कोभिड–१९ नियन्त्रणको रहस्य «

कोभिड–१९ नियन्त्रणको रहस्य

सक्रिय नेतृत्व र कोभिड संक्रमणप्रति सरकारको आक्रामक नीति तथा जनताको विश्वास जिती सहभागी गराउन सक्नु नै उनीहरूको सफलताको मूल रहस्य बन्न पुग्यो ।

संयुक्त राज्य अमेरिका र न्युजिल्यान्डमा भएका चुनावहरूले दुईवटा विपरीत नतिजाहरू देखायो, जसमा पहिलोमा राष्ट्रपति ट्रम्पलाई एक कार्यकालमै जनताले बिदा गरिदिए भने अर्कोमा त्यहाँको लेबोर पार्टीलाई चार दशकमै प्राप्त नभएको बहुमत प्राप्त भयो । यी दुईवटा चुनावहरूले विश्वलाई निश्चित सन्देशहरू प्रवाह गरेको देखिन्छ । न्युजिल्यान्ड सानो देश भए तापनि कोरोनाको पहिलो लहर मात्र होइन कि दोस्रो लहर पनि सही ढंगले व्यवस्थापन गर्न सफल भयो भने अर्कातिर विश्वको सबैभन्दा शक्तिशाली र ठूलो अर्थतन्त्र भएर पनि विश्वको ५ प्रतिशत जनसंख्या रहेको देश अमेरिकाले कोभिडबाट भएको मृत्युको २० प्रतिशत भार बहन गर्नुप-यो । यसलाई अमेरिकाको शासकीय असफलताका रूपमा चित्रण गरिएको छ । म्याकाभेलीले १६ औं शताब्दीमा इटालीमा भएको प्लेगको महामारी शासकीय असफलताले भएको भन्ने दाबी अमेरिकाको सन्दर्भमा सही साबित भयो ।
अमेरिका, बेलायत र ब्राजिलजस्ता देशहरूले यो महामारीमा गरेको हेलचेक्र्याइँ र चीन, ताइवान, दक्षिण कोरिया, सिंगापुर, जापान, न्युजिल्यान्ड, जर्मनी आदि देशहरूले कोभिड–१९ लाई गरेको व्यवस्थापन (पहिलो लहर र दोस्रो लहरसमेत) बाट अहिले तीनवटा सिद्धान्तहरू विश्वका बुद्धिजीवीहरूको बीचमा छलफलको विषय हुन पुगेको छ । कन्फ्युसियस विचारधारको सूत्रपात, व्यक्तिगत स्वतन्त्रता र स्वास्थ्य संकटबीचको छनोट वा ट्रेड अफ र सामाजिक लागतको अवधारणालाई पुनः लागू गर्ने जस्ता विचारधाराहरूले पुनर्जीवन दिने कार्यमा कोभिड संकटले ठूलो सहयोग गरेको देखिन्छ । चीनलाई छोडेर ताइवान, दक्षिण कोरिया, सिंगापुर, जापान आदि देशहरूले कोभिडको सही व्यवस्थापन गर्न सक्नुमा कन्फ्युसियस विचारधारालाई एउटा सहायक तŒवका रूपमा लिएको पाइन्छ । यो विचारधाराले अधिकारीहरूसँग सामन्जस्यता कायम गरी जनताले सरकारको आदेशलाई आज्ञापालन गर्ने कार्य गरिन्छ र यी माथि उल्लेख गरिएका देशहरूका जनताको माझ यो विचारधाराले जरा गाडेको पाइन्छ । यी देशहरूमा तेस्रो कोभिडको लहर आउँदा पनि मृत्युदर र संक्रमितको संख्या धेरै कम रहेको पाइन्छ । यी देशहरूमा कुनै पनि व्यक्तिको कार्यलाई सामूहिक भलाइ र स्वार्थले निर्देशित गरेको हुन्छ । मास्क लगाउने, दूरी कायम गर्ने र स्यानिटाइजर प्रयोग गर्ने कार्यमा यी देशका सरकारहरूलाई जनताको साथ पाउन गाह्रो भएन ।
उदारवादमा आधारित पाश्चात्य मुलुकहरूमा व्यक्तिगत स्वतन्त्रतालाई बढी ध्यान दिइयो र यस्ता देशहरूमा निर्वाचित अधिकारीहरूको अधिकारमा बढी बिश्वास गर्ने गरिन्छ र यसको पछि लाग्दा कोभिडको सही ढंगले व्यवस्थापन गर्न सकिएन । अमेरिकाको असफलतामा यो विचारधाराले प्रश्रय पाएको देखिन्छ । कोभिड नियन्त्रणका लागि मास्क लगाउने कार्यलाई समेत व्यक्तिगत स्वतन्त्रतासँग आबद्ध गरिएको थियो । सामाजिक लागतको सिद्धान्त सन् १९६० मा अर्थशास्त्रमा नोबेल पुरस्कार प्राप्त अर्थशास्त्री रोनाल्ड एच. कोएसेले प्रतिपादन गरेका हुन् । उसको भनाइअनुसार मानवीय कार्यहरूबाट नकारात्मक बाह्यताहरू सृजना गर्छ र व्यक्तिगत अधिकारहरूलाई निरपेक्ष मान्न मिल्दैन । यसमा देशमा सञ्चालनमा रहेका संस्थाहरूले हस्तक्षेप गर्नैपर्छ र कोभिडको महामारीमा यो कार्य गर्नैपर्छ । समाजले अंगीकार गरेको विचारधारा वा राजनीतिक व्यवस्था जस्तोसुकै भए तापनि समाजले त्यस्तो संस्थागत व्यवस्था गर्नुपर्छ, जसले सामाजिक लागतलाई न्यूनतम बिन्दुमा झार्न सक्छ । एउटा व्यक्तिको स्वतन्त्रताका कारणले अर्को व्यक्तिले शारीरिक र मानसिक पीडा भोग्नुपर्छ भने त्यस्तो व्यक्तिगत स्वतन्त्रतालाई सही मान्न सकिँदैन ।
पाश्चात्य मुलुकहरूमा भन्दा पूर्वका देशहरूमा दोस्रो व्यक्तिको सरोकारलाई सम्बोधन गर्ने परम्परा रहेको हुनाले यो रोग नियन्त्रण गर्न एसियाका देशहरूमा गाह्रो नहुने भनी एक जना फ्रान्सका व्यवस्थापन विज्ञ डोमिनिक मौइसीले भनेका थिए । लकडाउनको विरोधमा अमेरिकालगायत विश्वका धेरै देशहरूमा खास गरी पश्चिमी देशहरूमा प्रदर्शन भए तापनि एसियाका देशहरूमा यससम्बन्धी विवादै भएन र रोजगारी गुमाएका तल्लो स्तरका मजदुरहरूले समेत यसलाई आफ्नो भाग्यको खेलका रूपमा लिए । पछि आएर विभिन्न जातजाति, धर्म र समुदायमा आधारित र उदार प्रजातन्त्र अपनाउने र खुला सिमाना भएका नेपाल र भारतजस्ता देशहरूमा यो संक्रमण रोक्न सरकारहरूलाई अरू हम्मे परेको छ । उदाहरणका लागि यसपालिको दिवालीमा पटाका नपड्काउन सरकारले र चिकित्सकहरूले अनुरोध गर्दागर्दै पनि भारतमा असंख्य पटाकाहरू पड्केको र सरकारले जो जहाँ छ त्यहींबाट पर्व मनाउने अनुरोध गरे तापनि नेपालमा धेरै मानिसहरूले गाउँमा गई दसैंतिहारजस्ता चाडपर्वहरू मनाएबाट कोभिड संक्रमणले खोजेको सामूहिक प्रयास बर्खिलाप कार्य भएको छ । नागरिक संस्कृतिबिनाको लोकतन्त्रले विनाश निम्त्याउँछ भन्ने दार्शनिक भनाइ यहाँ सत्य साबित भएको छ ।
चीनबाहेक अरू सबै देशहरू प्रजातान्त्रिक देशहरू हुन्, जसले कोभिडबाट हुने मृत्युदरलाई कम गरी आफ्नो स्वास्थ्य सफलतामात्र होइन, आर्थिक सफलता प्रदर्शन गरिरहेका छन् । यी देशका राजनीतिज्ञहरूले यो संक्रमणलाई सुरुदेखि नै गम्भीरतापूर्वक लिएको, विज्ञानमा आधारित सन्देशहरू जनतामा प्रवाह गरेको, रोग रोकथामका लागि आवश्यक क्वारेन्टाइनको व्यवस्था गरेको, संक्रमितहरूको उपचारका लागि पर्याप्त स्वास्थ्य सामग्री र उपकरणहरूको व्यवस्था गरेको, शासकीय व्यवस्थामा जनताको विश्वास जिती रोग रोकथामका लागि जनतालाई नै जिम्मेवार बनाउन सफल भएको आदि पर्छ । जब जनतालाई संक्रमणका बारेमा पूरा सूचना उपलब्ध गराइन्छ र उनीहरू संकटका बारेमा पूरा सचेत रहेको अवस्थामा उनीहरूको राज्यमाथिको निर्भरता घट्छ, जर्मनीले महामारीबाट हुने मृत्युदरलाई धेरै कम गरेर यो महामारीलाई नियन्त्रण गर्न सफलता प्राप्त गरी विगतको आफ्नो छवि (सक्षम सरकार, प्रविधिमैत्री र औद्योगिक उत्कृष्टताको) कायम राख्न सफल भयो । यो महामारीले ठूला र विविधताले भरिएका देशहरूले समयमा महामारी रोक्न नसकेका पाइएको छ भने तापनि शासकीय असफलता नै त्यसको मुख्य कारण बन्न पुगेको छ । उदाहरणका लागि ब्राजिलमा सरकारबाट यो रोगका बिरामीहरूले उपचार पाउन नसकेपछि उनीहरू देशभित्रका गैरसरकारी संस्थाहरू तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको मुख ताक्न बाध्य हुनुप¥यो । यो रोग नियन्त्रण गर्न राजनीतिक तहबाट साहसिक निर्णय गर्न सक्नुपर्छ भन्ने कुरा चीनले उहानमा एक हप्तामा हजार बेडको अस्पताल तयार गरेको र दिल्लीका मुख्यमन्त्रीले कोभिड उपचारका लागि अस्पताल शैय्या संख्यामा वृद्धि र पीसीआर परीक्षणमा गरेको विस्तारजस्ता उदाहरणहरूबाट स्पष्ट हुन्छ ।
यो संक्रमणको कारणले राज्य भनेको कोभिड संक्रमण र नागरिकको बीचमा सरकारले खेलेको प्रशिक्षक वा निर्णायकको भूमिकामा कुनचाहिं रोज्यो भन्ने कुरा पनि आउँछ । जहाँ सरकारले प्रशिक्षकको भूमिका खेल्न सक्यो त्यहाँ यसको संक्रमणबाट कमभन्दा कम जनता प्रभावित भई मृत्युदर कम भएको छ भने जहाँ राज्यले निर्णायकको भूमिकामात्र खेल्यो त्यस्ता देशहरूमा यो रोगको संक्रमण तीव्र गतिमा मात्र फैलिएको होइन कि जनताको मृत्युदर पनि धेरै हुन पुग्यो । उदाहरणका रूपमा अफ्रिकाको रुवान्डाले पहिलो कोभिड–१९ को बिरामी देखा पर्नु एक महिनाअगाडि नै रोगबाट बच्न जनतालाई सजग गराउने, परीक्षणको तयारी र जनतालाई विज्ञानमा आधारित सन्देशहरू प्रवाह गरी राष्ट्रिय रूपमा सतर्कता अपनाएको थियो । स्वास्थ्यसम्बन्धी सूचनाहरू प्रचार–प्रसार गर्न रेडियो, टेलिभिजन, सूचना प्रविधिको साथमा ड्रोनको समेत प्रयोग गरिएको थियो । सामुदायिक स्वास्थ्य कार्यकर्ताहरूलाई परिचालन गरी स्वास्थ्यसम्बन्धी सूचनाहरूलाई घरघरमा र समुदायस्तरमा पु-याउन सफल भएको थियो । उसको यो सञ्चार रणनीतिलाई नवप्रवर्तनीय, समावेशी र विज्ञानमा आधारित मानिएको छ । न्युजिल्यान्डले अपनाएको सञ्चार रणनीति पनि यस्तै खालको थियो । सक्रिय नेतृत्व र कोभिड संक्रमणप्रति सरकारको आक्रामक नीति तथा जनताको विश्वास जिती सहभागी गराउन सक्नु नै उनीहरूको सफलताको मूल रहस्य बन्न पुग्यो । भियतनामले संक्रमणको प्रारम्भमै परीक्षणलाई व्यापक रूपमा सञ्चालन गरेको, संक्रमित व्यक्तिहरूसँग भेटघाट गर्ने मानिसहरूको पहिचान गरेको र राम्रो क्वारेन्टाइनको व्यवस्था गर्न सकेका कारणले यो रोगको तेस्रो लहर आउँदा पनि संक्रमण हुने व्यक्ति र मृत्युदर कम गर्न सफल भएको छ ।
देश र उसको अर्थव्यवस्थाको आकार, राजनीतिक व्यवस्था, देशको शक्ति आदिका बाबजुद पनि यो स्वास्थ्य संकटले राजनीतिक नेतृत्वको कार्यशैलीको नाडी छाम्न सफल भएको छ । प्रभावकारी नेतृत्व र बलियो सरकार नै यो संक्रमणसँग जुध्ने उपयुक्त उपाय हुन पुग्यो । नेपालको परिपे्रक्ष्यमा हेर्ने हो भने युरोपबाट भित्रिएको यो रोग पछि खुला सिमानाका कारणले भारतीय मानिसहरू र भारतमा काम गर्ने नेपालीहरूको समुदायबाट घुसपैठ भयो र अहिले समुदायस्तरमै फैलिएर भयावहको स्थितिमा आइपुगेको छ । सुरुमा यो रोगको संक्रमण केही जिल्लाहरूमा बढ्दा त्यहाँका स्थानीय सरकारहरूले चालेका असल अभ्यासहरूको रिप्लिकेट गर्नसमेत सकिरहेको छैन । अहिले संक्रमितहरूको संख्या बढदै गई अस्पताल शैय्याको माग बढ्दै गएर स्वास्थ्य व्यवस्थामा नराम्रो दबाब परेको छ र यसबाट संक्रमित मानिसहरू मात्र होइन कि अरू पनि आत्तिएका छन् । यस्तो अवस्थामा संघले राज्य र स्थानीय सरकारहरूलाई प्राविधिक रूपमा निर्देशित गर्ने र अभिभाकत्व ग्रहण गरेर सरकारहरूको बीचको सम्बन्ध निश्चित र विश्वसनीय भएमा हामी पनि नागरिकमा रहेको सन्त्रासलाई दूर गर्न सक्छौं ।

प्रतिक्रिया दिनुहोस्