एकताबद्ध निजी क्षेत्रको खाँचो «

एकताबद्ध निजी क्षेत्रको खाँचो

अबको महासंघको नयाँ नेतृत्वका लागि यो चुनौती तथा अवसर दुवै हो ।

नेपाल उद्योग वाणिज्य महासंघले ५४ औं साधारणसभापछिको निर्वाचनबाट नयाँ नेतृत्व पाएको छ । आइतबारदेखि नेपालको निजी क्षेत्रको छाता संगठनको कमान्ड शेखर गोल्छाले सम्हालेका छन् । वरिष्ठ उपाध्यक्षको निर्वाचनका क्रममा प्यानल नै बनाएर लडेका दुई समूहमध्ये एकको नेतृत्व गरेका गोल्छाका लागि महासंघको नेतृत्व गर्दा निर्वाचनका तीता–मीठा घोचपेच बिर्सेर समग्र निजी क्षेत्रको नेता बन्न केही समय लाग्ला, तर यो उनको एवं नेपाल उद्योग वाणिज्य महासंघमात्र नभएर देशकै सिंगो निजी क्षेत्रको नेतृत्व गर्ने अवसर भएकाले यस्ता झिना–मसिना कुरामा अल्झेर पक्कै बस्नेछैनन् । उनको अगाडि अब कर्मयोगी गोल्छा परिवारको विरासत थाम्नु मात्र उनको जीवनको उद्देश्य रहेन, समग्र देशकै निजी क्षेत्रको विरासत थामेर अर्थतन्त्रमा कत्तिको योगदान गर्न सक्छन्, यसैबाट समयले भोलि उनको मूल्यांकन गर्नेछ । विश्वव्यापी कोरोना कहरका कारण नेपालको अर्थतन्त्र नाजुक अवस्थामा रहेको तथ्य सबैलाई थाहा छ । कोरोना महामारीले थिलथिलो पारेकोे अर्थतन्त्रको पुनरुत्थान तथा दशकौंदेखिको नेपाली अर्थतन्त्रको संरचनागत समस्यालाई निजी क्षेत्रको नेतृत्वकर्ताको हैसियतामा उनले समाधान गर्ने कति प्रयास गर्छन्, कति योगदान गर्छन्, यसको पनि अब समयले मूल्यांकन गर्नेछ । नेपालमा काम गरेर खाने संस्कृति बिस्तारै लोप हँुदै छ । नेपालीको उत्पादकत्वमा पनि निरन्तर ह्रास आइरहेको छ । साथै, नेपालका संघसंस्थाहरूमा पछिल्ला वर्षहरूमा आइरहेका संस्थागत तथा नेतृत्वगत रूपमा ह्रास कसरी रोक्ने, यो पनि नयाँ नेतृत्वका लागि चुनौती नै हो । यस्तो परिस्थितिमा नयाँ नेतृत्वका लागि आफूले चाहेअनुरूप संस्था सञ्चालन गर्न पनि कति सहज हुन्छ, त्यो समयले नै बताउनेछ ।
नेपालको निजी क्षेत्रको विडम्बना के हो भने के–कस्ता विषयमा सरकारसँग सहकार्य गर्ने तथा के–कस्ता विषयमा सरकारसँग प्रतिवाद गरेर अर्थतन्त्रलाई दिगो रूपमा अगाडि बढाउने भन्नेबारेमा निजी क्षेत्रभित्रै एउटै मत छैन । संविधानमा लेखिएको अर्थतन्त्रको बाटो, सरकार तथा सरकारमा रहेका दलको बुझाइ तथा निजी क्षेत्र आफ्नै बुझाइमा आकाश–जमिनको फरक छ । निजी क्षेत्रको छाता संगठनका तर्फबाट सरकार तथा आफ्नै व्यवसायी मित्रहरूबीच कसरी एउटै बुझाइ बनाउन सकिन्छ, यसतर्फ अहिलेसम्म निजी क्षेत्रले कुनै प्रयास गरेको देखिँदैन । त्यसैले नयाँ नेतृत्वका लागि आगामी दिनहरू सहज पक्कै छैनन् । तर असहजतामा नै सही नेतृत्वको पहिचान हुन्छ । त्यसैले अबको महासंघको नयाँ नेतृत्वका लागि यो चुनौती तथा अवसर दुवै हो । साथै, निर्वाचनमा प्यानल नै बनाएर प्रतिस्पर्धा गरेका हुनाले को नजिक र को टाढा भन्ने कित्ताकाट नगरी विजयी सबै नै निजी क्षेत्रका प्रतिनिधि हुन् भन्ने भावनाका साथ अबको महासंघ एकढिक्का भएर अगाडि बढ्दा निर्वाचनमा उम्मेदवारहरू प्यानल बनाएर प्रतिस्पर्धा गरे पनि मिश्रित रूपमा बनेको नयाँ टिम झन् सशक्त हुने कुरामा कुनै शंका छैन । वरिष्ठ उपाध्यक्षमा विजयी चन्द्र ढकाल, उद्योग वाणिज्य जिल्ला–नगर समूह उपाध्यक्षमा विजयी दिनेश श्रेष्ठ र वस्तुगत समूहको उपाध्यक्षमा विजयी अञ्जन श्रेष्ठ, एसोसिएटतर्फका उपाध्यक्षका विजयी रामचन्द्र संघई तथा तीनै समूहका विजयी सदस्यहरू तथा प्रदेश, संस्थापक एवं द्विराष्ट्रियका तर्फबाट विजयी सदस्यलगायत सबै उद्योगी–व्यापारीहरूले अब नयाँ अध्यक्षको नेतृत्वमा देशकै निजी क्षेत्रको प्रतिनिधिका रूपमा एकढिक्का भएर पहिला आफ्नै महासंघको संस्थागत संरचना सुधार गर्नु आवश्यक छ । त्यसपछि नेपाली अर्थतन्त्रको सुधारमा निजी क्षेत्रको भूमिका तथा योगदानमा ध्यान दिन आवश्यक छ । अन्यथा आगामी दिनहरू नेपाली अर्थतन्त्रका लागि कष्टकर हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्