कर्णाली प्रदेश हो, जसमा सहकारी संस्थाहरू जम्मा १ हजार ९ सय ३४ रहेको देखिन्छ । २० लाखभन्दा बढी सेयर सदस्य रहेको यस बागमती प्रदेशअन्तर्गत काभ्रेपलान्चोक जिल्लामा रहेका सहकारी संस्था÷संघहरूको विवरण डिभिजन कार्यालय काभ्रेपलान्चोकबाट १३ वटै स्थानीय तहमा हस्तान्तरण हुँदा सबैभन्दा बढी सहकारी बनेपा नगरपालिका २ सय २० र सबैभन्दा कम सहकारी संस्था महाभारतमा ३३ वटा देखिन्छ । विषयगत सहकारी संस्थाका रूपमा जिल्लामा बचत, बहुउद्देश्यीय, दुग्ध, कृषि, सञ्चार, मौरी, ऊर्जा, तरकारी तथा फलफूल, उपभोक्ता, कफी, स्वास्थ्य, जडीबुटी, पर्यटनलगायतका सहकारी संस्थाहरू रहेका छन् । १३ वटै स्थानीय तहहरूमा तथ्यांक संकलनका लागि करिब ६ महिनाभन्दा बढी समय खर्च गरेर सुरु गरेको यस तथ्यांक संकलनको अभियानमा जिल्ला सहकारी संघ लि.लाई प्राप्त भएको ५ सय ५० वटा सहकारी संस्थाहरूको तथ्यलाई आधार मान्दा पनि जिल्लामा सहकारी संस्थाहरूले ठूलै उपलब्धि हासिल गरेको तथ्यले देखाउँछ, जसअनुसार बनेपा नगरपालिकामा २ सय ४, बेथानचोकमा १७, भूम्लुमा २५, चौंरी देउरालीमा १३, धुलिखेलमा ४९, खानीखोलामा ११, महाभारतमा ११ मण्डन देउपुरमा ५७, नमोबुद्धमा ३३, पनौतीमा ४६, पाँचखालमा २३, रोसीमा ३३, तेमालमा २८ वटा सहकारीहरूको तथ्यांक प्राप्त भएको हो । जसमध्ये उक्त सहकारी संस्थाहरूमा सञ्चालकहरूमा महिलाको संख्या १ हजार ७ सय ६९ र पुरुषको संख्या ३ हजार १ सय ४२ गरी जम्मा सहकारी संस्था सञ्चालन गर्ने अभियानकर्मीहरू ४ हजार ९ सय ११ जना रहेको तथ्यमा देखिन्छ । यो संख्या भनेको निकै राम्रो संख्या रहेको छ, यसलाई सहकारी सुशासन, पारदर्शिता, जवाफदेहीसहित अभियानलाई हाँक्ने जिम्मेवारी वहन गर्ने हो वा लाग्ने हो भने सहकारीको माध्यमबाट यो क्षेत्रलाई कायापलट गर्न सकिन्छ । यिनै तथ्यहरूलाई हेर्ने हो भने जिल्लामा रहेका सहकारी संस्थाहरू १ हजार ४ सय ९५ मध्ये ५ सय ५० वटा सहकारी संस्थाहरूको तथ्यांकमा सेयर सदस्यहरूको संख्या महिला १ लाख ९२ हजार ६ सय ३९ र पुरुष १ लाख ९० हजार ४ सय ९७ गरी जम्मा ३ लाख ८३ हजार १ सय ३६ रहेको देखिन्छ । जिल्लाको वस्तुगत विवरण २०७४ को तथ्यांकका आधारमा कुल जनसंख्या ३ लाख ८१ हजार ९ सय ३७ रहेको छ, यसमध्ये बालबालिकाको संख्यासमेत लाखौंको दरमा रहेको देखिन्छ । वृद्धवृद्धाको संख्या वा विदेशमा रहेका झन्डै १५ हजार जनसंख्यालाई ५ सय ५० वटा सहकारी संस्थामा कति व्यक्ति कतिवटा सहकारी संस्थामा आबद्ध होलान् ? वा एउटै व्यक्ति कतिवटा सहकारीमा आबद्ध छौं होला भन्ने सजिलै अनुमान गर्न सकिन्छ । तथ्यहरूलाई हेर्ने हो भने जनसंख्याका आधारमा सेयर सदस्यहरू निकै ठूलो रूपमा रहेको देखिन्छ, अर्थात् दोहोरो सदस्यता निकै संख्यामा रहेको देखिन्छ । अभियानमा यो एउटा चुनौती नै हो । रोजगारीका रूपमा पनि सहकारी संस्थाले ठूलै भूमिका निर्वाह गरेको यस तथ्यांकले देखाउँछ । आ.व. २०७३÷०७४ मा ७ सय ७४ जना रोजगारीको संख्या देखाएको तथ्यांक २०७६ आषाढ मसान्तसम्म २२ सय ५६ जना देखाएको छ । जसमध्ये महिलाको संख्या १३ सय ९२ र पुरुष ८ सय ६४ देखिन आउँछ । प्रतिकर्मचारीले मासिक रु. १० हजारमात्र तलब बुझ्ने आँकडा मान्ने हो भने पनि राज्यलाई १ प्रतिशतले कर बुझाउँदा पनि ३० औं लाख सहकारीका कर्मचारीहरूको योगदान देख्न सकिन्छ । तर राज्यका तर्फबाट सहकारी अभियानमा भूमिका के रह्यो त ? भन्ने सबै अभियानकर्मीहरूले बुझ्नु जरुरी देखिन्छ ।
जिल्लामा रहेका सहकारी संस्थाहरूमा रहेको सेयरबापतको रकमलाई हेर्ने हो भने २ अर्ब ९१ करोड ६० लाख २ हजार ४३ रुपैयाँबराबरको रकम सजिलै देख्न सकिन्छ । ५ सय ५० वटा सहकारी संस्थामा बचततर्फ रहेको रकमलाई हेर्ने हो भने पनि सहकारी क्षेत्रले जिल्लामा सेयर सदस्यहरूका ससानो पुँजीहरूलाई व्यवस्थित रूपले संकलन तथा परिचालन गरेको देखिन्छ, जसमा २१ अर्ब ३३ करोड ६३ लाख ८ हजार ५ रुपैयाँबराबरको पुँजी सहकारी क्षेत्रले परिचालन गरी आर्थिक क्षेत्रलाई सबल बनाएको देखिन्छ । झन्डै ४ अर्बबराबरको रकम बैंक मौज्दातमा देखिन्छ, जसबाट सहकारीले पनि बैंकहरूलाई समेत सहयोग वा योगदान गरेको सजिलै देख्न सकिन्छ । बैंकले पनि सहकारीलाई अन्य प्रतिस्पर्धीका रूपमा हेर्नु गलत हुन जान्छ । नगदमा रहेको रकम ६ अर्ब ४३ करोडबराबरको रकम रहेको तथ्यले देखाउँछ र कुल आम्दानीमा २ अर्ब ४७ करोड ६० लाखबराबरको देखाउँछ भने उक्त आम्दानीलाई नियाल्ने हो भने पनि जगेडा कोषमा रकम विनियोजन गरेर पनि सहकारी क्षेत्रले राज्यलाई आम्दानीको ५ प्रतिशत मात्र कर बेहोर्दा पनि जिल्लाबाट करोडौं रकम वार्षिक कर बुझाउने गरेको देखिन्छ । यस अवस्थालाई हेर्ने हो भने पनि संघीय संरचनाका तीन तहका सरकार संघ, प्रदेश र स्थानीय सरकारले सहकारीका क्षेत्रमा कति र कसरी नीति, योजना तथा कार्यक्रमहरू सहकारीका पक्षमा ल्याउन सफल भए वा ल्याए भन्ने कुरा अब अभियानकर्मीहरूबीच छलफल, पैरवी तथा बहस हुनु जरुरी भएको छ । जिल्लामा रहेको सहकारीको यस्तो अवस्थाका बारेमा अभियानकर्मीहरूबीच यस्ता विषयमा बुझ्ने, छलफल गर्ने, सिंहावलोकन गर्ने, पैरवी गर्ने, एकताबद्ध हुने जस्ता विषयमा अभियान कहिल्यै एकताबद्ध हुन सकेन । यस्तो अवस्था हुनु अभियान कमजोर हुनु नै हो ।
तथ्यांकलाई हेर्दा हामी सहकारी अभियानकर्मीहरूबीच निकै ठूलो चुनौतीको सामना गर्न विषयवस्तुहरू रहेको देख्न सकिन्छ । अध्ययन, विश्लेषण तथा तथ्यहरूलाई हेर्दा हामीले गहिरो ढंगले हामीबाटै सुधारका कामहरू गर्नुपर्ने जिम्मेवारी र अभिभारा थपिएको महसुस हामीलाई हुनुपर्छ । त्यसैले हामीहरूबीच समान साझा धारणा बनाउनु जरुरी देखिएको छ । जसअन्तर्गत जिल्लाको जनसंख्याको तुलनामा अधिक सेयर सदस्यहरू बढ्नुको कारण र समाधानका उपायहरू पत्ता लगाई यसले भविष्यमा पार्ने सकारात्मक तथा सुधारात्मक पाटाहरूलाई विश्लेषण गर्न अब ढिलो गर्न हुन्न भन्ने बुझाइ सबैमा अनिवार्य हुनुपर्छ । सहकारीले आफ्ना सेयर सदस्यहरूबाट निक्षेपका रूपमा ४ अर्बभन्दा बढी रकम बैंकमा जम्मा गरी परिचालन हुँदा वा बैंकलाइ चलायमान बनाउँदा बैंक र सहकारीबीचको तुलना गर्न र समुदायस्तरमा पु¥याउन हाम्रा भूमिका के हुने ? हाम्रो र बैंकका बीचका तुलनाका बारेमा पैरवी, बहस तथा छलफल आवश्यक हो कि होइन ? अधिकांश सहकारी संस्थाहरूबाट राज्यलाई करोडौं रुपैयाँ तिरेको कर, हजारौंको संख्यामा प्रदान गरेको रोजगारी तथा दायित्वका बारेमा सहकारीको समुदायस्तरमा रहेको भूमिकाका बारेमा तल्लो तह समुदायस्तर, स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकार र समन्वयकारी निकायहरूबीच बहस र छलफल चलाउने कि हामी चुप लागेर बस्ने ? जिल्लाको १३ स्थानीय तह जसमध्ये ६ नगरपालिका र ७ गाउँपालिकामध्ये ९५ प्रतिशत सहकारी, सदस्य, सेयर पुँजी, ऋण लगानी आदि सहर केन्द्रित भई रहँदा ग्रामीण समुदायमा हाम्रो उपस्थिति न्यून रहेको तर्फ हाम्रो ध्यान अब कता लाने ?

प्रतिक्रिया दिनुहोस्